Logo

टिप्पणी

गुल्मीबाट झाक्रीलाई नराम्रो झड्का



सत्तामा जान मरीहत्ते गर्ने र एमाले फुटाएर नेकपा एकीकृत समाजवादी बनाउन लागि परेकी माननीय रामकुमारी झाक्रीलाई आफ्नै जिल्लामा ठूलो झड्का लागेको छ । गुल्मी जिल्ला आफ्नो बचस्र्व कायम राख्ने नेकपा एमालेका दुई प्रभावशाली नेता प्रदीप ज्ञवाली र गोकर्ण बिष्ट छन् । केन्द्रमा एमाले पार्टी फुटको असर गुल्मीका कतिको पर्ला भनेर आमकार्यकर्ताले निकै चासो राखेका छन् ।

तर, जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार कुनै जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेनन् । मंगलबार ५ बजेसम्म जनप्रतिनिधिले सनाखत गर्ने अन्तिम समय रहेको थियो । गुल्मीमा समन्वय प्रमुख लक्ष्मण पराजुली र उपप्रमुख तुल्सीदेवी श्रेष्ठसहित सबै सदस्य एमालेमै छन् ।

निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी श्याम पाण्डेयका अनुसार जिल्लामा दुईवटा नगरपालिका र १० वटा गाउँपालिका छन्, जसमा सात पालिका प्रमुख र नौ उपप्रमुख एमालेका छन् । रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसाल र उपप्रमुख सीता भण्डारीसहित वडा अध्यक्ष र सदस्य गरेर २७ जना एमालेबाट निर्वाचित जनप्रतिनिधि रहेका छन् ।

मुसिकोट नगरपालिकामा प्रमुख सोमनाथ सापकोट र उपप्रमुख कमला शर्मा दुवै एमाले हुन् । उनीहरूसहित ४२ जना जनप्रतिनिधि नेकपा एमालेबाट विजयी भएका थिए । इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट र उपप्रमुख बिमला खत्री एमालेका हुन् । बिष्ट र खत्रीसहित २७ जना एमालेबाट विजयी भएका थिए ।

चन्द्रकोट गाउँपालिका उपप्रमुख राधिका अर्यालसहित वडा अध्यक्ष र वडा सदस्य गरेर २६ जना एमालेका जनप्रतिनिधि रहेका छन् । मालिका गाउँपालिका प्रमुख रीतबहादुर थापा र उपप्रमुख देवा अर्यालसहित वडा अध्यक्ष र वडा सदस्य गरेर ३२ जना एमालेबाट निर्वाचित जनप्रतिनिधि छन् ।

रुरुक्षेत्र गाउँपालिकाका प्रमुख नीलकण्ठ गौतम र उपप्रमुख लक्ष्मी पन्थसहित वडा अध्यक्ष र सदस्य गरेर ४२ जना जनप्रतिनिधिहरू नेकपा एमालेका भएको निर्वाचन कार्यालयका सूचना अधिकारी पाण्डेयले जानकारी दिए ।

यस्तै, छत्रकोट गाउँपालिकामा प्रमुख मधुकृष्ण पन्थ र उपप्रमुख नर्मदा भण्डारीसहित वडा अध्यक्ष र वडा सदस्य गरेर २० जना एमालेका जनप्रतिनिधि रहेका छन् । मदाने गाउँपालिकामा प्रमुख दानबहादुर केसी र उपप्रमुख सरिता खड्कासहित वडा अध्यक्ष र वडा सदस्य गरेर ३२ जना जनप्रतिनिधि एमालेका छन् ।

धुर्कोट गाउँपालिकामा तीन जना वडा अध्यक्षसहित १६ जना जनप्रतिनिधि एमालेका छन् भने सत्यवती गाउँपालिकामा उपप्रमुख सुवर्ण शाहीसहित वडा अध्यक्ष र सदस्य गरेर ३१ जना जनप्रतिनिधिहरू नेकपा एमालेबाट विजयी भएका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार १०:३०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।