Logo

कोशी प्रदेश

बिरुवा अभावले अलमलमा रबर किसान



झापा । झापामा करिब २५५ हेक्टर क्षेत्रफलमा रबर खेती हुन्छ । सरकारले २०७४ सालमै झापालाई ‘रबर जोन’ घोषणा गरेर खेतीको प्रवर्द्धन गरिरहेको छ । रबर उत्पादनका लागि बिरुवा लगाएको पाँच वर्षसम्म पर्खनुपर्छ ।

त्यसपछि यसले ३५ वर्षसम्म निरतर आम्दानी दिने भएकाले यसतर्फ कृषकको आकर्षण छ । कन्डम, बेलुन इरेजर, गाडीको टायरलगायत ५० हजार किसिमका सामान बनाउन सकिने भएका कारण रबर राम्रो मूल्यमा बिक्री हुन्छ । झापाका विभिन्न ठाउँमा यो खेती हुँदै आएको छ । यसका लागि २१ देखि ३५ डिग्री तापक्रम उचित मानिने विज्ञ बताउँछन् ।

पछिल्लो समय सामुदायिक वन तथा सहकारीहरूले समेत यो खेती लगाउन थालेका छन् । झापाको बिर्तामोड, मेचीनगर, दमक, अर्जुनधारा, कनकाई, भद्रपुर नगरपालिका तथा बुद्धशान्ति, बाह्रदशी, कचनकवल गाउँपालिकामा रबर जोन कार्यक्रम संचालनमा छ ।

तर, पछिल्लो समय रबरको बिरुवा अभाव हुन थालेको छ । २५५ हेक्टरमा रबर खेती हुने झापामा मागअनुसारको बिरुवा उत्पादन हुन सकेको छैन । रबरको उन्नत बिरुवा उत्पादन विधि झन्झटिलो, खर्चिलो र धेरै समय लाग्ने भएकाले आवश्यक बिरुवा उत्पादन हुन नसकेको किसान बताउँछन् । सामान्य तवरले नर्सरीमै बिरुवा उत्पादन गर्दा कृषकको माग धान्नै मुस्किल हुन्छ । नयाँ प्रविधिबाट झापामा एउटा संस्थाले मात्र बिरुवा उत्पादन गर्छ ।

झापामा आर्गो फरेस्टिक प्रोमोसन सेन्टरले नेपालमै पहिलो पटक उन्नत जातको रबरको बिरुवा उत्पादन गर्दै आएको छ । उन्नत बिरुवा उत्पादनका लागि दानाबाट उमारिएको बिरुवामा अर्को बिरुवा प्रत्यारोपण प्रक्रिया धेरै हदसम्म असफल हुने भएकाले चाहिएजति बिरुवा उत्पादन हुन नसकेको धेरै रबरको नर्सरीमा काम गर्दै आएका प्राविधिक पीटी भुटिया बताउँछन् । ‘यो निकै झन्झटिलो छ । एउटा दानाबाट उम्रिएको बिरुवा अर्कोमा प्रत्यारोपण गर्न निकै मुस्किल हुन्छ’, उनले भने, ‘यसलाई बडिङ प्रविधि भनिन्छ । यो ३५ प्रतिशत मात्र सफल हुन्छ । त्यही करण बिरुवा उत्पादन कम छ ।’

आढाइदेखि तीन वर्षसम्मका बिरुवा रोप्नका लागि योग्य हुने भुटिया बताउँछन् । रबरको उन्नत बिरुवा प्रतिगोटा ३१० रुपैयाँमा नर्सरीबाटै बिक्री हुँदै आएको छ ।

रबरको चोप निकाल्नसमेत तालिम लिएका जनशक्तिले मात्र सक्छन् । रूखलाई बिग्रन नदिई चोप निकाल्ने, बिरुवा उमार्नेलगायतका काममा अनिवार्य तालिम लिएर मात्र काम गर्न सकिने बताउँछिन्, यसमै तालिम लिएर काम गरिरहेकी मुना तामाङ ।

कोरोना महामारीका कारण लामो समय लकडाउन हुँदा भारतबाट रबरको बिरुवा आउन नसक्दा बिरुवा अभाव भएको हो । गत वर्ष रबर जोन कार्यक्रमले झापामा करिब ३० हेक्टर क्षेत्रमा खेती विस्तारको तयारी गरेको थियो । तर, बिरुवा अभाव हुँदा आठ हेक्टरमा मात्र खेती विस्तार गर्न सकिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रबर जोनका प्रमुख रवीन्द्र सुवेदीले जानकारी दिए ।

‘गत वर्ष हामीले यहीँ बिरुवा उत्पादन गरेर प्रयोग गर्‍यौँ । तर, बिरुवा धेरै ठाउँमा मर्‍यो’, उनले भने, ‘हामी असमबाट बिरुवा ल्याउँदै आएका थियौँ । तर, लकडाउनका कारण ल्याउन सकेनौँ । एउटाले मात्र गत साल बिरुवा उत्पादन गरेको थियो । महँगो भयो भन्ने गुनासो आएको छ ।’

बिरुवाको अभाव भएपछि पछिल्लो समय नर्सरी विस्तारमा समेत अनुदान दिन थालिएको सुवेदीले बताए । ‘हामीले निन्दा रिभरलाई ५० प्रतिशत अनुदान बिरुवामा दिएका थियौँ । यस वर्ष ४०र५० हेक्टर क्षेत्रमा बढाउन सकिने गरी बिरुवा उत्पादन हुन्छ । अनुदानबिना किसानले पनि केही लगाएका छन्’, उनले भने, ‘यो सालदेखि बिरुवाको समस्या हुँदैन । हामी त्यही तयारीमा लागेका छौँ ।’

नेपालमा आवश्यकताको चार प्रतिशत मात्र आफ्नै उत्पादनले धानेको सुवेदीले बताए । बाँकी अन्य देशबाट आयत गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । नेपालमा रबर खेतीको विस्तार गर्न सके निकै राम्रो हुने उनी बताउँछन् ।

झापामा २० हजार हेक्टर क्षेत्रमा खेती विस्तार गर्न सकिने उनले बताए । ‘नदीको बगरमा रबर खेती गर्न सकिन्छ । यसले नदी कटान पनि रोक्छ’। उनले भने, ‘झापामा २० हजार हेक्टर क्षेत्रफलसम्म रबर खेती विस्तार गर्न सकिन्छ । रबर खेतीको संभावना यहाँ निकै राम्रो छ ।’

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १०:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।