Logo

विचार / ब्लग

आफूलाई अभियन्ता बताउने बेरोजगार र पत्रकार बताउने युट्युबरको महासंग्राम



पछिल्लो समयमा एउटा डिएसएलआर क्यामरा बोक्न सक्ने हैसियतलाई आफ्नो पूर्ण योग्यता ठानेर विकृत ‘भिडियो दादागिरी’ गर्ने युट्युबर र ती नै युट्युबरको कमाइ खाने माध्यम बन्दै अन्टसन्ट बोलेर आफूलाई आफैंले अभियन्ता घोषणा गर्ने प्रतिस्पर्धामा रहेका बेरोजगारहरुले समाजमा फैलाएको विकृतिका बारेमा अघिल्ला तीन अंकहरुमा चर्चा गरि सकिएको छ ।

अरु विधाको ज्ञान, शिप र क्षमता नभएका कारण व्यक्तिको अश्लिल भनाइलाई माध्यम बनाएर कथित पत्रकारका नाममा जथाभावी प्रश्न सोध्ने यस्ता युट्युबर र अशिक्षा र बेरोजगारीले पिडित बनेपछि व्यक्ति व्यक्तिका बारेमा भद्धा टिप्पणी गर्दै बिदेशमा रहेका मनकारी नेपालीहरुसँग भिख मागेर आफ्नो गुजारा चलाई रहेका कथित अभियन्ताहरुका ‘ठगी अभियान’ले पछिल्लो समय थप विकृति फैलाएको छ ।

यस्ता विषयमा अघिल्ला अंकहरुमा चर्चा गरिएकोमा आजको अंकमा थप पात्र र प्रवृत्तिको बारेमा चर्चा गरिएको छ ।

विगत केही वर्षदेखि भृकुटीमण्डमा कब्जा जमाएर भिडियो बनाउने गरेका कथित अभियन्ता र युट्युबरहरुले पछिल्लो समय भने पशुपति क्षेत्र विकास कोष परिसरको भण्डारखालमा अड्डा जमाउने गरेका छन् । भृकुटीमण्डपमा खाजाको पसल भएको तर कथित अभियन्ता र युट्युबरहरुसँग एक कप चिया किन्ने पनि हैसियत नभएकोले पशुपतिको खुल्ला ठाउँलाई अड्डा बनाएको चर्चा भृकुटीमण्डपमा चल्ने गरेको छ ।

आफू अनभिज्ञ व्यक्ति र घटनाका विषयमा जथाभावी बोलेर स्थापित हुने बेलामा एकै ठाउँ रहेर बोल्ने कथित अभियन्ता एवम् त्यस्ता बेरोजगारहरुलाई हरेक व्यक्ति र घटनाको विज्ञ बनाएर अन्तरवार्ता लिएर भिडियो बनाउने युट्युबरहरु पछिल्लो समयमा एकले अर्काकाबीच काटामारको अवस्था समेत आएको छ ।

युट्युबरका विरुद्ध युट्युबरहरुले नै गाली बेइज्जती र मानहानीका दर्जनौं मुद्धाहरु दर्ता गरेको पाइएको छ । अरुलाई गाली गरिएका, व्यक्तिको गोपनियता भंग गरिएका लगायत भिडियो बनाएर प्रसारण गर्ने युट्युबरले कसैले आफू विरुद्ध बोल्नासाथ भने मानहानीको अपराध गरेको बुझ्नुले पनि थाहा हुन्छ यिनीहरुले जानाजान समाजलाई कता लग्न खोज्दैछन् ।

पञ्चमायालाई यस्तो खलनायिका बनाउन खोजे कि, उनको माइतीको आर्थिक हैसियत खोज्न समेत उनी नुवाकोटसम्म पुगे । बिवाह गरिसकेकी चेलीलाई माइतीले हेर्नु नपर्ने सत्यतामा ध्यानाकर्षण गराउँदै धेरैले उनको भिडियोको आलोचना गरे । उदाशी प्रकरणमा रेग्मी यसरी गिजोलिए कि उनको विरुद्धमा प्रेस काउन्सिलमा दर्जनौं उजुरी परेको बताइन्छ ।

आफूलाई अभियन्ता र समाजसेवी समेत बताउने बेरोजगारहरु समेत एकले अर्कालाई सिध्याउन लागि परेका छन् ।

आफूलाई खुश्बु बताउने नबिता घिमिरेको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर, टेकुले आफूलाई ज्वाला बताउने टिका संग्रौला सहित सर्मिला वाइबालाई पक्राउ गरेको विषयमा समेत यसअघिका भागमा चर्चा गरिसकिएको छ ।

गत असार ७ गते पक्राउ गरेका उनीहरुलाई असार २९ गते रिहा गरिएको थियो । यो प्रसंग यहाँ किन पनि पुनः जोडियो भने नबितामाथि आक्रमण हुदा संग्रौला र वाइबा सँगै थिए । एउटै प्रकरणमा पक्राउ परे अनि साधारण तारेखमा छुटे ।


बिगत केही समयदेखि भने उनीहरुको सम्बन्ध व्यक्तिगत दुस्मनीमा परिणत भएको छ । संग्रौला र वाइबाले एकले अर्काका विरुद्ध फेसबुक वार छेडेका छन् । केही समय अगाडि वाइबाले संग्रौलाको बारेमा बनाएको फेसबुक लाइभ भिडियो उनका अरु समर्थकहरुले समेत शेयर गरेका थिए ।

त्यस्तै युट्युबमै अरुलाई गाली गरेर आफूलाई अभियन्ता घोषणा गर्नेहरुलाई नै गाली गरेर व्यक्ति र घटनाको बारेमा जथाभावी बोल्दै कथित खरो टिप्पणीकारका रुपमा आफूलाई दर्ज गरेका अर्का व्यक्ति हुन् विजय घिमिरे ।

उनी केही अघि मात्र उदाएको भएता पनि पछिल्लो समय देश बिदेशमा घटेका घटना र युट्युवमा भाइरल भएका भिडियोका बारेमा आफैं जानकार, योजनाकार र विज्ञ बनेर बोल्ने गर्छन् । युट्युवका भिडियोमा गरिएका उग्र कमेण्टको सहारा लिन्छन् अनि उनी त्यो भन्दा पनि उग्र बनेर व्यक्तिलाई गाली गर्छन् । कुनै घटनाको विवरण उनलाई थाहा हुनुपर्ने जरुरी पर्दैन ।

प्रहरी अनुसन्धानको घेरामा रहेको घटनाको प्रत्यक्षदर्शी आफैं भएझैं घटनाको बेलिविस्तार लगाउँछन् अनि आफैं न्यायाधीश भएको र प्रमाण सहित घटना आफ्नो इजलासमा आएको झैं गरी दोशी पनि आफैं तोक्छन् र कति वर्षलाई हो सजाय पनि आफैंले तोक्ने गर्छन् ।

आफूले अपराधी करार गरिएका व्यक्तिलाई कालोमोसो दल्ने, पेट्रोल छर्केर आगो लगाउने तथा ठाउँको ठाउँ भौतिक आक्रमण गर्ने जस्ता शब्दहरु धेरै प्रयोग गर्छन् । पछिल्लो समय घिमिरे संखुवासभा घटनाको बारेमा युट्युब इजलास खडा गरेर बहस गरिरहेका छन् । अपराधी घोषणा गर्दै सजाय तोकि रहेका छन् ।

बिजय घिमिरे ती नै पात्र हुन्, जो करीब दुइ महिना अगाडि पशुपति क्षेत्रमा एक जोगीमाथि अभद्र व्यवहार गरेर महानगरीय प्रहरी वृत्त गौशालाद्वारा पक्राउ परेका थिए । रातभरी हिरासतमा राखिएका उनलाई भोलीपल्ट ती जोगीले माफी दिएपछि रिहा गरिएको थियो । उनको समूहले घिमिरेलाई माफी दिएमा ५० हजार दिने भनेर जोगीलाई मनाएको तर माफी दिएपछि कुनै पनि रकम भने नदिएको भन्ने चर्चा त्यसैदिनबाट हालसम्म पनि हुने गरेको छ ।

केही समय अगाडि उनले गायिका विष्णु माझीमाथि सुन्दरमणि अधिकारीले अन्याय गरेको र आफू माझीलाई मुक्त गरेर प्रत्येक गीत गाउन लगाए बापत पाँच लाखका दरले दिन तयार रहेको बताएका थिए । तर उनले हालसम्म उक्त कार्य गर्न सकेका छैनन् ।

घटना र व्यक्तिकै बारेमा बोल्न लगाएर आफूहरुले नै अभियन्ता बनाएका हरि उदाशीलाई युट्युबरहरुले नै डेढ महिना अगाडि अर्को चर्चामा ल्याए । केही युट्युबरहरुले उनकी तेश्री श्रीमती भन्दै आफूलाई प्रतिमाका नामले चिनाउने पञ्चमाया तामाङलाई लिएर भिडियो बनाएपछि उदाशी थप चर्चामा आए ।

तामाङ दुइ नाबालक सहित आफूलाई उदाशीले दुइ श्रीमती हुँदा हुँदै झुक्याएर बिवाह गरेको र दुई छोराहरु जन्मिएको तर आफूलाई खान लाउन नदिएको, छोराहरुको विद्यालय शुल्क नतिरेको तथा कोठाभाडा समेत नतिरेको बताउँदै रोएपछि उक्त भिडियोले राम्रै दर्शक पायो । आफू र आफ्ना दुइ छोरालाई धोका दिएर उदाशीले सविता भट्टराईलाई चौथो श्रीमती बनाएर राखेको प्रतिमाको भनाईले उदाशीलाई निमेष भरमै खलनायक बनायो ।

युट्युब स्ट्रिमिङको गरम मसला बनेको उदाशी काण्डले उनलाई मात्र खलनायक बनाएन युट्युबर र अभियन्ताको उपनाममा व्यक्तिका बारेमा बोल्ने बेरोजगारहरुलाई समेत दुइ चिरामा विभाजीत गर्‍यो । यही घटनामा एकथरी युट्युबरहरुले पञ्चमायाको समर्थनमा भिडियो बनाइ रहे भने अर्को थरीले हरि उदाशी र सविता भट्टराईको समर्थनमा भिडियो बनाए । उदाशी र भट्टराईको समर्थनमा रहेकाहरुले पञ्चमायालाई खलनायिका बनाए । यस प्रकरणमा पनि विजय घिमिरेले विवादास्पद अभिव्यक्ति दिए ।

आफूले आफैंलाई प्रहरी, प्रशासन, अदालत र न्यायाधीश बनाएर युट्युबमा उत्तेजित हुने कथित अभियन्ता र आफूलाई पत्रकार बताएर विना अध्ययन भिडियो बनाउने युट्युबरहरु आज आफैं अपराधका अभियोगी करार भइ रहेका छन् । समाजमा कसैलाई नायक र कसैलाई खलनायक बनाएर चर्चामा आउँछु वा कमाउछु भनेर भ्रम पाल्नेहरु एक–एक गर्दै नांगि रहेका छन् ।

उदाशीको श्रीमती प्रकरणलाई विवादास्पद र अतिरञ्जित तरिकाले उछाले हेडलाइन नेपाल नामक युट्युबका सञ्चालक सञ्जिव रेग्मीले । त्यसअघि पनि व्यक्तिका विषयमा काल्पनिक पात्र समेत तयार गरेर अतिरञ्जित भिडियो बनाएको आरोपमा आलोचित बनेका रेग्मीले उदाशीले चारवटी श्रीमती बिवाह गरेकोमा उनलाई समाजले ‘मर्दको उपाधि’ दिनुपर्ने हदको दलिल पेश गरे ।

उदाशीका बारेमा थाहा नहुने व्यक्तिहरु समेतलाई स्टुडियोमा बोलाएर अन्तरवार्ता लिए । रेग्मीले उदाशीलाई दोशी नदेखाउन सकेसम्म प्रयास गरे । उनी क्यामरा लिएर उदाशीसँगै पञ्चमायाको कोठासम्म पुगे । उदाशी र पञ्चमायाबीच तानातान भएको भिडियो उनका लागि अर्को राम्रो युट्युब कन्टेन्ट बन्यो । त्यही कन्टेन्टको कारण प्रहरीले उदाशीलाई पक्राउ गर्‍यो । हाल उदाशी धरौटीमा छुटिसकेको भएता पनि उनी पुन पक्राउ पर्न सक्ने सम्भावना रहेको सुनिने गरेको छ ।

पञ्चमायालाई यस्तो खलनायिका बनाउन खोजे कि, उनको माइतीको आर्थिक हैसियत खोज्न समेत उनी नुवाकोटसम्म पुगे । बिवाह गरिसकेकी चेलीलाई माइतीले हेर्नु नपर्ने सत्यतामा ध्यानाकर्षण गराउँदै धेरैले उनको भिडियोको आलोचना गरे । उदाशी प्रकरणमा रेग्मी यसरी गिजोलिए कि उनको विरुद्धमा प्रेस काउन्सिलमा दर्जनौं उजुरी परेको बताइन्छ ।

उनका विरुद्ध हाल पञ्चमायाले साइबर ब्युरोमा दिएको जाहेरी, पञ्चमायाकी दिदी श्रीमाया तामाङले काठमाडौं जिल्ला अदालतमा दायर गरेको विद्युतीय अपराध मुद्धा, सिर्जना वाग्लेले दायर गरेको वैयक्तिक गोपनियता तथा मानहानी मुद्धा, सागर थापाले दायर गरेको विद्युतीय अपराध र गाली बेइज्जती मुद्धा, शन्ति बस्नेत थापाले दायर गरेको गाली बेइज्जती तथा अपराध मुद्धा तथा अञ्जु खनाल पौडेलले दायर गरेको वैयक्तिक गोपनियता, विद्युतीय अपराध एवम् अदालतको समेत मानहानी मुद्धा चलिरहेका छन् । प्रहरीले उनको खोजी गरिरहेको समेत बताइएको छ ।

बेरोजगारहरुलाई लागेको ‘युट्युब फोबिया’ र युट्युबरहरुको फितलो अध्ययनले गर्दा समाजमा मात्र होइन आफैं–आफैंमा पनि द्वन्द गराउने काम गरिरहेको छ ।

अर्काका व्यक्तिगत कुराहरुलाई अतिरञ्ति र भद्धा प्रस्तुतिका साथ देखाएर रमिता बनाइ रहेकाहरु हाल आफैं रमिताको शिकार भइरहेका छन् । अर्कालाई एकले अर्कामा जुधाएर उत्तेजित बनाउनेहरु आज आफैं आफैंमा एकले अर्कालाई सिध्याउने बाटोमा लागेका छन् ।

एक पटक पालो सबैको आउँछ भन्ने नबुझी कसैको मान प्रतिष्ठालाई धूलिसात बनाउन लाग्नेहरु आज आफैं बेफ्वाँकसँग भाग्नु पर्ने अवस्था आएको छ ।

आफूले आफैंलाई प्रहरी, प्रशासन, अदालत र न्यायाधीश बनाएर युट्युबमा उत्तेजित हुने कथित अभियन्ता र आफूलाई पत्रकार बताएर विना अध्ययन भिडियो बनाउने युट्युबरहरु आज आफैं अपराधका अभियोगी करार भइ रहेका छन् । समाजमा कसैलाई नायक र कसैलाई खलनायक बनाएर चर्चामा आउँछु वा कमाउछु भनेर भ्रम पाल्नेहरु एक–एक गर्दै नांगि रहेका छन् ।

धेरै जसो युट्युबरहरुमा मानवीय समवेदना छैन । एक व्यक्तिले अर्कोलाई खलनायक बनाएर दिएको उत्तेजित अभिव्यक्तिमा एउटा भिडियो बनाएर त्यस व्यक्तिलाई अहिलेका लागि नायक बनाउँछन् फेरि केही बेरमा त्यही खलनायक बनाइएको पात्रलाई बोल्न लगायर अघिल्लो नायक बनाईएको पात्रलाई राक्षस बनाउँछन् । उनीहरुका यस्ता हर्कतले गर्दा युट्युबर र कथित अभियन्ता दुवै बदनाम भइरहेका छन् ।

पछिल्लो समय युट्युबलाई नियमन गर्नुपर्छ भनेर चर्को आवाज उठेको भएता पनि सरकारले त्यसको संयन्त्र तयार पार्ने मेसो देखाएको छैन । केही दिन अगाडि अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको आर्थिक अध्यादेश प्रतिस्थापन गर्न बनेको विधेयकमा करको दायरामा ल्याउने व्यवस्था गरेको भएता पनि यतिले मात्र सरकारको जिम्मेवारी पुरा नभएको गुनासो सरोकारवाला निकायले गरेका छन् । करको दायरामा ल्याएर अर्थ संकलन मात्र गर्ने भन्दा पनि नियमनको संयन्त्र बनाएर समाजमा बाँकी रहेको इज्जत बचाउने कि सरकार ?

यो पनि

बेरोजगारीको विकल्पमा कथित अभियान्ता बनेकाहरुको आँसुको खेती

कथित अभियानका ‘दुर्गन्धित’ अभियन्ताको चिरफार !

युट्युबको खहरेले बगाएका कथित अभियन्ताको अन्धकार भविष्य

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १९:२६   :  बजे

2.9K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।