Logo

टिप्पणी

बेरोजगारीको विकल्पमा कथित अभियान्ता बनेकाहरुको आँसुको खेती



यतिबेला नेपाल सरकार जनताप्रति उत्तरदायी छैन । विशेषतः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिताले सीमा नाघ्दा देशको शासन व्यवस्था नै अति अस्थिर अवस्थामा पुगेको छ । देशको बेरोजगारी समस्याले गर्दा युवा पंक्ति विदेशी भूमिमा नंग्रा खियाउन बाध्य छन् । यस्तो अवस्थाको फाइदा उठाएर सरकारको विकल्प हामी हौं भन्दै आफूले आफैंलाई अभियन्ता घोषणा गर्नेहरुको बिगबिगीले सीमा नाघेका छ ।

खासगरि डिजिटल प्लेटफर्म युट्युबमा कुनै न कुनै विषयवस्तुलाई उठाएर भिडियो प्रसारण गर्ने र विदेशमा रहेका नेपालीसमक्ष पुर्‍याएर आँसुको व्यापार गर्नेहरुले आफूले आफैंलाई अभियन्ता घोषणा गरेर विकृति फैलाएका छन् । युट्युबको भिडियोमा आतंक फैलाउने कार्यको सुरुवात गरेर नेपाली समाज भाँड्ने कामको अभियान सुरु गर्ने रवि लामिछानेदेखि आफूलाई क्रान्तिकारी पत्रकारको रुपमा उभ्याएर युट्युबमार्फत पैसा कमाउने र आफ्नो विचारलाई नै तिलाञ्‍जली दिएर आँसु र ‘अश्लिलता’को खेतीमा रमाएका कृष्ण कँडेलहरुको चर्चा यसअघिका श्रृङ्खलाहरुमा गरिसकिएको छ ।

कथित अभियानका ‘दुर्गन्धित’ अभियन्ताको चिरफार !

युट्युबको खहरेले बगाएका कथित अभियन्ताको अन्धकार भविष्य

आजको श्रृङ्खलामा थप पात्रहरुको चर्चा गरिँदैछ ।

नेपाली कलाकारिता क्षेत्रमा स्थापित हुनको लागि लामै संघर्ष गरेका व्यक्ति हुन् सिताराम कट्टेल । हाँस्यव्यंग्य कलाकारलाई माथ खुवाउने प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला घर भएका सीतारामले कलाकारिता क्षेत्रमा आफूलाई बलियोरुपमा उभ्यान ठूलो मिहनत र लामो संघर्ष पार गरेका हुन् ।

लामो समयको संघर्षपछि मात्रै उनी ‘मेरी बास्सै’ नामक हाँस्य टेलिचलचित्रमार्फत धुर्मुसका नामले स्थापित भएका हुन् । सोही टेलिचलचित्रमा माग्‍ने बुढाका उपनामले स्थापित केदार घिमिरेसँग मिलेर कुनै बेला ‘केसी’ (केदार-सीताराम) जोडी बनेर गाइजात्रा एल्बमहरु निकाल्ने सीतारामले टेलिचलचित्रमा उनको जोडी बनेकी सुन्तलीका उपनामले स्थापित कुञ्जना घिमिरेसँग विवाह समेत गरे । 

जितु नेपाल र दमन रुपाखेतीले स्थापित गरेको ‘मेरी बास्सै’मा केदार र सिताराम प्रवेश गरेपछि नेपाल र रुपाखेतीले उक्त हाँस्य-श्रृंखला नै छोड्नु पर्‍यो । त्यसो त घिमिरेसँग पनि कट्टेलले सम्बन्ध राम्रो बनाइ राख्न सकेनन् । उनीहरु दुईजनाबीच बोलचाल नै बन्द हुँदा श्रृंखलाको छायांकन नै बेग्ला-बेग्लै स्थानमा गर्नुपर्थ्यो ।

कुनै कुरा लगातार एकै रफ्तारमा चलिरहँदैन । उनीहरुको हाँस्य प्रस्तुति पनि दर्शकहरुले विस्तारै मन पराउन छोड्दै जान थालेको भेउ पाएपछि कट्टेलले जीविकोपार्जनको विकल्प खोज्‍न थाले । आममानिसको नजरमा राम्रो पनि देखिने र गतिलो रकम पनि खेलाइरहन पाउने भएपछि उनले सामाजिक कार्यमा लाग्‍ने घोषणा गरे । 

२०७२ सालको महाभूकम्प कट्टेलको अभियान चलाउने माध्यम बन्यो । उनी र उनकी श्रीमतीले टेलिचलचित्रको भूमिका पात्रको नामबाट धुर्मुस सुन्तली फउण्डेसन नै स्थापना गरे अनि विदेशमा भएका नेपालीहरुसँग सहयोगको आह्वान गरे । रकम जुटाउँदै गएपछि उनीहरु काभ्रेको डाँडागाउँमा एकिकृत पहरी बस्ती, सिन्धुपाल्चोकको गिरानचौरमा एकिकृत गिरानचौर बस्ती र महोत्तरीको बर्दिवासमा एकिकृत नमुना मुसहर बस्ती निर्माण गरे । त्यति गर्दासम्म उनीहरुले नेपालीहरुले पठाएको अर्बौं रकम खर्च गरे । 

धुर्मुस र सुन्तलीको महत्वकांक्षा अझै बढ्दै गयो । उनीहरुले नेपालभित्रै नयाँ नमुना नेपाल बनाउने भनेर घोषणा गरे । लाखौं खर्च गरेको एनिमेसन भिडियो पनि सार्वजनिक गरे । उनीहरुको भिडियोलाई लाखौंले हेरेर हजारौंले प्रतिक्रिया जनाएपनि गर्ने भनिएको कामलाई भने दर्शकहरुले पत्याएनन् । चार वर्ष अगाडि घोषणा भएको उनीहरुको यो योजना अलपत्र अवस्थामा छ । यो योजनामा उनीहरुले कति रकम उठाए हालसम्म पनि सार्वजनिक गरेका छैनन् ।

जीविकोपार्जन गर्न र चर्चामा रहनकै लागि विभिन्‍न फण्डाहरु अपनाउने यो दम्पत्तीले अर्को योजना अघि सार्‍यो । देशमा गतिलो क्रिकेट रंगशाला बनाउने भन्दै फेरि पैसा माग्‍न थाले । चितवनमा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको कृषि अनुसन्धान केन्द्रले भोगचलन गर्दै गरेको करीब ३६५ बिघा जग्गामा उनीहरुको फाउण्डेसनको नाममा रंगशाला निर्माण गरिरहेका छन् । उक्त सरकारी जग्गा कब्जा गर्न पाइँदैन भन्दै स्थानीयहरुले डोजरसमेत चलाए । रंगशाला निर्माणमा अवरोध आउँदा रुँदै भिडियो बनाउन लगाएर दर्शकको सहानुभूति बटुलेका उनीहरुले निर्माण कार्यलाई पुनः अघि बढाए । 

देशविदेशमा रहेका नेपालीहरुबाट सहयोग उठाएर निर्माण सुरुवात गरिएको रंगशाला आफैंमा विवादित त छँदैछ । यो विवादमा भरतपुर महानगरपलिकाकी मेयर रेणु दाहाल समेत मुछिएकी छिन् । धुर्मस सुन्तलीले निर्माण गर्ने र निर्माण समापन पश्चात महानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता रहेको बताइएको छ । यदि यस्तो हो भने महानगरपलिकाले धुर्मस सुन्तलीसँग केको आधारमा रंगशाला निर्माण गर्ने सम्झौता गर्‍यो ? उनीहरु कुनै ठेकेदार कम्पनी त होइनन् । उनीहरु बच्चाको खेलौना बिग्रिँदा जसरी किन रोइरहेका छन् ? महानगरपालिकाकै नाममा हस्तान्तरण हुने हो भने आम जनताबाट किन चन्दा उठाइयो ? 

यसरी सहयोग उठाएर बनाइएको रंगशाला व्यवसायिक हुने कि सामाजिक ? यदि व्यवसायिक रुपमा सञ्चालन हुने हो भने जनताको रकम के हुन्छ ? महानगरपालिकाकै स्वामित्वमा हुने हो भने धुर्मस-सुन्तलीले के पाउने हुन् । प्रश्‍नहरुको घेरामा यो विवाद परेको छ । तर, यस्ता प्रश्नहरुको जवाफ महानगरपालिकाले पनि दिन सकेको छैन र धुर्मस सुन्तलीले पनि दिन सकेका छैनन् । 

यतिबेला सहयोग जुटाउनकै लागि धुर्मुस-सुन्तलीले मेचीकाली अभियान भन्दै अर्को आह्वान गरेका छन् । उनी विवादमा आउँदा फेरि पनि रोई-कराई गरिरहेका छन् । उनीहरुका गतिविधिले गर्दा सहयोगीभन्दा आलोचकहरु बढिरहेका छन् । कतिपयले भने एउटा फाउण्डेसनले ठेकेदारी र सहयोग उठाउने दोहोरो चरित्र बोकेर सरकारी जग्गामा अनधिकृत तवरले रंगशाला निर्माण गरिरहेकोले कानूनी उपचारको तयारीमा रहेको चर्चा पनि सुनिन थालेको छ । 

उनीहरुको सम्पत्ति छानबिन गर्न र यस्ता गतिविधिमा रोक लगाउन चर्को आवाज उठिरहेको छ । युट्युबको भिडियोमार्फत विदेशमा रहेका नेपालीहरुको सहानुभुतिमा खेल्न माहिर अर्का पात्र हुन् आफूलाई भाग्य भनेर चिनाउने हामनाथ न्यौपाने ।

उनी पहिले अस्पतालहरुमा र विभिन्न गम्भीर बिरामीहरुका कोठामा पुगेर भिडियो बनाउने गर्थे । यस्ता भिडियोहरु हेरेपछि विदेशमा रहेका नेपालीहरुले सहयोग संकलन गरेर न्यौपानेको खातामा पठाइदिन्थे । न्यौपानेले सहयोगबापत आएको रकम सम्बन्धित व्यक्तिकोमा पुर्‍याएर दिन्थे अनि त्यसको पनि भिडियो बनाएर युट्युबमा सार्वजनिक गर्थे । न्यौपाने यसरी नै स्थापित हुँदै गए । कतिपयले उनलाई भगवानको उपमा समेत दिन थाले ।

नाम र दाम मज्जाले कमाउन थालेपछि न्यौपाने झन् हौसिन थाले । उनले दुर्लभ घटनाका भिडियो बनाउने नाममा अपत्यारिला गतिविधिहरु समेत गर्न थाले । कसले कति रकम पठायो र कति बिरामीलाई दिए र कति आफूलाई राखे भनेर कहिल्यै सार्वजनिक नगर्ने न्यौपानेले बनाएका प्राय: भिडियो युट्युबको ट्रेण्डिङमा आउने गर्थे । तर उनको पछिल्लो गतिविधिले गर्दा उनको कुरा पत्याउनेहरु घट्दै गए । 

अघिल्लो वर्ष न्यौपानेले कपनको ‘बालगृह’मा गएर एउटा भिडियो बनाए । विदेशमा बलात्कारमा परेर गर्भवती भएपछि नेपालमा आएर चितवनकी एक महिलाले जन्माएको बच्चालाई वैधता दिन र ती पिडित महिलालाई जोगाउन बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले बेवारिसे अवस्थामा बच्चा भेटाएको घटनालाई न्यौपानेले अतिरञ्‍जित रुपमा प्रचार गरे । उनले सुरुमा बच्चा देखाएर भिडियो बनाइ १० हजार सहयोग दिए । तर, अर्को दिन तुरुन्तै त्यहाँ गएर अधिकारीलाई र्‍याखर्‍याख्ती पारे । कुनै गम्भीर अपराधीलाई प्रहरीले सोधपुछ गरेको भन्दा पनि बढी हुने गरी उनले ती महिलालाई यातना दिए । 
 
उनले आफूले दिएको १० हजार फिर्ता समेत लिए । पहिलो भिडियोबाट बच्चीका लागि सहयोगको आह्वान गरेका न्यौपानेले उक्त घटनामा कति लाख रकम उठाए त्यो अझैसम्म खुलाएका छैनन् । त्यही घटनाबाट विवादमा आएका अर्का व्यक्ति हुन् शिशिर भण्डारी ।

उनीहरुले घटना नै नबुझी सुरुको भिडियो बनाएका थिए र पछि भिडियो बनाएर कसले बढी आलोचना गर्न लगाउने भन्‍ने प्रतिस्पर्धामा न्यौपाने र भण्डारीबीच चलेको थियो । बलात्कृत महिलाले बच्चा जन्माएको संवेदनशीलतामाथि खेलेर उनीहरुले लाखौं कमाए । पुष्पालाई झुटो देखाउन उनीहरुले पहिले आफूहरुले बनाएको झुटो भिडियो भने युट्युबमा राखिरहेका छन् । 

उनीहरु दुवैजनाको सर्वत्र आलोचना भयो तर उनीहरुले आफ्नो गल्ती स्वीकार्नुको सट्टा पुष्पा नै गलत भएको र त्यस्तो मान्छे भएको ठाउँमा जानु आफूहरुको गल्ती भएको भन्दै भिडियो बनाएर युट्युबमा अपलोड गरे । बालगृहलाई उनीहरुले विवादमा तानेपछि त्यहाँ आश्रित बालिकाहरु सरकारले उठाएर लग्यो । रुवाउँदै बालबालिकालाई प्रहरीले भ्यान राख्दाको दृष्य निकै कारुणिक थियो । एउटी आमाको ममताबाट खोसिने अवस्थासम्म पुर्‍याउने उनीहरुका गतिविधिकै कारण  ११ जना बालिकाहरुलाई एकैपटक ‘टुहुरा’ बने । 

पुष्पा अधिकारी प्रकरणले विवादमा परेर केही समय चुप बसेका हामनाथले अर्को फेक काम गरे । उनले कालीकोटका विजय शाहीलाई हजारौं पेजका पुस्तकहरुका अक्षर एकैछिनमा याद गर्न सक्ने अद्भूत क्षमता भएको व्यक्तिका रुपमा ल्याएर भिडियो बनाए । उनले शाहीले ‘मेमोरी किङ’का रुपमा गिनिज वर्ल्ड रेकर्ड गर्न लागेको भन्दै चर्चामा ल्याए । न्यौपानेले भिडियो बनाउँदा प्रयोग हुने शाहीले कहिल्यै नदेखेको भनिएको पुस्तक पछि शाहीकै घरमा भेटिएको थियो । रिपोर्टस् क्लबमा पछि त्यसरी पुस्तकका अक्षर याद गर्न नसकेपछि शाहीसँगै न्यौपानेको चर्को आलोचना भएको थियो । तर न्यौपानेले उक्त घटनामा आफ्नो गल्ती भयो भनेर हालसम्म पनि माफी मागेका छैनन् । 

न्यौपानेले गरीबका आँसु बेचेर अनि समाजमा भ्रम छरेर करोडौं कमाएका छन् । तर उक्त आम्दानी बाट हालसम्म राज्यलाई कर तिर्नु त के अनधिकृत सम्पत्ति सार्वजनिक समेत गरेका छैनन् । उपत्यकामै महलका मालिक रहेका ताप्लेजुङका न्यौपानेविरुद्ध सम्पत्ति शुद्धिकरण विभागमा मुद्दासमेत परेको छ । 

फाट्टफूट्ट चलचित्रहरुमा अभिनय र टेलिभिजन कार्यक्रम चलाएर खासै सफल बन्न नसकेपछि युट्युबर बनेका भण्डारी पनि आँसु बेच्‍न माहिर छन् । उनी विशेष गरि कलाकारिता क्षेत्रकै व्यक्तिहरुका भिडियो बनाउने गर्छन् । युट्युबकै माध्यमबाट समाजका विभिन्‍न विकृतिका भिडियोहरु बनाएर भाइरल गराउने अर्का व्यक्ति हुन् भोजराज थापा । पहिले माइक्रेलिंक नामक युट्युब बनाएका थापाले अहिले भने नाम फेरेर मेचीकाली खबर बनाएका छन् । समाजमा कुनै घटना घटेपछि उनी हतार-हतार त्यहाँ पुग्छन् र घटनालाई नबुझि गिजोल्‍न थाल्छन् । 

कोही महिला बलात्कृत भएकी छन् भने हतार-हतार गर्दै ती महिलाको अन्तर्वार्ता लिन्छन् । थापा घटनास्थलमा पुगेपछि पीडितले न्याय पायो अनि पीडकले सजाय पायो भन्‍ने किसिमले उनले घटनालाई गिजोल्न थाल्छन् । उनी आफैं प्रहरी, अनुसन्धानकर्ता, अदालत र न्यायाधीश बन्छन् र सजाय तोक्‍न थाल्छन् । थापाले भिडियो बनाएपछि लागेको घाउ थप बल्झिन थाल्छ । 

उनी  घटनासँग सम्बन्धित व्यक्तिसँग मात्र केन्द्रित हुँदैनन् । त्यो ठाउँको नाममात्र सुनेका व्यक्तिहरुलाई समेत घटनाका बारेमा बोल्न लगाउँछन् । जसलाई घटनाको बारेमा केही थाहा छैन त्यस्ता व्यक्ति समेत बोल्छन् । थापा घटनाका दोषीलाई के गर्ने र पीडितले कसरी न्याय पाउँछ भन्‍नेसम्मको भनाइहरु लिएर भिडियो बनाउँछन् । 

थापाले केहीदिन अगाडि चितवनकी सुजिता भण्डारीको अपहरण भएको भन्दै भिडियो बनाउन जाँदा स्थानीयले कुटेर लखेटेको भन्‍ने चर्चा समेत सुनिएको छ । युट्युबम गरीबका दु:खका आँसु देखाएर अनि समाजमा घटेका घटनाहरुलाई अतिरञ्जित बनाएर आफूले आफैंलाई समाजसेवक र अभियन्ता बनाउने यस्ता पात्रहरु समाजलाई भाँड्‍ने भाइरस हुन् ।

यिनीहरुका गतिविधिले पीडितहरुले न्याय पाउने भन्दा पनि झन् पीडित बनेका छन् । उनीहरु नै राज्यका सबै निकाय बन्‍न खोज्दा सम्बन्धित निकायको अनुसन्धानमा समेत प्रभाव परिरहेको छ । यस्ता व्यक्तिहरुको अतिरञ्जनामा राज्यले नियमन गर्न ढिलाइ गर्दा समाज विकृत बनिरहेको छ । युट्युबका दर्शकले पत्याउँदासम्म यिनीहरुले यो हर्कत छोड्दैनन् । भलै यिनीहरुको युट्युबको हालत अहिलेका हामनाथ न्यौपानेको तात्तातो खबरको अवस्थामा पुगोस् । 

यो पनि पढ्नुहोस् ।

युट्युबको खहरेले बगाएका कथित अभियन्ताको अन्धकार भविष्य

कथित अभियानका ‘दुर्गन्धित’ अभियन्ताको चिरफार !

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार १७:०६   :  बजे

651
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।