काठमाडौं । वागमती प्रदेशमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले सरकारको नेतृत्वको दावी गरिरहेका बेला कांग्रसकै प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले आपत्ति जनाएका छन् । कोइरालाले पार्टीको महाधिवेशनलाई प्रभावित पार्न बागमती प्रदेशमा सत्ताको खेल हुनु दुःखद भएको बताएका हुन् ।
बागमती प्रदेश सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवाले अढाइ महिना मुख्यमन्त्री मागेको कुराप्रति आफ्नो गम्भीर आपत्ति रहेको उनले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता कोइरालाले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक भएको भन्दै अस्वीकार्य रहेको बताए ।
पार्टीको यस्तो हर्कतले संघीयता धरापमा पर्ने र लोकतन्त्रको धज्जी उड्ने कोइरालाको विश्लेषण छ । यसअघि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बागमती प्रदेशमा अढाइ महिनाका लागि भए पनि मुख्यमन्त्रीमा आफू निकट बानियाँलाई बनाउन लविङ गरिरहेको समाचार बाहिरिएको थियो ।
देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग सो विषयमा छलफल गरेका थिए । बागमती प्रदेशमा एमालेकी अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री छन् । शाक्यको सरकार अल्पमतमा छ ।





















प्रतिक्रिया