Logo

कर्पोरेट फोकस

‘बागमती प्रदेश उद्योग परिसंघ’ स्थापना, सर्वसम्मत नयाँ नेतृत्व चयन



बागमती प्रदेशमा ‘बागमती प्रदेश उद्योग परिसंघ’ स्थापना भएको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बागमती प्रदेशको राजधानी हेटौँडामा प्रदेश कार्यालयको उद्घाटन गरेका छन् ।

प्रदेश उद्योग परिसंघ स्थापनाको अवसरमा अध्यक्ष अग्रवालले साना तथा मझौला उद्योगलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिए । उनले औद्योगिक विकास विना अर्थतन्त्रको दीगो विकास असम्भव रहेको बताए ।

नेपाललाई आत्मनिर्भर अर्थतन्त्रको रूपमा विकास गर्न परिसंघले मेक इन नेपाल– स्वदेशी अभियान अघि बढाएको भन्दै उनले यस अभियानलाई सफल बनाउन प्रदेशका सम्पूर्ण उद्योगीहरूलाई आग्रह गरे । परिसंघले सबै किसिमका उत्पत्तिको प्रमाणपत्र जारी गर्न थालेको भन्दै उनले प्रदेशले पनि अब उत्पत्तिको प्रमाणपत्र जारी गर्ने उल्लेख गरे ।

परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले हरेक प्रदेश र औद्योगिक घनत्व धेरै भएका जिल्लाहरूमा परिसंघले आफ्नो उपस्थिति बढाउँदै जाने उल्लेख गरे । बागमती प्रदेश उद्योग परिसंघका निवर्तमान अध्यक्ष ऋषिराम घिमिरेले प्रदेश कार्यालय स्थापनाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

मकवानपुरमा रहेको प्रदेश कार्यालयले बागमती प्रदेशभित्रका जिल्लाहरूमा उपस्थिति बढाउनेछ । यसैगरी प्रदेशमा सहज औद्योगिक वातावरण सिर्जना गर्न प्रदेश कार्यालयले भूमिका खेल्ने परिसंघले जनाएको छ ।

प्रदेशमा सर्वसम्मत नयाँ नेतृत्व

बागमती प्रदेश उद्योग परिसंघमा भेषराज दुवाडीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा लेखराज पोखरेल र उपाध्यक्षहरूमा त्रिलोचन कँडेल, स्वागतराज प्याकुरेल र हरिप्रसाद भट्ट रहेका छन् ।

प्रदेश उद्योग परिसंघको सदस्यहरूमा शरदचन्द्र भट्टराई, शिरोमणि प्याकुरेल, श्रृजन कोइराला, स्वागतराज प्याकुरेल, श्रीहरि मास्के, सुयशराज पराजुली र दुर्गाप्रसाद भण्डारी सदस्य छन् । यसैगरी डा. प्रमोद लामिछाने, राजेन्द्रप्रसाद रिजाल, धिरजकुमार कार्की, विष्णुप्रसाद पौडेल, दिवस न्यौपाने र बद्रीनाथ शर्मा सदस्य भएका छन् ।

साधारणसभामा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले औद्योगिक क्षेत्र विकासको काम अघि बढाउने उल्लेख गरिन् । उनले परिसंघले अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानमा प्रदेश सरकारको साथ रहने जानकारी पनि गराइन् । मुख्यमन्त्री शाक्यले लघु, घरेलु तथा सना उद्योगको विकासमा प्रदेश सरकारले काम गर्ने पनि बताइन् ।

साधारणसभामा परिसंघका उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डेसहितका बागमती प्रदेश सरकारका मन्त्रीहरू, उच्च सरकारी अधिकारीहरू एवं उद्योगी व्यवसायीको उपस्थिति थियो ।

प्रकाशित : २४ आश्विन २०७८, आइतबार