Logo

प्रमुख समाचार

बागमतीको मुख्यमन्त्रीमा पाण्डे कि बानियाँ ? सत्तागठबन्धनमा लफडाको संकेत



प्रदेश नं. १ र बागमती प्रदेशको नेतृत्व दिने आश्वासन दिएर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी)लाई संघीय सरकारमा सहभागि गराएको सत्तागठबन्धनका दलबीच प्रदेश सरकारको नेतृत्वलाई लिएर भने लफडा हुने देखिएको छ । दुइवटा सरकारको नेतृत्व पाउने भएपछि प्रदेश नं. १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी भइरहेका बेला बागमतीको मुख्यमन्त्रीमा नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी गरेपछि यस्तो संकेत देखिएको हो ।

नेपाली काँग्रेस बागमती प्रदेशको संसदीय दलको आइतबार हेटौंडामा बसेको बैठकले प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्नुपर्ने भन्दै मुख्यमन्त्रीमा नेता बानियाँलाई अगाडि सार्ने निर्णय गरेको छ । बैठकमा नेपाली काँग्रेसले प्रदेशसभामा हालसम्म निर्वाह गरेको भूमिका राजनीतिक संस्कारयुक्त रहेको र उक्त भूमिकाको जनताले समेत प्रशंसा गरेको भन्दै सरकारको नेतृत्व पनि काँग्रेसले नै गर्नुपर्ने सांसदहरुले धारणा राखेका थिए ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आइतबार संसदबाट विश्वासको मत लिने तयारीका साथ प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ । प्रदेशसभामा मुख्यमन्त्री शाक्यको पक्षमा विश्वासको मत पुग्ने संख्यामा एमालेका सांसद छैनन् ।

प्रकाशित : २४ आश्विन २०७८, आइतबार