Logo

कोशी प्रदेश

‘गुण्डानाइके’ बस्नेत प्रदेश नं. १ को खेलकुद बोर्ड सदस्य सचिव



सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्धा खेपेका एमालेको युवा संगठन राष्ट्रिय युवा संघका नेता पर्शुराम बस्नेत प्रदेश नं. १ को खेलकुद बोर्डमा सदस्य सचिव नियुक्त भएका छन् । आइतबार बसेको प्रदेश नं. १ को सरकारले आपाराधिक पृष्ठभूमिका बस्नेतलाई सदस्य सचिवमा नियुक्त गरेको हो ।

पूर्वमा गुण्डा नाइकेका रुपमा परिचित बस्नेतको वास्तविक नाम कृष्ण बस्नेत भएता पनि अपराध कर्ममा उनी पर्शुरामका उपनामले चिनिन्छिन् । एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएका बस्नेतविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले ११ करोड ६१ लाख ४१ हजार १ सय ७७ रुपैयाँ विगो दावीसहित मुद्दा हालेको थियो । गुण्डागर्दी र सम्पत्ति शुद्धीकरण प्रकरणमा पक्राउ परेका बस्नेतसँग जेठ २७ गते २ करोड धरौटी माग भएकोमा उक्त रकम बुझाउन नसकेपछि जेल चलान भएका थिए ।

बस्नेतले भक्तपुरको नगरकोट जाने बाटो छेउको ८ रोपनी जग्गा जमानत राखेर असार २५ गते छुटेका थिए । उनी विभिन्न समयमा गुण्डागर्दीको कारण बिवादमा आउने गरेका थिए । तथापि शक्तिको आडमा छुट पाउने गरेका थिए ।

बस्नेत निगरानीमै रहेका बेला २०७० मंसिर १ गते संखुवासभामा एमालेले आयोजना गरेको चुनावीसभामा पुगेर उत्तेजक भाषण गरी झडप गराएका थिए । त्यतिबेला एमालेको उपाध्यक्ष रहेकी हालकी राष्ट्रपति विद्यादेवी भण्डारी सहित उक्त स्थानमा पुगेका बस्नेतले नेपाली कांग्रेसका स्थानीय नेता थमन गुरुङलाई नामै किटेर गुण्डा भनेपछि गुरुङ समर्थक युवाहरुको समूह आक्रोशित बनेको थियो ।

एमाले र कांग्रेस समर्थक युवाहरुबीच छुरा हानाहान भएपछि दुइ पार्टीका युवाहरुको झडपलाई नियन्त्रणमा लिन चैनपुर बजारमा सशस्त्र र जनपथ प्रहरी परिचालित गर्नु परेको थियो ।

यस्तो आपाराधिक विगत बनाएका बस्नेतले प्रदेशको खेलकुद बोर्डको सदस्य सचिव बनाइएका छन् ।

प्रकाशित मिति : आश्विन २५, २०७८ सोमबार  १२ : २१ बजे

453
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।