Logo

टिप्पणी

पानी तताएर बाक्लो, नेता फकाएर आफ्नो हुन्न



पानीले पानीमा पानी लेख्न कति सजिलो छ ? हो, त्यस्तै कठिन छ नेताहरुको सम्बन्ध । दुई हात्ती मिल्दा पनि बाली सखाप, नमिल्दा पनि स्वाहा भए झैं नेताको सम्बन्धले देशको राजनीति कुरुक्षेत्र बन्दै गएको छ । पानीरंग आफैंमा सकारात्मक रंग हो । पानीलाई जुन रंगमा ढाल्न सकिन्छ ।

पानी त्यस्तो पदार्थ हो, जसले जतिसुकै कठिन परिस्थितिमा पनि आफ्नो आकारप्रकार बनाउँछ । पानी स्वभावत पातलो हुन्छ । पारदर्शिता यसको सर्वाधिक सत्य हो । त्यसैले त भनिन्छ नि- ‘पानी तताएर बाक्लो, मान्छे फकाएर आफ्नो हुन्न ।’ अब यो उक्ति नेतामा अनुवाद गर्नुपर्ने अवस्था आएको छ । नङमासुको सम्बन्ध भएका नेता अजात शत्रुमा करार भएका छन् । मानौं त्यो मित्रता नमिठो सपना थियो ।
 
एउटै ताउलोको भात, एउटै ओढ्ने ओछ्याउने, संगै सुत्दा लागेको लात्ती, पानी चुहिने मझेरी, पैसाको अभावमा साँघुरिएको घरव्यवहार,दशैं तिहारमा सन्तानलाई फेराउन नसकेको मजेत्रो, भोटो र घाँगर चोलीका दर्दनाक कथाको त्यो विगतमा कसरी बैरी लाग्न सक्छ ? शक्ति र सत्तामा के त्यस्तो तत्व छ, जसले हाँसो र आँसु खोस्ने धृष्टता गर्छ ।

बसन्त ऋतुलाई रातारात पतझड बनाउँछ । विश्वासको महलमा खेलबाड गर्छ । घिउजस्तो मानिसलाई परपीडक बनाइ दिन्छ । बुद्ध राक्षस, राक्षस बुद्ध बन्छ । हिजोअस्तिसम्म त्यही हँसिया हथौडाको झण्डा लिएर मानवताको गीत गाउने साथी आज त्यही हँसिया हथौडाले ठुँगेर राजनीतिक जीवन सखाप पार्ने अभियानमा  अग्रसर हुन्छ ।

माक्र्स एंगेल्स मिलेर राजनीतिको एउटा शास्त्र जन्माए । विश्वकै कम्युनिष्टका लागि माक्र्सवाद वेद, कुरान, बाइबल बन्यो । एउटा घडी आयो, त्यो मित्रतामा बाढी पस्यो । आफ्नी छोरी जेनीको मृत्यु हुँदा, घरमा अन्नको गेडो नहुँदाको घडी सम्झदै माक्र्सले एंगेल्सको मित्रतामा प्रश्न उठाएका छन् ।

इतिहास साक्षी छ-स्टालिनलाई ‘तानाशाह’ र ‘पागल’ करार गर्ने पहिलो व्यक्ति उनकै परममित्र ख्रुश्चेभ थिए । हिटलरले आफ्नै सल्लाहकारलाई आजीवन जेलमा कोचेका थिए । ठूलो मानिस भएपछि आँखाले देखेको दृश्यभन्दा कानमा भरिने कुराको चास्नी मिठो लाग्ने रहेछ ।

राजनीतिमा त झन् आफू अनुकूल नभएपछि माखा फालेझैं फाल्ने प्रवृत्ति दोहोरिएको देखिन्छ । आफ्नो अनुकूल रहुन्जेल विन लादेन, सद्दाम हुसेन अमेरिकाका ‘मोती’ भए । जब उनीहरुको उपयोगिता सकियो, गोलीको पाहुना बनाइए । चीनका लागि दलाई लामा देश टुक्र्याउने भाइरस ठहरिए । अमेरिकाले शरणार्थीको पगरी दिएर रेड कार्पेटको पाहुना बनाएर इज्जत दिएको छ । राजनीतिमा पल्टिने गाई र त्रिशुलको राजनीति हामीले सोचेको जस्तो सरल बाटोमा हिँड्दैन् । राजनीतिमा एकमा एक जोड्दा दुई नभएर एघार हुन्छ । झन् ट्रान्जिट राजनीति, ट्रान्जिट अर्थव्यवस्था झेलिरहेको नेपालका लागि यी विषय नौलो बन्ने प्रश्नै रहेन ।
 
कम्युनिष्ट राजनीतिमा त झन साथीको सहयात्रा शंकाबाट शुरु हुन्छ । यो आरोप नभएर हजार पटक प्रमाणित सत्य हो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाललाई समेत ‘गद्दार’ भनिदा प्रतिवाद नगर्नेहरु अहिले पनि उनको फोटोमा मुठी कसेर अभिवादन गर्दा लाज मान्दैनन् । विचार नमिल्ने वित्तिक्कै पार्टी माटोको खबटा बनाउने र मुखको तीतो पोख्ने परम्परा हिजो पनि थियो, आज पनि छ र भोलि पनि नासोका रुपमा रहने निश्चित छ ।

साद्गी नेता मनमोहन अधिकारीले बाँच्दा जति इज्जत पाउनुपर्ने हो, त्यति पाएनन । स्वयं माधव नेपालबाट उनको तेजोबध भएको नेपालकै सहकर्मी बताउँछन । सम्मान जस्तो दियो, ब्याजसहित फर्किएर आउने हो । आफ्नो अभिव्यक्ति, आफ्नो दर्शनलाई प्रकृतिकै पहिलो र अन्तिम सत्य भनियो भने निरंकुशताको अर्को नमूना खोज्न अन्त जानै पर्दैन । 

प्रचण्ड र बाबुरामको मित्रताले धेरै चर्चा कमायो । संगै रोए, संगै हाँसे, अभाव झेले, टाउकोको मोल समान रुपमा तोकिए । प्रचण्डपथका प्रत्येक अक्षरमा गणेश भएर बाबुरामले प्राण भरे । आखिर शंका र लाभको त्यो सम्बन्ध भीर र भैंसीमा गएर टुंगियो । बाबुराम त आफूलाई कम्युनिष्टको ट्याग भिर्नु जीवनको सर्वाधिक ठूलो अपराध गरेको मनस्थितिमा पुगेका छन् ।

दृश्यमा देखिने त्यो मित्रता र दाउपेचको अदृश्य झिल्को खरानीमा सुरक्षित रहने गरेको तथ्य भेटिन्छ । कालान्तरमा मौका पाउनासाथ त्यो झिल्कोले बबण्डर मच्चाउने गरेको छ । रामबहादुर थापा बादलले प्रचण्डभित्र रहेको भित्री तूष आखिर ‘चिडियाखाना’मा थुन्ने धम्की दिएरै पोखे । 

एउटा समय थियो– शेरबहादुर देउवा पियक्कड थिए । रामेछापका शिबबहादुर खडका र उनी असनको भित्री गल्लीबाट मात्दै फर्कंदा चूक बेचेको पैसा खल्तीमा राख्दै गरेका रामचन्द्र पौडेल भेटिन्थे । अर्को दिनको साँझका लागि पौडेलबाट उधारोमा लिएको त्यही पैसा काममा आउँथ्यो । उनीहरुले विद्यार्थी राजनीति पनि संगै गरेका हुन । बीपी कोइराला दुवैका राजनीति गुरु हुन । आखिर उनीहरुको सम्बन्ध पनि किन माझिएन ? आठ दशकको उमेर टेक्न लागेका यी नेताहरुको तन, मन जोड्न कुन रसायनको जरुरी पर्यो ? आजसम्म बुझ्न नसकेको पहेली यही हो ।

बीपी कोइरालाको आप्रवासमा रहेर राजनीतिक गतिविधि गर्ने विषयमा कृष्णप्रसाद भट्टराईले जिन्दगीभर असहमति जनाए । बीपीका कतिपय सैद्धान्तिक विषयमा सुवर्णशम्शेर,गणेशमानसिंहका असहमति थिए । तर परेका बखत उनीहरु एकाकार भएर खडा हुन्थे । साथी कस्तो हुनुपर्छ ? जसले आफ्नो अनुपस्थितिमा पनि प्रशंसा गरिदेओस् । यो कसीमा कुन नेता कति उत्रेका छन् ? वर्तमानले जवाफ खोजेको यक्ष प्रश्न यही हो ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार ११:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।