Logo

धर्म / संस्कृति

देउसी भैलो राति १० बजेसम्म मात्र खेल्न पाइने



तनहुँमा देउसी भैलो राति १० बजेसम्म मात्र खेल्न पाइने भएको छ । देउसी भैलो खेल्दा न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना अनिवार्य गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए । ‘जोखिम कायमै रहेकाले जोखिमबाट बच्दै चाडपर्व मनाउनुपर्ने अवस्था छ । कोरोना संक्रमण फैलन नदिन जिल्लावासीले सावधानी अपनाउनेमा विश्वस्त छौँ’, उनले भने ।

प्रशासनले तिहारको बेलामा हुने मेला महोत्सव, जात्रालगायतका भिडभाड हुने कार्यक्रम गर्नसमेत रोक लगाएको छ । पूजापाठलाई घरमै सीमित बनाउन प्रशासनको सुझाव छ । अनावश्यक यात्रा नगरीकन आफ्नै परिवारका सदस्य मिलेर घरमै चाडपर्व मनाउनुपर्ने अर्याल बताउँछन् ।

जिल्लामा हाल ५१ जना कोरोनाका सक्रिय संक्रमित छन् । संक्रिमत सबै होम आइसोलेसनमा बस्दा संस्थागत आइसोलेसन केन्द्र रित्तो छन् । जिल्लामा दैनिक १० जनाभन्दा कम कोरोना संक्रमित थपिने गरेका छन् ।

कोरोनाको दोस्रो लहर फैलिएपछि वैशाखयता पाँच हजार तीन सय ७९ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । तीमध्ये पाँच हजार दुई सय चार जना निको भए । एक सय २४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलवार १४:३३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।