Logo

धर्म / संस्कृति

दिदीबहिनी नहुनेहरु रानीपोखरीको बालगोपालेश्वरमा



काठमाडौं । दिदीबहिनी नहुनेहरुले आज रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन सुरु गरेका छन् । २०७२ सालको महाभूकम्पपछि आज पहिलो पटक खोलिएको यस मन्दिरमा दाजुभाइ नहुने दिदीबहिनीले दिदी बहिनी नभएका दाजुभाइलाई भाइटीका लगाएर तिहार मनाइ रहेका हुन् ।

वर्षमा एकपटक भाइटिकाको दिन मात्र खोल्ने यस मन्दिरमा दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु यस मन्दिरमा बिहानैदेखि मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाइरहेका छन् । आज भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा भनिए पनि आज दिनभर नै भाइटीका लगाउन सकिनेछ ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले बताए ।

६ वर्षअघिको भूकम्पले बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त बनेपछि गत वर्षसम्म खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो ।

आजको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन् । गत वर्ष नेवार समुदायले किजापूजाका रुपमा मनाउने भाइटीका तिथि घटबढका कारण भोलिपल्ट परेको थियो । यस वर्ष भने एकै दिन परेको पंचाग निर्णयक समितिले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार ११:१७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।