Logo

प्रमुख समाचार

बन्दले कैलालीका चार पालिकामा कांग्रेसकाे अधिवेशन राेकियाे



धनगढी । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग राख्दै नेकपा विप्लव समूहले आयोजना गरेको नेपाल बन्दले कैलालीका चार स्थानीय तहमा कांग्रेस अधिवेसन प्रभावित भएको छ ।

महाधिवेशन प्रचारप्रसार समिति कैलालीका संयोजक नृप सुनारका अनुसार विप्लवले गरेको बन्दका कारण धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका र भजनी नगरपालिकाको पालिका अधिवेशन रोकिएको हो ।

बन्दका कारण मतदाता तथा उम्मेदवार अधिवेशनस्थलसम्म जान नसक्दा स्थगित गरेको संयोजक सुनारले बताए । चारवटै पालिकामा भोलि (बुधबार) बिहान ८ बजेदेखि अधिवेशन सुचारू गर्ने निर्णय भएको उनले बताए ।

कैलालीका १३ मध्ये बाँकी नौ पालिकामा भने मंगलबारदेखि नै अधिवेशन सुरू भएको छ । उनका अनुसार कैलाली गोदावरी नगरपालिका, चुरे गाउँपालिका, मोहन्याल गाउँपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा मंगलबारदेखि पालिका अधिवेशन सुरू भएको छ ।

क्रियाशील सदस्यता विवादका कारण निर्धारित मितिमा अधिवेशन हुन नसकेको कैलालीमा २५ कात्तिकदेखि वडा अधिवेशन सुरू भएको थियो । ३० कात्तिकमा पालिका अधिवेशन सम्पन्न गर्दै ३ मंसिरमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन गर्ने तालिका रहेको छ । कैलालीमा ६ मंसिरमा संघीय निर्वाचन क्षेत्र अधिवेशन गर्ने र १० मंसिरमा जिल्ला अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ ।

प्रकाशित मिति : कार्तिक ३०, २०७८ मंगलबार  ४ : २१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।