Logo

अनलाइनपाना खोज

कृषिको विकास विना समृद्धी सम्भव छैन : बिदुर हुमगाई



मकवानपुर जिल्ला स्थित मकवानपुरगढी गाउँपालिका पछिल्लो समय कृषिको क्षेत्रमा अगाडि बढिरहेको छ । गाउँपालिकाले कृषि र पशुपालनलाई नै केन्द्रमा राखेर प्रत्येक वर्षको बजेट ल्याएको पनि दावि गरेको छ । त्यस्तै उत्पादन भएको सामग्रीहरु गाउँपालिकाले सहकारी मार्फत बजारको पनि व्यवस्था मिलाएको छ ।

गाउँपालिकाका अध्यक्ष बिदुर हुमगाईले कृषि क्षेत्रको विकास विना गाउँपालिकामा समृद्धी नआउने बताए । पालिकाका किसानहरुसँग छलफल गरेर पालिकाले कृषिमा विविध कायक्रमहरु गरेको उनी बताउछन् । पालिकाले उत्पादन परिणामको आधारमा किसानहरुलाई अनुदान दिरहेको पनि उनले जानकारी दिए ।

अध्यक्ष हुमगाईका अनुसार दुधमा प्रति लिटर १ रुपैयाँ ५० पैषा अनुदान दिएको छ । त्यस्तै तरकारी, अन्न र फलफूलमा प्रति किलो २/२ रुपैयाँको दरले अनुदान दिरहेको छ । विचौलियालाई निरुत्साहीत गर्न र किसानलाई उचित मूल्य दिन सहकारी मार्फत बजारको व्यवस्था मिलाएको बताइएको छ । कृषि क्षेत्रको विकास गर्न कार्यक्रम ल्याएर मात्रै नहुने भन्दै अध्यक्ष हुमगाईले चेतनावृद्धी पनि गर्नुपर्ने प्रष्ट पारे ।

तरकारी खेती

गाउँपालिकाको वडा नम्बर २, ३, ६ र ८ नम्बरमा तरकारी खेती व्यवसाय राम्रो भैरहेको गाउँपालिकाका कृषिप्रविधिक चन्द्रकान्त चौधरीले जानकारी दिए । उनका अनुसार वडा नम्बर ८ लाई गाउँपालिकाले तरकारी पकेट क्षेत्र घोषणा गरेको छ । अन्य वडाहरुमा पनि तरकारी खेती सुरु भएको छ । गाउँपालिको बुढिचौर, कुर्ले दमार, मक्रानचुली डाँडा, धमिलेफाँट, डुम्रेकुना लगायतका स्थानमा तरकारी खेती व्यवसायिक रुपमा गर्न थालिएको प्राविधिक चौधरीले जानकारी दिए ।

गाउँपालिकाले यो कार्यकालको पहिलो वर्षमै गाउँपालिकाका नमुना कृषि गर्ने ३ जनालाई १/१ लाख अनुदान दिएर कृषिको विकासलाई अगाडि बढाएको थियो । त्यस्तै टनेलमा अनुदान, सिञ्चाइमा अनुदान लगायतका अनुदानहरु पनि किसानलाई प्रोत्साहन गर्न प्रदान गरिरहेको चौधरीको भनाइ छ ।

गाउँपालिकामा उत्पादन भएको तरकारी सहकारी मार्फत मुख्य गरि हेटौंडा बजार पठाउने गरेको भन्दै उहाँले हाल १ सय हेक्टर क्षेत्रफलमा तरकारी खेती भैरहेको जानकारी दिए । तरकारीमा छिटो आम्दानी हुने भएकोले किसानहरु आक्रसित भएको उनको बुझाई छ ।

यन्त्रीकरणमा पनि किसानहरुलाई गाउँपालिकाले सहयोग गरेको भन्दै उनले विभिन्न कृषक समूहहरुलाई हाते टयाक्टर र डयाङ मेकर अनुदानमा वितरण गरिएको जानकारी अनलाइनपानालाई दिए । किसानहरुलाई सल्लाह र सुझावको आवश्यक्त पर्ने भन्दै प्राविधिक चौधरीले भने, हामी समय-समयमा फिल्डमै गएर सल्लाह दिने गरेका छौं ।

फलफूल खेती

केरा र लिचि खेती गाउँपालिमा पहिले देखिनै राम्रो उत्पादन हुने भन्दै प्राविधिक चौधरीले यसलाई व्यवसायिक बनाउँदै लगिएको जानकारी दिए । उनका अनुसार वडा नम्बर २ र ४ मा केरा, २ र ३ मा लिचि, २ र ७ मा कागती र ३, ४ र ५ मा डाइगन फुट लगाउने गरेको छ । फलफूल खेतीमा केही ढिलो आमदानी हुने भएकोले तरकारीमा जति किसानहरु नभएको उनको ठहर छ । अन्नमा भने त्यहाँ धान, मकै र कोदो उत्पादन हुने बताए ।

पशुपालन

गाउँपालिकामा पशुपालनको क्षेत्रमा पनि राम्रो विकास भैरहेको गाउँपालिकाले दावी गरेको छ । अध्यक्ष हुमगाईका अनुसार दैनिक १५ हजार लिटर दुध गाउँपालिकामा उत्पादन हुन्छ । बाख्रा पालनको पनि राम्रो व्यवसायिक सुरुवात भैरहेको उनले जानकारी दिए । पशुपालन किसानहरुलाई पनि मासुमा अनुदान दिनको लागि गाउँपालिकाले कार्यविधि बनाउदै गरेको उनको ठहर छ । कृषि र पशुपालन एक आपसमा निर्भर हुने भएकोले यी दुबैको विकाससंगै अगाडी बढाउने उनले प्रतिवद्धता जनाए ।

गाउँपालिकाले किसानको हितका लागि अर्को महत्वपूर्ण काम किसान कर्जा कार्ड बनाएको छ । यसबाट गरिब किसानहरुले कृषिमा लाग्न सहज हुने बताइएको छ । यसबाट किसानले २ लाख सम्म बिना धितो ऋण पाउने गरेका छन् । हालसम्म ३३ जना किसानलाई कार्ड वितरण गरिएको गाउँपालिकाले जनाएको छ । त्यसैगरी गाउँपालिकाको प्रत्येक वडाहरुमा कृषि र पशु सम्बन्धी प्राविधिकको व्यवस्था मिलाइएको छ । गाउँपालिकामा माटो परिक्षण गर्न प्रदेश सरकारको सहयोगमा माटो परिक्षण प्रयोगशाला पनि बनिसकेको छ ।

प्रकाशित मिति : कार्तिक ३०, २०७८ मंगलबार  ४ : ३८ बजे

315
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।