Logo

आजको तस्बिर

कहिले हट्छ तुवाँलो ? उडान प्रभावित, जनस्वास्थ्यमा असर (फोटोफिचर)



उपत्यकामा वायु प्रदुषण बढेपछि आज पनि आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ । शुक्रबारदेखि बढेको वायु प्रदुषणका कारण उडान प्रभावित भएका हुन । आज आन्तरिक उडान पूर्ण रुपमा बन्द रहेको त्रिभुवन विमानस्थल टर्मिनल ड्युटी अफिसरले अनलाइनपानालाई जानकारी दिए । उनकाअनुसार बाह्य उडानतर्फ एअर इण्डियाको फ्लाईट बाहेक अन्यको भने उडान हुने भएको छ । उनले भने –‘एअर इण्डियाको बाहेक आरए, फ्लाई दुबई, एअर अरेबियालगायतकाको उडान हुनेछ ।’ नेभिगेशन सिस्टममा एअर इण्डियाले अपडेट नगरेकाले उसले कम भिजिबिलिटीमा उडान गर्न नसकेको उनले बताए । उडानको लागि कम्तिमा १६ सय मिटर भिजिबिलिटी हुनुपर्ने भएपनि एक हजार मिटर मात्रै हुँदा शनिबार बिहानैदेखि उडान प्रभावित भएको छ ।

विमानस्थलमा विहान ६ बजेदेखि नै उडान हुने गरेका थिए । भिजिबिलिटी स्पष्ट नहुँदासम्म उडान सुचारु हुननसक्ने विमानस्थल अधिकारीले स्पष्ट पारे । एअर इण्डियाबाट जानेले अब फेरि पिसिआर टेस्ट गर्नुपर्ने भएको छ । विमानस्थलका अनुसार ७२ घण्टा पहिलेको पिसिआर टेस्टलाई मान्यता दिइन्छ । तर उडान हुन नसक्दा ७२ घण्टापछिको रिपोर्टलाई मान्यता दिइँदैन । भारतमा बढेको कोभिडको प्रकोपलाई दृष्टिगत गरी पिसीरआर टेष्टमा कडाई गरिएको छ । 

तुवाँलो हटन अझै दुईदिन लाग्छ : मौसमविद्

यता जल तथा मौसम विज्ञान विभागले भने पानीन परेसम्म वा बेस्सरी हावा नचलेसम्म तुँवालो कायमै रहने जनाएको छ । केही दिनयता पानी नपर्दा वातावरणमा हावा चलि रहेपनि बग्न नपाउँदा प्रदूषण बढेको विभागकी मौसमविद् शान्ति कँडेलले अनलाइनपानालाई जानकारी दिइन । ‘आज र भोलिसम्म मौसम यस्तै रहन्छ । तत्काल पानी पर्ने सम्भावना छैन । पानीनपरेसम्म सुधार आउँदैन ।’ उनकाअनुसार सोमबार पानी पर्ने सम्भावना रहेकाले त्यसपछि भने सुधारको सम्भावना छ ।

विश्वकै एक नम्बर प्रदुषित शहरको रुपमा दरियो काठमाडौं 

वायु प्रदूषण बढेसँगै काठमाडौँ विश्वकै एक नम्बर प्रदुषित शहरको रुपमा दरिएको छ । काठमाडौँपछि दोस्रो प्रदूषित शहरको रुपमा बंगलादेशको ढाका, तेस्रोमा चीनको बेइजिङ र चौथोमा भारतको मुम्बई रहेको छ । २०० माथिको प्रदूषण स्वास्थ्यका लागि निकै खराब मानिन्छ । काठमाडौंका विभिन्न ठाउँमा जडान गरिएका एयर क्वालिटी इन्डेक्सहरूले खतराको सीमापार गरेका छन । भैसेपाटी स्टेशनमा एयर क्वालिटी इन्डेक्स ५५१ पुगेको छ । हावामा प्रदूषणको यो मात्रा एकदमै खतरनाक हो । त्यस्तै कीर्तिपुरमा २२६ र रत्नपार्कमा २०० देखिएको छ । 

होशियार रहन विज्ञको सुझाव

जनस्वास्थ्यविद्ले भने मौसममा देखिएको असरबाट होशियार रहन सुझाव दिएका छन । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले स्वासप्रश्वासका विरामीलाई बढी असर गर्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । तुवाँलोका कारण आँखा पोल्ने, आँखा चिलाउने, आँखा रातो हुने लगायतका लक्षण देखिने र पछि दीर्घकालमा समेत असर पर्ने उनले बताए । 

सरकार भन्छ– घरबाहिर ननिस्कौं 

स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले पनि प्रदूषणले गर्दा विभिन्न स्वास्थ्य समस्या देखापर्ने हुँदा घरबाहिर ननिस्कन आग्रह गरेको छ । घरबाहिर सकभर ननिस्कन, खुल्ला स्थानमा नजान, मर्निङ वाकमा पनि ननिस्कन आग्रह गरेको छ । मन्त्रालयले फोहोरमैलाको उचित व्यवस्थापन गर्न र जथाभावी नजलाउन समेत मन्त्रालयले सचेत गराएको छ ।
 
बढदो प्रदुषणका कारण बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई बढी असर गर्ने भएकाले विशेष ख्यालगर्न मन्त्रालयले आग्रह गरेको हो ।
वनतथा भु–संरक्षण विभागको ‘वन डढेलो पहिचान तथा अनुगमन प्रणाली’का अनुसार देशका ५४ जिल्लाका ४६१ ठाउँमा डढेलो लागिरहेको छ । २०१२ मा लाङटाङमा भीषण आगलागी भएको थियो। लामो समयसम्म त्यहाँ लागेको डढेलोको धुँवा काठमाडौंसम्मै आइपुगेको थियो । त्योबेलापनि काठमाडौंको आकाश करिब करिब यस्तै थियो ।

अनलाइनपाना सहकर्मी साजन लामिछानेको क्यामेराले खिचेका दृश्य सामग्री प्रस्तुत छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार १५:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।