Logo

खेलकुद

सहिद स्मारक लिग: दोस्रो चरणअघि के भन्छन् प्रशिक्षक ?



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेलहरु शुक्रबार (भोलि)बाट सुरु हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना जारी लिगको दोस्रो चरणका खेलहरू शुक्रबार सुरू भई सोमबार समाप्त हुनेछ । एक चरणमा ७ खेल हुनेछन् ।

पहिलो दिन दुई खेल हुनेछ । दिउसो १ बजे सुरू हुने खेलमा सातदोबाटो युथ क्लबले थ्री स्टार क्लबविरुद्ध खेल्नेछ । साँझ पौने ५ बजे हुने दोस्रो खेलमा संकटा क्लबले फ्रेण्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो दिनसमेत दुई खेल हुनेछ । पहिलो खेलमा च्यासल युथ क्लब र एपीएफ फुटबल क्लब भिड्दा हिमालयन शेर्पा क्लब र मनाङ मर्स्याङ्दी क्लब आमनेसामने हुनेछन् । तेस्रो दिनको एक मात्र खेलमा जावलाखेल युथले नेपाल पुलिस क्लबविरुद्ध खेल्नेछ ।

दोस्रो चरणको अन्तिम दिन दुई खेल हुनेछ । पहिलो खेलमा व्रिगेड ब्वाईज क्लब र न्युरोड टिम एनआरटी आमनेसामने हुँदा दोस्रो चरणको अन्तिम खेलमा साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबको सामना गर्नेछ ।

दोस्रो चरणको पूर्व सन्ध्यामा एन्फाले पत्रकार सम्मेलन गरेको थियो । १४ क्लब सहभागी लिगमा पाँच क्लबका प्रशिक्षक पत्रकार सम्मेलनमा उपस्थिति नै जनाएनन् ।

साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस, न्युरोड टिम एनआरटी, संकटा क्लब र ब्रिगेड ब्वाईज क्लबका प्रशिक्षक अनुपस्थित रहे । बाँकी ९ टोलीका प्रशिक्षकले भने दोस्रो चरणमा आफ्ना विपक्षी टोलीविरुद्ध जित निकाल्ने रणनीति सुनाए ।

खेलअघि उपस्थित नाै क्लबका प्रशिक्षकको भनाइ

१‍. मेघराज केसी
प्रशिक्षक, सातदोबाटो युथ क्लब

हाम्रो विदेशी कोटाको दक्षिण अफ्रिकी खेलाडी देशै फर्किनु पर्ला जस्तो छ । भोलि (थ्री स्टारविरुद्ध) तीन अंककै लागि खेल्छौं । प्रत्येक खेल हामी तीन अंकका लागि खेल्छौँ । अस्तिको खेल (थ्री स्टारविरुद्ध च्यासल) हेर्दा सबै गोल डिफेन्डरबाट आएको हो । उनीहरू पनि सेट नभइसकेको हुन सक्छ ।

२‍. उर्जन श्रेष्ठ
प्रशिक्षक, थ्री स्टार क्लब

सातदोबाटोविरुद्ध अस्ति (च्यासलविरुद्ध) देखिएको ‘फ्रन्टलाइन’को समस्या समाधान हुन्छ । तयारी समय पाएका छौं । पहिलो खेलबाट ‘अट्याकिङ थर्ड’मा हामीले स्कोर गर्ने अवसर निकाल्न सकेनौं । सबै विपक्षी टोली बलिया छन् । हरेक खेल फाइनल सोचेर खेल्छौं । हामी आफ्नो खेल खेल्छौं ।

३. मृगेन्द्र मिश्र
प्रशिक्षक, फ्रेण्ड्स क्लब

दोस्रो चरणमा राम्रो खेलाडीले रातो कार्ड पाएको छ । हामीलाई घाटा भएको छ । तयारी राम्रो छ । फुटबल हो, स्कोर निकाल्नु पर्‍याे । भोलि हामी स्कोर निकाल्ने कोसिस गर्छौैं । पहिलो चरणमै भनेको छु । फ्रेन्ड्सको लक्ष्य भनेको लिगमा बच्ने नै हो । भोलि (संकटाविरुद्ध) जितका लागि खेल्छौं । लिगमा तीन बराबरीलाई एक जितले जित्छ । त्यसैले हामी भोलि जितका लागि खेल्छौं ।

४‍. रत्न काजी महर्जन
सहायक प्रशिक्षक, एपीएफ फुटबल क्लब

अस्ति (ब्रिगेड ब्वाइज क्लबविरुद्ध) हामीले अन्तिम समयमा गोल खाएर हार्न पुग्यौं । च्यासल राम्रो टोली छ । पहिलेको कमजोरी सुधारेर तयारी पनि गरेका छौं ।

५. आशिष थापा मगर
सहायक प्रशिक्षक, च्यासल युथ क्लब

थ्री स्टारसँग जित्नका लागि खेलेका थियौं । हार्न पुग्यौं । ‘ब्याड लक’ सबै गोल ‘सेट पिस’मा भएका थिए । एपीएफविरुद्ध जित्नको लागि खेल्ने हो । मनोबल उच्च छ । डिसेम्बरपछि सन्तोष साहुखल आउँछन् ।

६. राजेन्द्र तामाङ
प्रशिक्षक, मनाङ मस्र्याङ्दी क्लब

पहिलो खेल (जावलाखेलविरुद्ध) त्यति राम्रो लागेन । सन्तुष्ट छैन । आफैँले हेर्दा पनि सन्तोषजनक थिइन् । जावलाखेललाई नराम्रो भनेको होइन । जावलाखेल पहिलेदेखि नै राम्रो लाग्छ । हिमालयन शेर्पाविरुद्ध अस्ति (जावलाखेलविरुद्ध) जसरी हुँदैन । अस्ति हामीले हतार गरेर आक्रमण गर्‍याैँ । हिमालयन शेर्पाको खेल्ने शैली फरक छ । उनीहरू ‘ब्यालेन्स’ गरेर खेल्छन् ।

७‍. किशोरकुमार केसी
प्रशिक्षक, जावलाखेल युथ क्लब

पुलिससँग छ ।  गर वा मर को अवस्थामा छौं । जसरी मलाई तीन अंक चाहिएको छ ।  त्यसका लागि म जुनसुकै औजारलाई प्रयोग गर्छु । विगतलाई विश्वास गर्दिनँ ।  

८‍. प्रवेश कटुवाल
मछिन्द्र फुटबल क्लब

हामीले सबै तयारी गरेका छौं । ‘भाइटल म्याच’ छ । केही बाँकी छ, तर लगभग सबै तयारी भएको छ । आर्मीसँग तीन अंक लिन सक्यौं भने लिग उपाधि होडमा सजिलो हुनेछ । आर्मी सधैं दाबेदार हो, सबैलाई आदार गर्नुपर्छ । आमीले ४-५ वर्षदेखि एउटै सेट टिम खेलिहरेको छ । पहिलो खेलको प्रदर्शनबाट खुसी छु ।

९‍. युगल किशोर राई
प्रशिक्षक, हिमालयन शेर्पा

हामी ‘सिस्टम’लाई फलो गर्छौं । अभ्यास पनि हामीले गरेका छौं ।

प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार  ६ : १७ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।