Logo

प्रमुख समाचार

कांग्रेस जिल्ला अधिवेशनमा झडप, तीन जना गम्भीर घाइते



दार्चुला । नेपाली कांग्रेस दार्चुलाको अधिवेशनका क्रममा मतगणना स्थलमा दुवै पक्षबीच झडप भएको छ ।

कांग्रेस दार्चुलाको सभापतिमा वर्तमान सभापति ललित सिंह बोहरा र पार्टी उप–सभापति एवं शैल्यशिखर नगरपालिकाका मेयर अमरसिह धामी चुनावी मैदानमा उत्रिएका छन् । महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि विहीबार मतदान भएको थियो ।

मतदान स्थलमा एक अर्काे पक्षविरुद्ध नाराबाजी भएपछि विहीबार राती दुबै पक्षबीच झडप भएको हो । झपडमा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एबं सूचना अधिकारी पुष्करसिंह ऐरीले जानकारी दिए ।

धामी पक्षका कार्यकर्ता राजेन्द्र विष्ट, सुरेश विष्ट र बसन्तबहादुर चन्दको टाउकोमा गम्भीर चोट लागको छ । गम्भीर घाइते तीनै जनालाई उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला अस्पतालका इमरजेन्सी शाखाका स्टाफ नर्स मञ्जु भट्टले जानकारी दिइन् ।

झडपमा संलग्न पाँच जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक ऐरीले बताए । 

बोहराको अग्रता

विहीबार सम्पन्न मतदानको आज विहानदेखि मतगणना सुरु गरिएको छ । क्षेत्र ‘क’ को चार सय मत गणना भएको छ । जसमा सभापति पदमा ललित सिंह बोहराले २ सय ८०  र अमरसिंह धामीले १ सय १२ मत प्राप्त गरेका छन् ।  क्षेत्र ‘क’ बोहराको गृह क्षेत्र भएकाले अग्रता देखिएको छ । क्षेत्र ‘ख’ धामीको गृह क्षेत्र भएकाले सभापति पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

विहीबार भएको निर्वाचनमा कुल १ हजार ४३ मतमध्ये ९ सय ५६ मत खसेको निर्वाचन अधिकृत देवराज अवस्थीले जानकारी दिए । दार्चुला जिल्लाको क्षेत्र नम्बर (क) का ४ सय ५६ मतदाता मध्ये ४ सय १८ मत र क्षेत्र नम्बर (ख) का ५ सय ८७ मध्ये ५ सय ३८ मत खसेको अवस्थीले बताए । 

प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार  २ : ४८ बजे

366
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।