Logo

अर्थ

नेपाल लाइफका अध्यक्ष संघाईलाई सिआइबीले मुद्दा लगाउने

बालुवाटार जग्गाकाण्ड



काठमाडौं । पछिल्लो समय प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले ठूला अपराधको घटनामा कडा अनुसन्धान थालेको छ । सिआइबीले एमालेका पूर्व सांसद ईच्छाराज तामाङको नेतृत्वमा भएको सिभिल सहकारीको करिब ८ अर्ब भन्दा बढी घोटालाको सफल अनुसन्धान मात्रै गरेको छैन । सहकारी ठगीमा ठूला माछा भनिएका तामाङसहित १२ जनालाई एकै साथ पक्राउ गरेर मुद्दा चलाएको छ ।

त्यसैगरी पछिल्लो समय चर्चित बनेको ललिता निवास जग्गा प्रकरणमा पनि सिआइबीले नै एक्सन लिन थालेको छ । सिआइबीले केहीदिन अघि ललिता निवास जग्गा घोटालाका डिजाइनर भनिएका रामकुमार सुवेदी र उनकी पत्नि माधवी सुवेदीलाई नै पक्राउ गरेर मुद्दा चलाएको छ । यो घटनाले ललिता निवास जग्गा घोटालाका ठूला अभियुक्तहरुको मुटुमा काप्न थालेको छ । ब्युरोले ललिता निवासको सरकारी जग्गा हत्याएर आफ्नो नाममा राख्नेहरुलाई पनि पक्राउ गरि मुद्दा चलाउने तयारी गरेको छ । जसमा ठूला व्यापारीक घरानाहरु समेत पर्ने भएको छ ।

बालुवाटारस्थित सरकारी जग्गा हिनामिनामा नेपालको नम्बर एक भनिएको नेपाल लाईफ इन्स्योरेन्सका मालिक समेत रहेको खुलेको छ । उनले सरकारी जग्गा हिनामिना गरि आफ्नो नाममा राखेपछि उनीमाथि समेत सिआइबीले अनुसन्धान गर्नुपर्ने भएको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उनीसहितका जग्गाधनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

तत्कालिन मालपोत कार्यालय डिल्ली बजार काठमाडौंका कर्मचारीहरुको मिलमतोमा गैरकानुनी तरिकाले संघाई सहितका ठूला व्यापारीहरुले बालुवाटार क्षेत्रको २ सय ९९ रोपनी जग्गा हत्याएका थिए ।

आफूलाई देशको सर्वश्रेष्ठ र एक नम्बर विमा कम्पनि दावी गर्दै आएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष रहेका संघाई यसअघि नक्कली कर चुक्ता प्रमाण पत्र पेश गरेको अभियोगमा पक्राउ परेका थिए ।

सरकारी कागजात किर्ते अभियोगमा पक्राउ परेका अभियुक्त रहेका संघाईलाई फेरी सरकारी जग्गा किर्ते गरि हत्याएको अभियोगमा मुद्दा लगाउने सिआइबीको तयारी छ ।

नागरिकता नम्बर २९८३र८८४५ रहेका संघाईले ललिता निवासको सिट नम्बर १०२५–१५ मा कित्ता नम्बरहरु ५०१, ४५७, ५००, ४९७ र ४८९ का जग्गाहरु आफ्नो नाममा पारेका छन् ।

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार १०:५९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।