Logo

विचार / ब्लग

कस्तो साँस्कृतिक क्रान्ति गर्ने, कमरेड ?



नेकपा माओवादी पार्टीको नाम परिवर्तन हुने तथा पार्टीले साँस्कृतिक क्रान्तिको बाटो अँगाल्ने चर्चा चलिरहेको छ ।

पार्टीको नाम अहिले होईन, स्थापना काल मै परिवर्तन गर्नुपर्ने थियो । कुनै यौटा मुलुकको एक जना महान व्यक्तिको नाममा नेपालभित्र राजनीतिक दल खोल्नु चाकडीबाजीको पराकाष्ठा थियो ।

माक्र्स, माओ, लेनिन विश्वका महान दार्शनिक-नेता हुन् । यस विषयलाई न ईन्कार गर्न खोजिएको हो न त यस विषयमा चुनौती दिन खोजिएको हो । कुरो कति मात्रै हो भने उनीहरू जतिसुकै महान भएपनि अर्काे भुगोलका मानिस हुन् ।

उनीहरूको दर्शनलाई स्वीकार गर्नु यौटा कुरा हो तर उनीहरूकै नाममा राजनीतिक दल खोलेर राजनीति गर्नु चाहिँ चाकडीबाज मानसिकता मात्रै हो । माओले राजा महेन्द्रलाई राष्ट्रवादी कम्युनिष्ट भनिरहँदा माओको नाममा राजनीतिक दल खोल्नेहरूले राजा महेन्द्रलाई खलनायकको रूपमा व्याख्या गरे । यसैबाट पनि हाम्रो देशका राजनीतिक दलहरूको बौद्धिक हैसियत प्रमाणित हुन्छ ।

खैर, ढिलै भएपनि पार्टीको नाम बदल्ने कुरा स्वागत योग्य छ । अब राखिने नाममा सकिन्छ यदि भने नेपाली मौलिकता झल्कियोस् । साथै, माक्र्स, माओ वा लेनिनको सट्टामा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह, राजा महेन्द्र, राष्ट्रगुरू योगीनरहरिनाथ, बुद्ध, महागुरू फाल्गुनन्द, खप्तड बाबा, आवाल ब्रह्मचारी षडानन्द आदि कोही एक राष्ट्रपुरूष राख्न नभुल्नुहोला । माक्र्स, माओ वा लेनिनको तुलनामा यी पुरूषहरूले यो देशका लागि योगदान दिएका छन् । विश्वलाई शान्तिको बाटोमा हिँड्ने दर्शन दिएका छन् ।

साँस्कृतिक क्रान्तिको विषयमा बढी चासो छ । कस्तो खालको साँस्कृतिक क्रान्ति गर्ने सोच हो ? विगतमा माओवादी जनयुद्धको नाममा जसरी हिन्दू आस्था, धर्मगुरू, धामी, मन्दिर, गाई, गुरूकुल, संस्कृत भाषामाथि आक्रमण गरियो, त्यस्तै क्रान्ति हो वा अन्य कुनै मोडल हो ?

माओले चीनमा जुन साँस्कृतिक क्रान्ति गरे, त्यसलाई सी जिन पिङले गलतीको रूपमा बुझेका छन् । सीले जुन साँस्कृतिक क्रान्ति गर्ने नीति अँगालेका छन्, त्यो माओवादीको बन्दुके साँस्कृतिक क्रान्ति जस्तो कुरूप छैन ।

सीले चीनियाँ धर्मसंस्कृतिलाई विश्वव्यापी बनाउन चाहेका छन् । माओवादीले धर्मनिरपेक्षताको नाममा नेपाली धर्मसंस्कृतिलाई खुम्च्याउने काम मात्रै गरेका छन् । चीनमा धर्मपरिवर्तन गराउनेलाई १५ वर्ष जेल सजाय छ । नेपालमा जेल सजायको त कुरै नगरौँ धर्मपरिवर्तन गराउनेहरूको दानापानीबाट दलहरू चलिरहेको अवस्था छ ।

चीनमा अनधिकृत रूपमा खोलिएका चर्च तोडिएका छन् । नेपालमा राजनीतिक दलको नेतृत्वकै संलग्नतामा चर्चहरू खोलिएका छन्–गाउँ गाउँमा । सबै धर्मावलम्बीका लागि समान कानून छन् त्यहाँ । तर, यहाँ मुस्लिमका लागि एक खाले कानुन छ; ईसाइको लागि एक खाले अनि नेपाली धर्मसंस्कृति मान्ने समुदायका लागि एक खाले ।

चीनका विद्यालयको पाठ्यक्रममा चीनियाँ धर्मसंस्कृतिको पढाई हुन्छ । नेपालका सरकारी विद्यालयमा बाईबल, येशू र चर्चको खुलेआमा प्रचार हुन्छ । चीनमा क्रिसमसमाथि कडा नियन्त्रण छ; नेपालका निजी विद्यालयहरूमा हप्ता दिन अगाडीदेखि नै क्रिसमस आईसकेको हुन्छ ।

चीनियाँ आयुर्वेद चिकित्सालाई चीन सरकारले नै प्रोत्साहन गरिरहेको छ । नेपाली आयुर्वेद चिकित्साका घाँटी निमोठ्नकै लागि सिंहदरबार वैद्यखाना, जडिबुटी प्रशोधन केन्द्र, गौशालाहरू, पञ्चगव्य चिकित्सालाई कुनामा च्याप्ने काम गरिएको छ ।

त्यसैले, कमरेड प्रचण्डले परिकल्पना गरेको साँस्कृतिक क्रान्तिको मोडेल कस्तो हो ? चीनका नेता सी जिन पिङ झैँ आफ्नो धर्मसंस्कृतिको पक्षमा बलियो ढंगले उभिन सक्छन् वा यो परिकल्पना गोनु झाको दरबार बन्ने हो ।

माओवादीमा भएका हिन्दू नेता-कार्यकर्ताले नेतृत्वसँग यो प्रश्न सोध्ने कि नसोध्ने ? जनयुद्धको बेला साँस्कृतिक क्रान्ति भन्दै धर्मगुरू मार्ने गलत कामको प्रायश्चित गर्ने कि नगर्ने ? माओवादीमा बसेका हिन्दूहरूले गाई मार्ने, संस्कृत भाषा मास्ने, संस्कृत विश्वविद्यालयको जमिन लुट्ने तथा पुस्तकालय जलाउने कार्य गलत थियो भन्दै अध्यक्ष प्रचण्डलाई सार्वजनिक माफी माग्न दवाब दिने नैतिकता राख्छन् कि राख्दैनन् ?

प्रकाशित मिति : पुष १४, २०७८ बुधबार  १ : ३७ बजे

603
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।