नेपाली कामदारलाई इजरायल पठाउन आवश्यक तयारी तीव्र पारिएको अधिकारीहरूले बताएका छन् । इजरेलले लैजान छनौट गरेकामध्ये आधा जतिको सम्झौतापत्र समेत आइसकेको वैदेशिक रोजगार विभागका एक निर्देशकले बताएका छन् । नेपाली कामदारले आकर्षक गन्तव्यको रूपमा लिएको इजरायलमा कामका लागि १,१७५ नेपाली छनौटमा परेका छन् ।
छनौट गरिएकामध्ये ८२१ महिला छन् भने ३५४ जना पुरुष छन् । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक कामदार छनोट गर्न विभागले असोज १६ गते १,६०० जनाको सूची इजरेलको जनसङ्ख्या तथा आप्रवासनसम्बन्धी निकाय पीआईबीएलाई पठाएको थियो । तीममध्ये पीआईबीएले १,१७५ जनालाई चिट्ठा प्रणालीबाट छनौट गरेको हो ।
इजरायलले लग्ने १,१७५ जना नेपाली कामदार छनौट भएको सूचना प्राप्त भएपछि सूची सार्वजनिक गरेको थियो । त्यसपछि विभिन्न कामदारको नाममा नै इजरेलको तर्फबाट सम्झौतापत्र प्राप्त भयो जसलाई स्ट्यान्डर्ड एम्प्लोयमेन्ट कन्ट्र्यान्ट एसईसी भनिन्छ । अहिलेसम्म १,१७५ जनामध्ये ५८७ जनाको एसईसी प्राप्त भएको छ । पटकपटक सूचना जारी गरी जसको नाममा सम्झौता आएको छ उहाँहरूलाई सम्पर्क राखेर र बोलाएर सम्झौतपत्रमा हस्ताक्षर गराइएको छ ।
तीमध्ये सबै आवश्यक कागजपत्र पूर्ण भइसकेका सम्झौतापत्रलाई हामीले नेपालस्थित इजरायली राजदूतावास अन्तर्गतको कन्सुलेट डिभिजन पठाइसकिएको छ । सँगसँगै हामीले रोजगारीका सर्त र सुविधाको विवरण पनि उपलब्ध गराएको छ । सबै कामदारको टुङ्गो कहिलेसम्म लाग्छ र कहिलेदेखि इजरेल पठाउन थाल्ने भन्ने यकिन भने छैन । सबैको भन्दा पनि यो चरणबद्ध रूपमा जाने अवस्था छ । ज्यानुअरीको १५ तारिखदेखि इजरेल प्रस्थानको तयारी गर्नुपर्छ भन्ने हाम्रो सालाखाला योजना छ ।
इजरायल जाने नेपाली कामदारले त्यहाँका हेरचाह केन्द्रमा रहेका वृद्धवृद्धा, अशक्त बिरामीलाई स्वास्थ्य, सरसफाइ, पोषण, हिँड्डुललगायत सुपरभाइजरबाट प्राप्त निर्देशन तथा रोजगार सम्झौताअनुसार सहयोग पुर्याउनुपर्ने हुन्छ । प्रत्येक २४ घण्टामा दुईदेखि तीनवटा शिफ्ट हुने आवेदनमा उल्लेख छ । मासिक पारिश्रमिकको १२.५ प्रतिशतले हुने रकम रोजगारदाताले कामदारको नाममा खोलिएको ब्याङ्क खातामा जम्मा गर्नेछ ।
इजरायली श्रम कानूनअनुसार कामदारको मासिक पारिश्रमिकबाट रोजगारदाताबाट उपलब्ध गराइने स्वास्थ्य बिमाको प्रिमियम रकम, आवास तथा खाना खर्च, सम्पत्ति कर, पानी एवम् बिजुली महसुल र आयकर शीर्षकमा कट्टा गरिनेछ । इजरायल जाने कामदारले हवाई भाडा, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिमसहित विभिन्न शीर्षकमा हुने एक लाख ६५ हजारभन्दा केही बढी रकम आफैँले बेहोर्नुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागद्वारा प्रकाशित सूचनाअनुसार प्रत्येक कामदारको मासिक तलब लगभग १,६०० अमेरिकी डलर हुनेछ । कामदारले सातामा ६ दिन काम गर्नुपर्ने हुन्छ भने त्यहाँको सरकारी नियम अनुसार ओभर टाइमको सुविधा हुनेछ । खानामा हुने खर्च तलबबाट कटाइनेछ भने रोजगार दाताले सुरक्षित र स्वच्छ आवासको व्यवस्था गर्नेछ ।
विभागका अनुसार शुरूमा करार अवधि एक वर्ष हुनेछ र करार अवधि थप गरिएमा अधिकतम अवधि पाँच वर्षसम्म हुनेछ । यो बीचमा हामीले हवाई उडानको यकिन गर्नुपर्ने हुन्छ । आजको मितिसम्म हामीलाई भिसा प्राप्त भइसकेको छैन ।
उनीहरूले अब चाँडै भिसा उपलब्ध गराउँछौँ भनेका छन् । भिसा प्राप्त भइसकेपछि कामदारहरूलाई दुई दिने पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिइन्छ ।





















प्रतिक्रिया