Logo

अर्थ

भोजपुरको चुलाचुली गुफा ओझेलमा



भोजपुर । भोजपुरको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका– ४ दलगाउँमा रहेको धार्मिक तथा पर्यटकीयस्थल चुलाचुली गुफा ओझेलमा परेको छ ।

यहाँका ढुङगामा रहेका देवीदेवताको आकृतिसँगै ढुङ्गाको बनावट सबैका लागि अनौंठो लाग्छ । डाँडामा रहेको यो स्थानको करिब दुई रोपनी क्षेत्रमा रहेका ढुङ्गा खोलाका बगर झै कुदिएका छन् । दलगाउँको दिपेनीमा रहेको यो गुफाभित्र महादेवको मूर्ति रहेको स्थानीयवासीको भनाइ छ ।

परापूर्व कालदेखि नै यो ठाउँका ढुङगा यस्तै रहेका र यो एउटा धार्मिकस्थल भएको स्थानीय हरिबहादुर राईले बताए । गुफाभित्र शिवको मूर्ति पनि छरहेको भए पनि दुर्गम तथा प्रचारप्रसार नभएको कारण यो स्थान ओझेलमा परेको राईको भनाइ छ ,

यस्तो प्रकारका अनौठो धार्मिकस्थल नेपालमा कमै होलान् । हेर्न आउने यहाँको ढुङ्गाको बनावट देखेपछि अचम्ममा परेर आफुहरुलाई सोध्ने गरेको उनले बताए । यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने र जनताको आर्थिक स्तर पनि बृद्धि हुने उनको भनाइ छ ।

यहाँका ढुङ्गामा मादलसमेत बजाउन सकिने स्थानीय शान्तकुमार राईले बताए । अहिले दैनिक रुपमा दुई समूह मानिस आउने गरेको उनको भनाइ छ । यो ठाउँ निकै सुन्दर र अनौंठो प्रकारको भएकाले अहिले आन्तरिक पर्यटक आएर दर्शन गर्ने गरेका र स्थानीयवासीले दैनिक रुपमा पूजाआजा गर्दै आएका उनले बताए ।

गाउँपालिकाले यो धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि विस्तृत परियोजना प्रतिवदेन तयार गरेर काम गरिरहेको जनाएको छ । यसलाई गाउँपालिकाको आर्थिक स्रोतको रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष विजय राईले बताए । यहाँको ढुङ्गाको बनावटले सबैलाई अचम्म पार्ने गरेको र अहिले यसको योजनाबद्ध विकासमा गाउँपालिका जुटेको उनको भनाइ छ ।

संरक्षण तथा सुरक्षाको लागि सो स्थान रहेको ठाउँमा पर्खाल लगाएर घेराबार गरिरहेको छ । यसलाई थप व्यवस्थित गरेर लैजाने तयारीका साथ काम भइरहेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिईन् । यस क्षेत्रको निकै ठूलो धार्मिक महत्व रहेकाले गाउँपालिकाले यसको सम्रक्षणमा जुटीरहेको बताउँदै जनप्रनिधि आएपछि स्थानीयवासीको चाहना अनुसार यो ठाउँको विकासमा जुटेको उनले बताइन् ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार १५:२२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।