Logo

अर्थ

धरासायी कान्तिपुरको मनपरी, यात्रु नभए बिच बाटोबाटै फर्कन्छन्



मनाेज भट्टराइ/ काठमाडौँ । कुनै बेला काठमाडौँको सडकमा छ्याप्छ्याप्ती देखिने ‘कान्तिपुर यातायात’ यतिबेला धरासायी बन्दै गएको छ । काठमाडौंको दुईवटा रुटमा छ्याप्छ्याप्ती देखिने ‘कान्तिपुर यातायात’ यतिबेला धरासायी बन्दै गएको हो ।

कान्तिपुर यातायात काठमाडौँको बल्खु–कलङ्की–नयाँबसपार्क–महाराजगञ्ज चोक हुँदै रत्नपार्कसम्म र अर्को रुट नयाँ बसपार्कदेखि महाराजगञ्ज–पुरानो बसपार्क–नयाँ बानेश्वर–एयरपोर्ट–चाबहिल हुँदै नयाँ बसपार्कसम्म आवतजावत गर्दै आएको थियो । विसं २०५८ मा २३ वटा बसबाट सेवा प्रारम्भ गरेको कान्तिपुर यातायातले राजधानीमा कुनै समय ८० वटा बसमार्फत यात्रुको सेवा प्रदान गर्दै आएको थियो । स्थापनाकालमा काठमाडौँको कलङ्की खसीबजारबाट यात्रुको सेवा प्रदान गरेको सो यातायातले विसं २०५९ मा ३० वटा बस खरिद गरी नयाँ बसपार्कबाट बानेश्वर रुटमा सवारी साधन सञ्चालन गरी यात्रुलाई सेवा दिँदै आएको थियो ।

स्थापनाकालदेखि नै कान्तिपुर यातायात सेवा प्रालिले ‘नन स्टप’ यात्रुलाई सेवा प्रदान गर्दै आए पनि पछिल्लो समय प्रालिको नेतृत्व राम्रो नहुँदा धरासायी बन्दै गएको हो । कान्तिपुर यातायात सेवा प्रालिका संस्थापक अध्यक्ष दीपक अधिकारी र वर्तमान अध्यक्ष हरिशरण केसी ‘हुस’ दुवैजना अहिले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष छन् । दुई रुटमा गरेर झण्डै ८० वटा कान्तिपुर यातायात सञ्चालन हुँदै आएकोमा हाल जम्मा १५–२० सवारी साधनमात्र ओहोरदोहोर हुँदै आएका छन् । बल्खुदेखि रत्नपार्क रुटमा ४९ कान्तिपुर यातायात चल्दै आएकोमा हाल १५–२० वटामात्र यातायात सञ्चालन हुँदै आएको छ । नयाँ बसपार्कदेखि पुरानो बसापार्क, बानेश्वर हुँदै चल्ने कान्तिपुर यातायात भने अहिले पूर्णरूपमा बन्द भएको छ ।

रत्नपार्क हुँदै बल्खुसम्म चल्ने कान्तिपुर यातायातले यात्रु पाएमात्र बल्खुसम्म पुग्ने र यात्रु नभएमा बीच बाटोबाट फर्काउने गरेका छन् ।

पछिल्लो समय कान्तिपुर यातायात चढ्ने थुप्रै यात्रुले यस्तै दुःख भोग्न बाध्य छन् । कान्तिपुर यातायात प्रालिमा लामो समयदेखि चालक एवं सहचालकका रूपमा काम गर्दै आएका एक कर्मचारीले कान्तिपुर यातायातमा पहिलेको जस्तो अहिले यात्रुको चाप नभएको र यात्रु थोरै हुँदा बल्खु नपुर्याई बाटोबाटै फर्काउन बाध्य हुनुपरेको बताए । बल्खुसम्म पुग्दा तेल खर्च उठ्न धौधौ हुने हुँदा बिचबाटोबाट नै फर्काउने गरेको उनको भनाइ छ ।

पछिल्लो समय काठमाडौँको चक्रपथमा महानगर, महासागरलगायतका यातायात कम्पनीले यात्रुलाई सेवा प्रदान गर्दै आइरहेका छन् । कान्तिपुर यातायात सेवा प्रालिका अध्यक्ष केसी २० वर्ष पुराना गाडीलाई विस्थापित गर्ने नियम सरकारले लागू गरेका कारण कान्तिपुर यातायातको सङ्ख्यामा कमी आएको बताउँछन् । कान्तिपुर यातायात पुरानो भएका कारण सडकमा कम भएको उनको भनाइ थियो । कान्तिपुर यातायातका नयाँ बस चाँडै नै खरिद गर्न लागिरहेको उनले बताए ।

कान्तिपुर यातायातमा सुरुमा ३०–३५ व्यवसायीको लगानी रहेको थियो । देशभरका आम यातायात व्यवसायीको नेतृत्व गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको नेतृत्व तहमा बसेका व्यक्तिले नेतृत्व गरेको यातायात प्रालि नै धरासायी बनेपछि अरु व्यवसायीले नेतृत्व गरेको कम्पनी कस्तो होला? प्रश्नचिह्न खडा भएको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार १५:५०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।