Logo

अर्थ

क्यासिनोले बुझाए ८१ करोड रोयल्टी



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट रु ८१ करोड राजस्व सङ्कलन भएको हो ।

रोयल्टी नतिर्ने क्यासिनोले पनि रोयल्टी तिर्न थालेका र अहिलेसम्म खातामा रु ८१ करोड जम्मा भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए ।

अरु केही कम्पनीले रोयल्टी तिर्नका लागि कागजपत्र लगेका र केही दिनमा अरु पनि रकम आउने उनको भनाइ छ ।

मन्त्री आलेले केही हप्ता पहिले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेका पर्यटन विभागले जनाएको छ ।

पर्यटन विभागका अनुसार हालसम्म कम्तीमा पनि १७ कम्पनीले रोयल्टी तिर्नुपर्ने बक्यौता बुझाएका छन् भने गोल्डेन फिङ्गर गेमिङ् जोन प्रालीले नयाँ क्यासिनो सञ्चालन गरेबापत रु दुई करोड ५० लाख रोयल्टी बुझाएसँगै सरकारको खातामा रु ८१ करोड रकम जम्मा भएको हो ।

विभागका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकले तिर्नुपर्ने बक्यौता रकम जम्मा रकम रु एक अर्ब ११ करोड ८४ लाख ४७ हजार मात्रै रहेको छ ।

यसैगरी मन्त्री आलेकै निर्देशनमा क्यासिनोको रोयल्टी वर्षौसम्म पनि नतिर्ने काठमाडौँको दरबारमार्गमा रहेको होटेल याक एण्ड यतीको लाइसेन्स खारेज गरिएपछि अहिले अन्य क्यासिनो सञ्चालकले रकम तिर्न सुरु गरेको विभागको दाबी छ ।

मन्त्री आलेकै निर्देशनपछि विभागले रोयल्टी नतिर्ने क्यासिनो सञ्चालकको तीनपुस्ते विवरण समेत सार्वजनिक गरेको छ । अब छ वटा कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार १३:४१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।