Logo

प्रमुख समाचार

कोरिया जाने पर्खाइमा रहेका युवाहरूलाई छिटो लैजान मन्त्री श्रेष्ठको आग्रह



काठमाडौं । ईपीएस अन्तर्गत रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले कोरियाली पक्षसँग छलफल गरेका छन् ।

मन्त्री श्रेष्ठले मन्त्रालयमा आज कोरियाको मानव संशाधन विकास बोर्ड कोरियाका नेपाल प्रतिनिधि किम उन डकसँग भेट गरी रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा ठूलो सङ्ख्यामा नेपाली युवाहरू रहेकाले छिटो लैजाने वातावरण बनाउन आग्रह गरेका छन् ।

एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले अहिले दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमण तीव्र रूपमा फैलिरहेको बताए । कोरोना महामारीका लागि रोकिएका कामदार छिटो ल्याउन कोरिया सरकार सकारात्मक भए पनि महामारीका कारण समस्या भएको उनको भनाई छ । व्यावसायिक उडान खुला गर्न आवश्यक प्रक्रिया सुरु गरिएको जानकारी दिँदै एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले छिटो सञ्चालन हुने विश्वाससमेत दिलाएका छन्।

यसअघि कोरोना सङ्क्रमणको जोखिमका कारण माघको दोस्रो हप्तादेखि श्रमिक लैजान रोकिएकोमा भर्खरै फेरि खुला गरिएको थियो । झन्डै सात हजार श्रमिक कोरिया जान छनोट भएकोमा कोरोना सङ्क्रमणपछि नौ सय ८४ जना गइसकेका छन् भने आज एक सय ७४ जना जाँदैछन् । यसपछि मार्च १६ गते एक सय ७० जना जानेछन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार १५:०९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।