Logo

प्रमुख समाचार

संखुवासभा दुर्घटना : १० मृतक र पाँच घाइतेको पहिचान खुल्यो



संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा मृत्यु हुने १० र घाइते पाँचजनाको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँसीडाँडाका ३० वर्षीय विपीन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी–६ की अञ्जना कटुवाल र मादी–५ की दीक्षा कटुवाल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । बस मादी–६ को सातघुम्तीनजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

बस तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।

घाइतेको हेलिकोप्टरमार्फत उद्धार
बस दुर्घटनामा परेका पाँचजनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मादी–५ का सुवास गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की रहेका छन् ।

दुर्घटनामा घाइते भएका पाँचजनाकै नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौं लैजाने तयारी भइरहेको प्रहरी प्रमुख सुवेदीले बताए । 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार १३:०१   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।