Logo

विविध

मध्यनेपालको चार वटा सडक कालोपत्रे



लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका चालु आवमा चारवटा सडक कालोपत्रे सुरु गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षमै विभिन्न भागमा रहेका चारवटा कच्ची सडकलाई कालोपत्रे गर्न सुरु गरेको हो । चालू आर्थिक वर्षमा विनियोजित कुल तीन करोड २० लाख रुपैयाँ लागतमा चार किलोमिटर सडक कालोपत्रे हुन लागेको हो ।

भोर्लेटार र रिस्ती करिडोरअन्तर्गतका छुट्टाछुट्टै सडक कालोपत्रे गर्न थालिएको मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले बताए । नगरप्रमुख पाण्डेका अनुसार नगरपालिका मुकामसमेत रहेको भोर्लेटार बजारबाट पाखुरीथोकदेखि रामबजारसम्म पुग्ने एक किलोमिटर सडक कालोपत्रे सुरु भइसकेको छ । यस्तै भोर्लेटारबाट हाँडीखोला हुँदै बाँग्रेबेसीसम्म पुग्ने एक किलोमिटर सडक पनि कालोपत्रे सुरु भएको छ ।

रिस्ती करिडोरअन्तर्गत सोतिपसलबाट पाँडेगाउँ हुँदै जिताकोट पुग्ने सडकको एक किलोमिटर खण्ड पनि कालोपत्रे सुरु भइसकेको नगरप्रमुख पाण्डेले जानकारी दिए । यसैगरी मध्यनेपालको रम्घाबाट समिभन्ज्याङतर्फको एक किलोमिटर सडकखण्डमा पनि कालोपत्रे सुरु भइसकेको नगरप्रमुख पाण्डेले बताए । नगरपालिकाले पछिल्लो नगरपरिषदबाट नगर गौरवको रूपमा चारवटा नमुना सडक छनोट गरी कालोपत्रे सुरु गरेको जनाएको छ । पूर्वाधार विकासतर्फ कालोपत्रेका लागि चारवटा सडकमात्रै छनोट गरेको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार २१:२०   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।