काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी)ले नेपालका लागि इन्धनको मूल्य बढाएर पठाएको छ । बुधबार नेपाल आयल निगमलाई आइओसीले पेट्रोल, डिजेल र हवाई इन्धनको बढेको मूल्यसूची पठाएको हो ।
आइओसीले पेट्रोल लिटरको १६ रूपैयाँ ३७ पैसा बढाएर पठाएको छ । त्यस्तै डिजेलमा २४ रूपैयाँ ५० पैसा र हवाई इन्धनमा १८ रूपैयाँ ९० पैसा बढेर आएको छ ।
यो बढेर आएको मूल्यले आयल निगमको घाटा झनै बढेर जानेछ । यसअघि निगमलाई पेट्रोल लिटरमा १६ रूपैयाँ हाराहारी घाटा थियो । अब यो घाटा ३२ रूपैयाँ नाघेको छ । डिजेलमा पनि ३६ रूपैयाँ बढी घाटा हुनेछ ।
निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ । मट्टीतेलमा एक करोड ५० लाख, हवाई इन्धन आन्तरिकतर्फ एक करोड १३ लाख र बाह्यतर्फ साढे १७ करोड रूपैयाँ नाफा रहेको निगमले जनाएको छ ।
युक्रेनमाथि रूसी आक्रमणपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो प्रभाव परेको छ । कच्चा तेलको मूल्य उकालो लागेसँगै पेट्रोल लगायत इन्धनको भाउ बढेको हो । अर्कातर्फ आयल निगम पहिल्यैदेखि घाटामा चलिरहेको थियो । त्यसैले अहिले नेपाली बजारमा इन्धनको भाउ छोटो समयमै धेरै बढिरहेको छ ।






















प्रतिक्रिया