आमाले भन्नुहुन्छ “अब बिहे गर । उमेर पुग्दैछ ।” म पनि मनमनै केही खुसी हुन्छु भनेँ अलि लजाउछु, डराउँछु । किनकि विवाहको सपना हरेक छोरीको लागि केही विशेष हुने गर्दछ । कसैको छोरी, दिदीबहिनी, श्रीमती, बुहारी त भइन्छ नै । तर नारीको जीवनले तब पूर्णता पाउँछ जब उनी आमा बन्दछिन् । विवाह यो अर्थमा पनि विशेष हुने गर्दछ । म पनि आफूलाई तिम्रो परिवारको सदस्य हु भन्न चाहान्छु । “हामी दुई हाम्रा दुई” भन्ने सरकारको नारालाई म पनि साथ दिन चाहान्छु । तिमी, म ,एक छोरा एक छोरी । छोरी ? छोरी शब्द लिदै गर्दा मनमा एउटा प्रश्न आउँछ । के यो धरतीमा अब छोरी बाँच्न सक्छन् र ? सक्दैनन् ।
छोरी जन्माउनु पुर्व हजार पटक सोच्नु पर्ने अवस्था सिर्जना भएको छ । के हामी हाम्रो छोरीलाई यो समाजमा रहेका नरपिचासहरुबाट बचाउन सक्छौ ? ती राक्षसहरुको गिद्दे नजरबाट लुकाएर कहा राख्ने ? “छोरीलाई हामी कराँते, मार्सलआर्ट लगायतका ट्रेनिङ दिएर आफ्नो सुरक्षा गर्न सक्ने बनाउने छौँ । उसलाई यो समाजमा आफ्नो सुरक्षाको लागि अरुमा भर पर्नु हुन्न है, भनेर सिकाउने छौँ । संस्कार दिने मात्रै नभएर उसलाई शारिरिक रुपमा बलियो बन्न पोसिलो खाना र त्यो अनुसारको शारिरिक व्यामको सानै देखि बानी बसाल्ने छौँ ।” भनेर नभन्नु है प्यारा । ती विकल्पले यहाँ स्थान पाउनु पुर्व नै हाम्री छोरी मारिने छिन् ।
हिजो आजकै कुरा हो । मोरङमा १८ महिनाकी बालिकालाई घर बाटै चोरेर बलात्कार गरि हत्या गरियो । गाँजा खाएका गजेडीहरुले घरमा कोही नभएको बेला उक्त बालिकालाई चोरेर लगे । बनमाराको झाडीमा ती दुई नरपिचासले ती बालिकाको बलात्कार गरे । बालिका चिच्याएपछि रक्सीको बोतले टाउकोमा हानेर मारे । कतै अलिकति टाउको ठोकीयो भने त बच्चाहरु घरै हल्लिने गरि रुन्छन् । ती बालिकाको घाँटीबाट आएको करुणादायी आवाज ती मानवरुपि दानवले सुनेनन । मुठ्ठीभरका ती साना हात, भर्खर आमाबुबा भन्दै गरेको त्यो बोली, हुजुरआमाका पछाडि दौडेर जाने ती पाइला । एउटा घरलाई खुसी दिन जन्मेकी छोरी अठार महिना मै बलात्कारको सिकार भएर मर्नुपर्यो । त्यसैले प्यारा, छोरी चाहिन्छ नभन्नु है ।
अब भन्नुस, कसरी दिने छोरीलाई लड्न कराँतेको प्रशिक्षण, कसरी बनाउने उसलाई शारीरीक रुपमा बलियो । आफ्नो सुरक्षा आफैँ गर्न सक्ने उमेर सम्म पुग्नु अघि नै बलात्कारको सिकार भएर ज्यान गुमाउनु पर्ने अवस्था छ । कसरी म मेरो छोरीलाई आत्मरक्षक बनाउँछु भनु ? अब जन्मने बितिकै छोरीको हातमा तरवार दिनुपर्ने देखिन्छ । तर तरवार बराबर पनि नभएकी छोरीलाई कसरी तरवार दिने ? आमाबुबाले आफ्नो छोरीलाई एक्कै छिन आँखाबाट टाढा राख्दा त बलात्कार हुन्छ भने कसरी सुरक्षा दिने ।
“घरमा तिमी र म मात्रै छैनौ नि । उसका काकाहरु हुन्छन्, ओल्लोपल्लो घरका दाइहरु हुन्छन् । हामी कतै जानै परे उनीहरुले हेरिहाल्छन् । छरछिमेकीमा सबैले सबै ठाउँमा सहयोग गरेका हुन्छन् । हामीले भन्दा बढी माया गर्ने छन् उनीहरुले । कति बेला चक्लेट कतिबेला केके खानेकुरा ल्याइदिरहने छन् । उनीहरुलाई छोरीको सुरक्षाका लागि हामी भनौला नि ।” भनेर पनि नभन्नु होला है हजुर ।
बझाङको खिकालामा १३ बर्षीय बालिकाको बलात्कार पछि हत्या भयो । उनको बलात्कार उनकै घर माथि घर भएका राजेन्द« बोहराले गरेको थिए । गोठालो गएकी १३ बर्षीय बालिकालाई बाटोमा पर्ने खोलाबाटै अपहरण गरेर लगिएको थियो । गाउको पारि पट्टी रहेको सुनसान माडुको पुजास्थल संगै जोडिएको टहरोमा उक्त बालिकाको लास भेटियो । उनको शरिर भरि निलडाम अनि चोटका निसानहरु थिए । उनी चिच्याउन थाले पछि काम गर्न राखिएको औजार हतौडाले टाउको हानेर मारेको रहेछ । उनी भन्नलाई मात्रै १३ वर्षकी थिइन्, शरिर हेर्दा १३ बर्षकी थिइन् भनेर पत्याउनै गाह्रो थियो । परिवारकी जेठी भएका कारण सबैकी प्यारी उनी, विभत्स हत्यापछि यो संसारबाट बिदा भइन् ।
अब भन्नुस्, के यस्तो छरछिमेक र समाजमा छोरीलाई जन्मदिन सकिन्छ ? छोरीहरु आफ्नै घरमा रहेका काका, मामा, दाइहरुबाट समेट बलात्कृत भएका थुप्रै घटनाहरु छन् । एक तथ्याङकका अनुसार धेरै जसो बलात्कारका घटनामा बलात्कारीहरु घर परिवारको भरोसापात्र हुने गरेको छन् । जोसँग आमाबुबाले छोरी सबैभन्दा बढी सुरक्षित हुन्छे भनेर विस्वासका साथ आफ्नो छोरीलाई सुरक्षार्थ सुम्पेका हुन्छन्, तिनीहरुबाट नै धेरै यौन दुव्र्यवहार भोग्नु परिरहेको छ । घरमै बस्न समेट डराउनु पर्ने भइसकेको छ । १३ बर्षीय बालिकाको बलात्कार पछि हत्या गरेकोमा त्यो दानवमा अल्लिकति पनि पछुतो भएको महसुुस कसैले पनि गर्न सकेन्न् । कानुनले दिने सजाय पनि उसलाई कुनै असर गर्ला जस्तो लाग्दैन । आपराधिक मानसिकता भएको व्यक्तिलाई अपराध गर्नू भनेको राम्रो हो भन्ने भ्रम परेको हुन्छ । जसको उपाचार कतै उपलब्ध छैन । त्यसैले प्यारा छोरी चाहिन्छ नभन्नु है ।
छोरी त चाहिन्छ भन्नुहुन्छ भने, कुरुप छोरी जन्माउनु पर्छ होला । ता कि कसैले उसको सुन्दर अनुहारमा एसिड छ्याप्न नपरोस् । विरगञ्जकी मुस्कान खातुन पढ्न जाने क्रममा एसिडको सिकार भइन् । उनको पुरै अनुहार जल्यो । प्रेम प्रस्ताव नसुइकारदा उनको पुरै जिन्दगी नष्ट पार्ने उदश्यले उनि माथि एसिड आक्रमण गरियो । अब सबैले कुरुप छोरी नै जन्माउदा राम्रो हुन्छ होला । ऊ कुरुप भइ भने कसैले उसलाई प्रेम प्रस्ताव राख्ने छैनन् ।
आमाबुबाको मानसम्मानको लागि र आफ्नो लक्ष्यमा पुग्न एकोहोरी हिँडेकी छोरीले प्रेम प्रस्तावलाई नाइ भन्नै पर्ने छैन । र प्रेमका नाममा, प्रतिशोधका नाममा, प्रेम विछोडको नाममा अनुहार जलाइने छैन । तर प्रहरीको तथ्याङक अनुसार बलात्कार जस्तै एसिड आक्रमण पनि परिवारका सदस्य, आफन्त र नजिकका नातेदारबाट हुने गरेको पाइएको छ । तर सडकमा पागल भएर हिडेकी महिलालाई पनि बलात्कार गरेका घटनाहरु पनि त भएका छन् । उनिहरुके सुन्दर भएका कारण बलात्कार भएका हुन् र ? हैन । केवल छोरी, महिला भएका कारण उनिहरुले बलात्कारको सिकार हुनुपर्याे ।
नेपालमा विं.स. २०५८ देखि २०७७ सम्ममा १७,००० बलात्कारका घटना दर्ता भएका छन् । यस्तै ५,००० भन्दा बढी बलात्कारका प्रयासका घटनाहरु दर्ता भएका छन् । जसमा धेरै जसो घटना आफन्त र चिनजानका व्यक्तिबाट भएको पाइएको छ । यस्तै २०७७ साउन सम्ममा गृह मन्त्रालयका अनुसार नेपालमा २० वटा एसिड आक्रमणका घटना भएका छन् । जसबाट १८ जना महिला र दुई जना पुरुष पीडित छन् । आठ वटा बदलाको भावनाले, पाँच वटा प्रेम सम्बन्धमा खटपट आएका कारण र दुई वटा कुरुप बनाउने उदेश्यले एसिड आक्रमण भएको पाइएको छ ।
यस्ता सबै घटनाहरुले हर आमालाई आमा हुनु पुर्व झस्काइ रहेको हुन्छ । आमा भइसके पछि त झन् उसको पिडा र चिन्ताको बारेमा कसैलाई बुझाउनै सकिदैन । हामीले छोरीलाई सुरक्षा दिन सक्छौ कि सक्दैनौ भनेर मात्रै छोरी जन्माउनु पर्नै देखिन्छ । कि त छोरीलाई यौन अंग र स्तन आफुसँग नल्याउनु है छोरी भन्नु पर्ने छ । सन्तानमा छोरा पाउनु भाग्यको कुरा हो भने छोरी पाउनु सौभाग्यको कुरा हो । तर मलाई यो सौभाग्य चाहिँदैन । यस्तो परिवेशमा छोरी जन्माउने आट ‘म’ मा छैन । त्यसैले प्यारा, छोरी चाहिन्छ नभन्नु है ।





















प्रतिक्रिया