स्थानीय तह निर्वाचन सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा यही वैशाख ३० गते हुन गइरहेको छ र यसै चुनावको लागि स्थानीय तह घोषणापत्र तयार गर्ने जिम्मा नेपाली कांग्रेसका प्रभावशाली महामन्त्री गगन थापा नेतृत्वको टोलीले पाइसकेको छ र यसको कार्य युद्घ स्तरमा अघि बढिरहेको कुरा विभिन्न संचार माध्यममा आइरहेको सर्वविदितै छ । यस आलेखमा कांग्रेसको घोषणापत्रमा समेटिनु पर्ने कुरा र कांग्रेस र स्थानीय तहको ऐतिहासिक सम्बन्धमा केही कुरा राख्ने प्रयास गर्नेछु ।
स्थानीय तहको बारे जनजिब्रोमा झुण्डिएको धेरै भएको छैन, २०६३ अघि केहि गिनेचुनेले बोल्ने गर्थे भने मधेश आन्दोलनपछि संघियता ,स्थानीय तहको अवधारणाले व्यापक रुप लिन थाल्यो भने २०७२को संविधानले अपनाएपछि यसले २ करोड ९२ लाख नेपालीले बुझ्ने भोग्ने मौका पाए भन्ने भाषा धेरैले बोल्ने गर्छन् तर कुरा अलि भिन्न छ, हामीले जाने बुझेको कुरा भन्दा धेरै फरक छ ।
स्थानीय तहको अवधारणा र नेपाली कांग्रेसको सम्बन्ध लोकतन्त्र र कांग्रेस जत्तिकै पुरानो, अन्योन्याश्रीत र प्रगाढ छ । नेपाली कांग्रेसले २००७ को जनक्रान्तिको अघि नै संकल्प गरेर हरेक जिल्लामा चुनिएका प्रतिनिधि रहने एउटा पञ्चायत निर्माण गर्ने कुरा गरेर स्थानीय तहको अवधारणा नेपाली समाजमा जान अन्जानमा भित्राएको थियो ।
नेपाली कांग्रेसको र देशकै प्रथम जननिर्वाचित सरकार , विपि कोइरालाको नेतृत्व रहेको सरकारले स्थानीय स्वायत्त शासन मन्त्रालय, २०१६ मा गठन गरी विकेन्द्रीकरणको प्रारम्भिक ईकाइका रुपमा देशभर ग्राम पंञ्चायत नगरपालिका खडा गर्ने निर्णय गर्यो र त्यस कार्यले स्थानीय स्वायत्त शासनको जगको आधारशिला राख्यो जुन समयको कालखण्डमा स्थानीय सरकार÷तहको उदयमा कोशेढुङ्गा सावित हुन पुग्यो ।
स्थानीय ऐन, कानुन बनाउने र स्थानीय निर्वाचन गर्ने सवालमा पनि अरु दलभन्दा नेपाली कांग्रेस धेरै अघि रहदैँ आएको छ । २०४९मा नेपाली कांग्रेस नेतृत्वको सरकारले सफल रुपमा ऐतिहासिक स्थानीय निर्वाचन सम्पन्न गर्यो र राम्रो नतिजाका साथ जनअनुमोदन पनि भयो । स्थानीय स्वायत्त शासन ऐन, २०५५ आउनुमा पनि नेपाली कांग्रेसको उल्लेखनीय भूमिका रहेको छ ।
१२ औँ महाधिवेशनमा र दोस्रो संविधानसभा निर्वाचन २०७० मा नेपाली कांग्रेसले वैधानिक रुपमै स्थानीय तहलाई अबलम्बन गरेर आज र भोलि पनि निरन्तर स्थानीय निकायलाई सबल, सुदृढ र अधिकार सम्पन्न बनाउन मरिमेटेर लागेको छ र लागिरहनेछ ।
चुनावमा राजनीतिक मुद्दा बिना, उडन्ते गफ बिना पनि जित्न सकिन्छ भनेर युक्रेनमा भोलोमोदिर जेलेन्स्कीले राष्ट्रपतिमा जितेर र आम आदमी पार्टीले दिल्लीमा र पंजावमा दुई तिहाइका साथ जितेर पुष्टि गरिसकेका छन् । तर बाहिरको अभ्यासले हाम्रो समाजलाई खासै फरक पार्ने देखिदैन । यहाँ आकाश छुने, तारा झार्ने खालका भाषण र नारा नलगाइ चुनाव जित्ने सम्भावना नै देखिदैन । नेपाली मतदातामा सैद्धान्तिकभन्दा व्यवहारिक कुरामा भोट दिने पद्धति बस्न अझै केही दशक लाग्ने कुरा राजनीतिक विश्लेशकहरुले बारम्बार बताउने गर्दछन् ।
१०० दिनमा सय काम भनेर आकर्षक नारा लगाएर चुनाव जित्ने महानगरका मेयरको हविगत, रेल र पानि जहाज भनेर भनेर चुनाव जित्ने नेताको हालत हामीले देखि भोगि रहेकै छौ । कम्युनिष्टहरु टुटे फुटेको अवस्थामा नेपाली कांग्रेसले यसै पनि सहजताका साथ यस चुनाबमा ५१% भन्दा धेरै तहहरु सजिल्यै जित्ने देखिन्छ । यसका बाबजुद पनि अव यस चुनावमा कांग्रेसले जनमानस सामु लिएर जानु पर्ने मुद्दाका बारेमा केही छलफल गर्नु यहाँ मनासिव देखिन्छ :
१) कृषिमा आधुनिकिकरण
सुन्दा सामान्य लाग्न सक्छ तर नेपालको पहिलो आवश्यकता कृषिमा आधुनिकिरण नै हो । कुनैबेला देश बाहिर खाद्यान्न निर्यात गर्ने देश, देशमा बढिरहेको जनसंङ्ख्या र कृषिलाइ व्यवस्थित गर्न नसक्दा भान्सामा प्रयोग गर्ने हरेक खाद्यान्न बाहिरी देशबाट आयात गर्नु पर्ने अवस्थामा पुग्यो जसले गर्दा देशको अर्थतन्त्र धर मर धर मर अवस्थामा पुगेको छ ।
आफ्नो देशको भुभाग मध्य १३% भुभाग खेतीयोग्य जमिन भएको मेक्सिको विश्वको विभिन्न देशलाई गहुँ, मकै लगायत खाद्यान्न निर्यात गर्छ तर हामी २१.८८ % खेती योग्य जमिन भएर पनि अझै ३४ बढी जिल्लामा खाद्य असुरक्षाको डर बोकेर बसिरहेको छौँ । यस्तो अवस्थामा सबै दलको दायित्व कृषि उत्पादन बढाउन लाग्नु नै हुनेछ र आम जनमानसको चाहना पनि यही हो ।
कांग्रेसले जल, जमिन, जंगल, जडिबुटी, जलाधार लगायत क्षेत्रहरुको व्यवस्थापनमा ध्यान दिन जरुरी छ । यसको लागि कांग्रेसले सुलभ कृषि ऋण, बाह्रै महिना सिंचाइ योजना, कृषि विमा, एक वडा एक कृषि राहत कोष, सामुदायिक कृषि सेवा केन्द्र, एक गाँउ एक कोल्डस्टोर, सहकारी तथा कृषि औजारमा भारी अनुदान दिनुपर्ने देखिन्छ ।
२) पर्यटन पर्वद्वनमा विशेष पहल
प्राकृतिक सुन्दरताको अनुपम र सांस्कृतिक विविधताले भरिपूर्णले देश नेपालमा पर्यटकको आकँडा हेर्दा अहिलेसम्म दयनीय छ । अब आउने नेतृत्वले हरेक महानगरपालिका, उप–महानगरपालिका, र नगरपालिका र गाउँपालिकामा भएका आफ्ना ऐतिहासिक, धार्मिक–सांस्कृतिक र प्राकृतिक सम्पदालाई पर्यटन आकर्षणको केन्द्र बनाउन आवश्यक नीति नियमको तर्जुमा गर्नुपर्ने छ ।
एउटा शक्तिशाली समिति बनाएर देश भरिका आकर्षक गन्तव्यलाई प्रचार प्रसार गर्ने र त्यस समितिलाई हरेक पालिकाले सहयोग गर्ने कानुनी दायित्व सिर्जना गर्नु पर्दछ । आफ्ना क्षेत्रमा पर्यटक स्थलमा होटेलहरु सञ्चालन गर्न विशेष पुर्वाधार खडा गर्न पनि स्थानीय निकायले घोषणापत्रमै स्पष्ट मार्ग चित्र बनाउनु पर्दछ ।
३) स्थानीय कर
पहिलो कार्यकालमा कुनै पनी स्थानीय तह स्थानीय करबाट मुक्त रहन सकेनन् । कतै सागमा कर त कतै कुखुरामा कर लगाएर यो ५ वर्ष ७५३ वटै स्थानीय तह चर्चामा रहे अझ भन्नु पर्दा बदनाम भए ।
अब बन्ने नेतृत्वले उद्दमीहरुलाई दोहोरो करको मार नपर्ने गरी नीति नियम बनाउनु पर्छ र कृषकहरुलाई सकेसम्म सबै कुरामा अनुदान र कर छुट दिनु पर्छ । कर छली र चुहावटलाई रोक्न चुस्त र सरल बनाउन कानुन कडासँग पालना गराउन पर्दछ । सहज र समयमा कर तिर्ने सबै नागरिकलाइ छूट र सम्मानको व्यवस्था गर्न चुक्नु हँुदैन ।
४) शिक्षामा सुधार
सार्वजनिक विध्यालयको अवस्था दिनानुदिन सुध्रिनुको सट्टा खस्किदै छ । चाहे त्यो सुगम होस् या दुर्गम ! शिक्षा नै विकासको पहिलो आधार भन्ने थाहा पाउँदा पाउँदै पनि यसमा उल्लेखनीय सुधार हुन सकेको छैन । यसको लागि शैक्षिक पुर्वाधारको उचित विकास हुन जरुरी छ र हरेक विध्यार्थीले माध्यमिक तह सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्नु पर्दछ ।
घोषणापत्रमै व्यवस्था गरेर कांग्रेसले एक वडा एक पुस्तकालय बनाउनु पर्दछ र साथमा विकट र अत्यन्तै न्युन चापिय वस्तिमा सामुदायिक आवासीय विद्यालय बनाउने प्रणका साथै कार्यान्वयनमा लग्नु पर्दछ । यसका साथै रोजगारमुलक तथा स्व–उद्यम प्रवर्द्वन गर्ने प्राविधिक एंव सिकाई शिक्षालय, छात्रवृत्तिको उचित योजना लगायत लिएर आउनु पर्दछ ।
५) स्वास्थ सेवा
उचित र प्रभावकारी स्वास्थ सेवाको अभावमा धेरै नेपालीजनले धेरै समस्या झैल्दै आइरहेका छन् । कतै झाडा–पखालाको औषधि पाइरहेका छैनन त कतै ज्वरोको सिटामोल पनि पाइरहका छैनन । यस्तोमा केन्द्रले भन्दा स्थानीय सरकारले प्रभानकारी स्वास्थ सेवा दिन मेहनत गर्न पर्ने देखिन्छ ।
हरेक गाँउपालिकामा २५ शैयाको अस्पताल, नगरपालिकामा ५० शैयाका अस्पताल, हरेक वडामा तलवी नर्स स्वंयसेवक, प्रत्येक नागरिकको अनिवार्य स्वास्थ वीमा, सुत्केरी आमालाई मनग्य भत्ता लगायतका काम नीति बनाएर नै लागु गरिनु पर्दछ ।
६) स्थानीय सडक
हिजो आज हरेक घरमा सडक पुर्याउने होडबाजिका कारण पहाडमा भू–क्षय र पहिरोले पिरोल्दै गइरहेको छ यस्तोमा स्थानीय सडक बनाउदा स्थानीय सडक बनाउन गापा वा नपाबाट सिफारिस लिन पर्ने व्यबस्था गर्ने र परामर्श निःशुल्क दिने नीति ल्याउन जरुरी छ । सबै सदरमुकाम पक्कि सडकले जोड्ने, वडा– वडामा सडक सन्जाल बनाउने काम वैज्ञानिक हिसावबाट अघि बढाउनु पर्ने छ ।
७) विपद् व्यवस्थापन
प्राकृतिक प्रकोप र विपद्ले हरेक वर्ष लाखौँको क्षति पुर्याउदा पनि हामीले अझै प्रभावकारी रुपमा यसको व्यवस्थापन गर्न सकेको छैनौं । यसको लागि विपद् व्यवस्थापन कोषको हरेक वडामा निर्माण गर्नु पर्ने देखिएको छ । यसका साथै जनचेतना जोगाउने कार्य पनि गर्नु पर्दछ र सुरक्षित वस्ती विकास, भवन संहिता लगायतका कुरा पनि गर्नु पर्दछ ।
८) सुशासनको प्रत्याभूतिको विश्वास
सिंहदरवार गाँउमा गयो त भनियो तर स्थानीय तहले सेवा सुबिधा भन्दा गाँउ गाँउमा भ्रष्टचार लग्यो र अहिले जनताले यस प्रवृत्तिको अन्त चाहेका छन र यसको लागी नेपाली कांग्रेस प्रतिवद्द रहनु पर्दछ । सार्वजनिक सेवा, नगर प्रहरीको व्यवस्थापन र स्थानीय अभिलेख र तथाङ्क को उचित व्यवस्थापन गर्नु पर्ने देखिन्छ ।
यति मात्र नभएर पुर्वाधार विकास, जेष्ठ नागरिक एवं अपागंता भएका व्यक्तीलाई सुविधा, सिंचाइ, उर्जा, वनको उपभोग, वनको उचित उपयोग, जलवायु परिवर्तन लगायत कुरालाई नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा समेटे जनताको मन मुटुमा पस्न सकिने कुरा देखिन्छ ।





















प्रतिक्रिया