काठमाडौं । सर्वोत्तम स्टीलको नाममा अवैध कारोबार हुने गरेको पाइएको छ । कम्पनीका सञ्चालकहरु विष्णुप्रसाद न्यौपाने, राजेश अग्रवाल र एक जना भारतीय लगानीकर्ताको संलग्नतामा कम्पनीले अवैध कारोबार गर्ने गरेको पाइएको हो ।
भारतीय लगानीकर्ताले अवैध रुपमा सामानहरु ल्याउने र सर्वोत्तम स्टीलको गोदाममा त्यसरी भित्र्याइएका अवैध सामानहरु राख्ने गरेको पछिल्लो समय प्रहरीकै सूचनाले पुष्टि गरेको छ । कम्पनीले स्टीलको नाममा भारतबाट भन्सार राजश्व छली ठूलो मात्रामा सामान भित्र्याउने गरेको केही समय अघि प्रहरीले पत्ता लगाएको थियो । वीरगंज नाकाबाट भन्सार राजस्व छली गरि अवैध रुपमा नेपाल चित्र्याइएको दुई करोड ३० लाख मूल्य बराबरको सामान प्रहरीले ट्रक सहित बरामद गरेको थियो ।
चितवनको खैरेनी नगरपालिका वडा नम्बर–८ बाट प्रहरीले भन्सार छलीको कपडा र फलामको छड बरामद गरेको थियो । प्रहरीले दिएको जानकारी अनुसार वीरगंजबाट भित्रिएका चार वटा ट्रक चेकजाँच गर्दा ८६ पोका भन्सार छलिको कपडा बरामद गरिएको हो ।
फलामको छडभित्र सो कपडा लुकाएर ल्याएको अवस्थामा इलाका प्रहरी कार्यालय खैरेनीका प्रहरी निरीक्षक सुवास भट्ट नेतृत्वको टोलीले सो सामान बरामद गरेको थियो । ट्रकबाट एक करोड ४५ लाख मूल्यको कपडा र ८८ लाख मूल्य बराबरको फलामको छड प्रहरीले बरामद गरेको थियो ।
प्रहरीले ना. ६ख ११३, ना. ६ख ११६६, ना. ६ख ५०६१ र ना. ७ख ९२३४ नम्बरको ट्रक तथा सो ट्रक चालकलाई नियन्त्रणमा थियो भने ट्रक र सामान सहित तीन करोड ४९ लाख मूल्याङ्कन गरेर वीरगंज भन्सार पठाइएको थियो । तर ‘सेटिङ’ मा भन्सारबाट ट्रक छुटाइएको छ ।
यो कम्पनी अन्य विवादमा समेत मुछिएको कम्पनी हो । श्रोतका अनुसार २०७८ भदौ १२ गते यहीँ कम्पनीमा स्टील उद्योगको चिम्नी खसेर ५ जना भारतीय नागरिकको मृत्यु भएको थियो । पछि एक जनाको करेन्ट लागेर समेत मृत्यु भएको थियो ।
पूर्वमन्त्री अफताम आलमको जस्तै मुद्दा चल्न सक्ने सम्भावना देखिएपछि कम्पनीले पीडित परिवारलाई ८ लाख रुपैयाँ दिएर यो घटनालाई ढाकछोप गरिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष मोहम्मद ग्यासुदिन मियाँले ५ जनाको मृत्यु भएको र ८ लाख दिएर केश मिलाएको बताए ।
यस कम्पनीका विषयमा अन्य प्रमाणहरु समेत अनलाइनपानालाई प्राप्त भएका छन् । यसलाई हामी निरन्तर फलोअप गर्नेछौं ।





















प्रतिक्रिया