१२ वर्षमा खोलो फर्किन्छ कि फर्किदैन तर १३ वर्षमा सुदुरपश्चिमको डोटीमा भने विमान फर्किएको छ । झण्डै १३ वर्षसम्म विमान नआएपछि गौचरणमा रुपान्तरण हुन थालेको डोटी विमानस्थलमा १६ यात्रुसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई सवार विमान समिट एयरको विमान अवतरण गरेको हो । मन्त्री भट्टराई धनगढी विमानस्थलबाट उडेको विमानबाट डोटी पुगेका हुन् ।
धनगढी–डोटी हवाई उडान सेवाको परीक्षण उडानका लागि मन्त्री भट्टराई सहितको टोली डोटी विमानस्थल पुगेको हो । डोटीपछि आजै बैतडी र बझाङमा समेत परीक्षण उडानको उद्घाटन हुँदैछ ।
परीक्षण उडान सफल भए विमान कम्पनीलाई धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा उडान सुरु गर्न आह्वान गरिने धनगढी विमानस्थल कार्यालयले जनाएको छ ।
बर्षाैदेखि बन्द रहेका सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थालको पुनःनिर्माण काम सकिएसँगै परीक्षण उडानको तयारी थालिएपछि प्रदेशमा उत्साह बढेको छ ।
अहिले सुदूरपश्चिमका पहाडी जिल्ला गुणस्तरिय स्वास्थ्य सेवा नहुँदा धेरैले अकालैमै ज्यान गुमाउनुपर्ने अवस्था छ । सडक मार्गबाट प्रदेशको अस्थायी राजधानी धनगढी पुग्न निकै समय लाग्ने गरेको छ ।
बन्द अवस्थामा रहेका पहाडी जिल्लाका विमानस्थलमा हवाई सेवा सञ्चालन भए स्वास्थ्य सेवामा समेत पहुँच सहज हुने विश्वास गरिएको छ । यसैबीच सरकारले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा नियमित रुपमा हवाई उडान सञ्चालन गर्ने तयारी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा नियमित रुपमा हवाई उडान सञ्चालन गरिने बताउनु भएको हो । धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री भट्टराईले तत्काल पहाडका ३ जिल्लामा हवाइ उडान सेवा सञ्चालनमा आउन लागेको जानकारी दिए। उनले बाँकी जिल्लामा पनि छिट्टै विमान पुर्याउने योजना रहेको बताए ।
पहाडी ३ जिल्लाको हवाई उडान सेवाको परीक्षण उडानका लागि धनगढी पुग्नु भएका मन्त्री भट्टराईले पहिलो चरणमा बैतडी, डोटी र बझाङमा विमान सुरु हुने जानकारी दिए ।
त्यस लगत्तै दार्चुला र अछाममा पनि हवाई उडान सेवा सुरु गरिने उहाँले बताए । बैतडी, डोटी र बझाङमा सातामा २ दिन विमान पु¥याउने लक्ष्य रहेको बताउदै उहाँले यसबाट सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लावासी लाभान्वित हुने बताए ।
प्रतिक्रिया