Logo

अनलाइनपाना खोज

अबको गर्भनर को ?

कांग्रेस भित्र गभर्नरका रुपमा चर्चामा रहेका सम्भावित पात्र को-को हुन् ?



पहिलो गर्भनर हिमालय शमशेर जबरा हुँदै १७ औँ गर्भनरको रुपमा २०७६ चैत्र २४ गते नियुक्त भएका महाप्रसाद अधिकारीलाई अर्थमन्त्री जनार्दन शर्माको ठाडो प्रस्तावमा शेरबहादुर देउवाको मौन सहमतिमा मन्त्री परिषद्को बैठकले २०७८ चैत २७ गते निलम्बन गर्ने बित्तिकै अब अर्को गभर्नर को बन्ने त ? भनेर चर्चा सुरु भैसकेको छ ।

नेपाली कांग्रेसको नेतृत्वमा सरकार भएको र अर्थमन्त्री समेतको राजीनामा माग भै रहेको अवस्थामा अब आउने गर्भनर सकेसम्म कांग्रेसमै आवद्ध वा निकट रहेका अर्थविद् हुनुपर्छ भनेर एउटा खेमा लागिसकेको छ । चुनावको मुखमा बिग्रिरहेको अर्थतन्त्रलाई ठिक ट्रयाकमा लग्नको लागि कांग्रेसीहरू देउवालाई निरन्तर दबाब दिइरहेका छन् ।

आउने स्थानीय चुनाव र प्रतिनिधी सभाको चुनावमा यस कुराले प्रत्यक्ष रुपमा असर पर्ने हुनाले देउवा आफैँ पनि सजग रहेका छन् भन्ने कुरा पनि संस्थापन पक्षका नेताहरुले बताइरहेका छन् । देउवा आफैँ पनि गर्भनर हटाउने जनार्दन शर्माको प्रस्तावले ब्याक फायर गरेकोमा अब्बल र जनताले रुचाउने र अर्थतन्त्रको बारेमा राम्रो जानकारी भएको अर्थविद्लाई गर्भनर नियुक्त गरेर आफ्नो गल्ती सच्याउने प्रयासमा लागेका छन् भनेर पनि नेताहरु भन्दै छन् ।

यस समयमा कांग्रेस वृत्तमा र आम जनमानसमा अबको गर्भनरको रुपमा चर्चाको अघिल्लो पङ्क्तीमा डा. स्वर्णीम वाग्ले, रामेश्वर खनाल, विद्याधर मल्लिक, डा. जगदिशचन्द्र पोखरेल लगायतको चर्चा भइरहेको छ । चर्चामा रहेका यी अर्थविद् वा सम्भावित गर्भनरका बारेमा केही लेख्नु यहाँ मनासिव देखिन्छ ।

स्वर्णीम वाग्ले

स्वर्णीम वाग्ले, धेरै नेपाली अझ राजनीतिक र अर्थसंग सरोकार राख्ने मानिसलाइ चिनाइरहनु पर्ने नाम हैन । वाग्ले वि.सं. २०३१ मा गोरखाको बुंकोटमा जन्मिएका हुन् । अहिले देश विदेशमा एक कुशल अर्थशास्त्रीको रुपमा ख्याति प्राप्त छन् । उनले विभिन्न स्वदेशी र विदेशी संस्था, नियोगमा काम गरेको लामो अनुभव छ ।

वाग्लेले लामो समय विश्व बैंकमा लामो समय काम गरेका थिए र यसका साथै उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन् । सानै उमेरमा उपाध्यक्ष भएर उत्कृष्ट काम गरेको वा नतिजा दिएकोमा अझैसम्म उनको प्रशंसा भइरहेको हुन्छ । हाल अर्थशास्त्री वाग्ले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)को एशिया प्रशान्त क्षेत्रीयको प्रमुख आर्थिक सल्लाकारको रुपमा काम गरिरहेका छन् ।

विश्व बैंकजस्तो ठूलो वित्तीय संस्थासँग राम्रो सम्बन्ध भएका र विदेशी संस्थाहरुबीच पनि राम्रो परिचय भएकाले डुबिरहेको अर्थतन्त्ररुपी ढुङ्गा वाग्लेले मात्रै पार लगाउन सक्छन् भन्ने एउटा ठूलो जमात रहेको छ ।

रामेश्वर खनाल

खनाल नेपाल सरकारका पूर्वअर्थसचिव, कुशल अर्थशास्त्री र असल व्यवस्थापक हुन् । उनले आफ्नो पदवाट किन राजिनामा दिए भनेर अझै सम्म पनि खोलेका छैनन् तर पनि तत्कालिन अर्थमन्त्री भरतमोहनको अनुचित दबाब र टसलले गर्दा राजिनामा दिए भन्ने कुरा त्यसबेला चर्चामा रहेको थियो । पूर्वप्रशासक खनाल बाबुराम भट्टराई प्रधानमन्त्री हुदाँ ऊनले आर्थिक सल्लाहकारको रुपमा काम गरेका थिए र उनको कार्यकाललाई सफल कार्यकालको रुपमा अझै सम्झिने गरिन्छ ।

उनी अर्थतन्त्र सुधारका सवालमा निरन्तर खोज अनुसन्धान गरेर विभिन्न पत्र–पत्रिकामा ओज पूर्ण लेख लेखिरहन्छन् । नेपालको अर्थतन्त्रको अन्तरङ्ग जाने बुझेकाले खनालले पनि गभर्नरको रुपमा राम्रो काम गर्ने सक्छन् भन्ने आम बुझाइ रहेको छ ।

विद्याधर मल्लिक

मल्लिकको बारेमा धेरै मानिसलाई जानकारी नहुन सक्छ, मल्लिकको जन्म २०१४ मा बिराटनगरमा भएको हो । ऊनी एक सफल र कुशल अर्थ सचिवको रुपमा चिनिएका व्यक्ति हुन् । मल्लिकले पूर्वराष्ट्रपति रामवरण यादवको अर्थ, विकास र व्यवस्थापन विशेषज्ञको रुपमा पनि काम गरेका थिए ।

यसका साथै मल्लिकले पहिलो संविधान सभा विघटन पश्चात गठीत प्रधान न्यायाधीसको खिलराज रेग्मीको नेतृत्व गठित सरकारमा सघींय मामिला, स्थानिय विकास तथा स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार सम्हालि सकेका छन् ।

डा. जगदीश चन्द्र पोखरेल

त्यती चर्चामा नआए पनि डा. जगदिश पोखरेल राष्ट्रिय आयोगका पूर्वउपाध्यक्ष हुन् र यसका साथै उनि नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पूर्व सदस्य पनि हुन् । अर्थतन्त्रमा राम्रो पकड भएका पोखरेल पनि गभर्नर बनाइनुपर्छ भन्ने आवाज पनि कांग्रेस भित्र उठिरहेको पाइन्छ ।

गभर्नरलाई निलम्बन गरेर चुनावको मुखमा आलोचित देउवाले सबल र कुशल अर्थशास्त्रीलाई यसपाली गभर्नरको रुपमा अघि नबढाए वा राजदुतमा जस्तै ज्वाइँ, साला, सम्धीलाई नियुक्ति दिए र लगातार यस्तै रबैया देखाए उनले मात्र हैन आगामी निर्वाचनमा उनको पार्टी पङक्तीले समेत ठूलो मुल्य चुकाउनु पर्ने परिस्थिति नआउला भन्न सकिन्न ।

प्रकाशित मिति : बैशाख ४, २०७९ आईतबार  ११ : ४४ बजे