Logo

कोशी प्रदेश

मोरङको उर्लाबारी ९ मा सुन्दरको बलियो दाबेदारी



भौगलिक बनावट अनुसार उर्लाबारी जति सुगम छ, यसका केही वडाहरु दूरदराजकै गाउँ जस्ता प्रतित हुन्छन् । मोरङकै दोस्रो ठूलो सहरमा गनिने उर्लाबारी, मुख्य चौकलाई आधार मान्दा ‘गुलजार’ देखिए पनि आसपासका गाउँठाउँ अझै दुर्गम छन् । उर्लाबारी नगरपालिकाको मुख्य चौकबाट करिब ४ किमी दक्षिण लागेपछि ९ नम्बर वडा प्रारम्भ हुन्छ । धुलो छिचोल्दै सिंगो वडा घुमेमात्र ९ नम्बर वडाको समग्र अवस्थिति बुझ्न सकिन्छ । मुलतः खेती किसानीमै रुमलिएका छन् ९ नम्बर वडाका बासिन्दा ।

युवाहरु कतिपय विदेशिएका छन्, कोही व्यापार व्यावसाय र श्रमसँग जोडिएका छन् । जीवन त जसोतसो चलाएकै छन् स्थानीयले । अन्यत्रझै गरिब र धनीबीचको खाडल यो वडामा नहुने भन्ने कुरै भएन । तर, गाउँको विकास ज्युँका त्युँ छ । गाविस हुँदाको अवस्था र नगरपालिका हुँदाको अवस्थामा तात्विक फरक छैन । अर्थात् विकासको दृष्टिले पिछडिएको वडाभन्दा फरक पर्दैन, ९ नम्बरलाई । यही वडाको समग्र मुहार फेर्न अग्रसर भएका छन् – सुन्दर श्रेष्ठ । उनी एक संघर्षशील युवा तथा सामाजिक अगुवा हुन् ।

९ नम्बर वडाको खोपीडाँडामा जन्मे हुर्केका सुन्दरलाई आफ्नो गाउँलाई आफ्नै नामजस्तो ‘सुन्दर’ बनाउने हुटहुटी छ । आसन्न स्थानीय तहको निर्वाचनमा उर्लाबारी वडा नम्बर ९ को वडाध्यक्ष पदको बागडोर सम्हालेर गाउँको मुहार फेर्ने उनको अर्जुनदृष्टि छ । नेकपा एकिकृत समाजवादीका तर्फबाट उम्मेद्वारी दिने तयारीमा रहेका सुन्दरले खानेपानी, शिक्षा, कृषि, स्वास्थ्य र सडकलाई प्राथमिकतामा राखेर मतदाता भेटघाटको कार्यक्रम तय गरिएको बताए ।

उर्लाबारी –९ विगतदेखि नै वामपन्थीको अभेद्य किल्लाको रुपमा रहँदै आएको छ । गत स्थानीय चुनावमा यस वडामा नेकपा एमालेका उम्मेद्वार प्यानल सहित विजयी भए । चुनाव त उठ्ने तर एमालेको गढमा जित हात पार्न कति सहज होला ? भन्ने प्रश्नमा सुन्दरले भने, ‘मतदाता भनेका कसैका बँधुवा मजदुर होइनन्, जनता बुझ्ने भैसकेका छन्, परिस्थिति फेरिएको छ, म जित्नकै लागि चुनावी मैदानमा उत्रिएको हुँ ।’ जनसेवालाई ‘वैधानिकता दिन’ जनप्रतिनिधि हुने रहर साँचेको पनि उनले सुनाए ।

भन्छन् – ‘पौडीमा पारंगत हुन हेरेर मात्रै नहुने रहेछ, पोखरीमा डुबुल्की मार्नुनै पर्छ ।’ उनका अनुसार जनताकै प्रतिनिधि भएर समाजसेवामा सक्रियता देखाउँदा औचित्य हुने रहेछ । एमाले र कांग्रेसबीच प्रतिद्वन्द्विता ठानिएको वडा ९ मा सुन्दर श्रेष्ठको उम्मेद्वारी चर्चालाई निकै अर्थपूर्ण तरिकाले हेरिएको छ ।

सामाजिक कामबाटै जनप्रिय बनेका सुन्दरको बलियो दाबेदारीले अरु दल र समुहका लागि ‘फलामको चिउरा चपाउनु सरह’ आँकलन गरिएको छ । समाजसेवाबाट राजनीतिमा फड्को मारेसंगै सुन्दर ९ नम्बर वार्डमा जति चर्चित छन्, अरु सायदै होलान् । त्यसो त, सुन्दर आबद्ध दल नेकपा एकिकृत समाजवादीले सत्ता गठबन्धनमा रहेर उम्मेद्वारी दिने बताउँदै आएको छ । नेपाली कांग्रेस, माओवादीलगायत दलसंगै मिलेर नेकपा एसले उम्मेद्वारी तय गर्ने अवस्थामा उर्लाबारीको ९ नम्बर वडा कसको भागमा पर्ने भन्ने यकिन छैन ।

उर्लाबारी ९ को धरातलीय अवस्था फरक रहेको उल्लेख गर्दै एक स्थानीय भन्छन् – ‘गठबन्धन नै भएर चुनावमा होमिदा पनि यहाँ कांग्रेसले एमालेलाई हराउने छनक देखिदैन । सामाजिक कामको लिगेसीपनि जोडिएकाले गठबन्धनका तर्फबाट सुन्दर श्रेष्ठलाई उम्मेद्वार बनाउनु उपयुक्त देख्छु ।’ विगतदेखि नै एमाले हावी हुँदै आएको उर्लाबारी ९ मा सामाजिक योयदानले गर्दापनि श्रेष्ठको पक्षमा जनलहर देखिएको छ । भए गठबन्धन, नभए एकल उम्मेद्वारी दिंदापनि सुन्दर श्रेष्ठले जित्ने उनले ठोकुवा गरे ।

जन्मथलोको सेवा उनले सामाजिक काम मार्फत जेनतेन गरेकै छन् । असहाय दीन दुःखीलाई मात्रै नभएर सामाजिक काममा उनले कतिसम्म आर्थिक खर्चिए वडावासी बेखबर नरहेको उनी सुनाउछन् । टोलटोलमा सडक बत्ती जडान, विद्यालयमा जस्तापाताका छाना, खेलकुदका सामग्री वितरण, पुर्वाधारको क्षेत्रमा बाटोघाटो निर्माण उनका व्यक्तिगत सहयोगले वडामा भरथेग गरेको छ ।

भर्खरै मात्र स्थानीय पोखरीबाँधको सडकबत्ती जडानमा २० वटा ‘भ्यापर लाइट’ र तार सहयोग गरे, उनले । ‘अझै केही तार र बत्ती अपुग भएको कुरा आएको छ’, सुन्दरले भने – ‘पुर्वाधार निर्माणमा अब गुरु योजना बनाएरै लाग्नुपर्ने देखियो ।’ तत्काल सहयोग गरिहाल्नुपर्ने ठाउँमा सहयोग गर्ने तर दुरगामी महत्वका कुरामा योजना बनाएरै सहयोग गर्ने उनको भनाई छ ।

आफ्नो उपस्थितिमै सहयोग गर्न पाउँदा खुसीको सीमा नरहने उनी बताउछन् । पछिल्लो पटक ९ नम्बर वडाकै भोटेपुलमा विश्रामस्थल निर्माण गरिदिए, सुन्दरले । त्यहाँ पत्रपत्रिका पढ्ने व्यवस्था मिलाए पनि दिएका छन् । विश्रामालयमा बसेर पत्रिका पढिरहँदा पाठकहरु कति मग्न हुन्छन् त्यो त उनलाई थाहा छैन । तर, उनीहरुलाई हेरेर आफु भने मग्न हुने गरेको सुन्दर बताउँछन् ।

एउटा विश्रामालय मात्रै नभएर हरेक सार्वजनिक थलोमा नागरिकले स्वच्छन्दता महशुस गर्ने वातावरण बने त्यहि नै समृद्धिको सुचक हुने उनी ठान्छन् । ‘हरेक व्यक्तिका हाँसोखुसी नै समृद्धि हो तर समाजका समग्र आकांक्षा पहिल्याउनु जरुरी छ । समृद्धि खोज्न अन्त जानु पर्दैन जस्तो लाग्छ’, उनले सुझाए ।

सुन्दरको विगत नै के थियो र ? परालको छाना र सण्ठीको बेरा भएको झुप्रो घरमा उनको बाल्यकाल बितेको थियो । घरको आर्थिक अभावमा जर्जर भएको उनी सुनाउँछन् । ‘घरमा अहिले के खाउँ, भरे के खाउँको अवस्था थियो’ उनी भन्छन् – ‘त्यो पनि एउटा पाठशाला रहेछ, जहाँको सिकाइ आज कामयावी भएको छ । दुःखका अतीतले नै संघर्ष गर्न सिकायो ।’ जुङ्गाको रेखि नबस्दै उनी भविश्यको खोजिमा काठमाडौं हानिएका थिए ।

सबैसँग मिलनासर र घुलमिल हुने स्वभावपुगका सुन्दर काठमाडौंमा ठेक्कापट्टा र हाउजिङ व्यवसायमा जोडिन पुगे । आज उनी आफ्नै ल्याकतले आर्थिक रुपमा सुदृढ भएका छन् । उर्लाबारी ९ को खोपिडाँडा र काठमाडौंमा उनका घर छन् । ‘चाहेको भए युरोप र अमेरिकामै डेराडण्डा जमाइसकेको हुन्थे’ सुन्दरले भने – जुन अवस्थामा रहौ, मलाई मेरो गाउँ नै प्रिय छ, म बाँकी जीवन यहीँ समर्पित गर्न चाहन्छु ।

भक्तपुरको सल्लाघारीमा उनको व्यवसायिक फर्म छ । सुन्दरले आफ्नो आयको केहि हिस्सा समाजसेवामा खर्चिदै आएका छन् । राजधानीलाई ‘जीवन संघर्ष’ बनाएका सुन्दरले यता गाउँमा भने माछा र कुखुरा पालन सुरु गरेका छन् । कृषि तथा पशुपालनलाई व्यवसायिक रुपमै अघि बढाउन उनी लागेका छन् । नामले मात्रै हुदैन्, पहिचान पनि हुनुपर्नेमा उनको जोड छ । कृषिकर्मले नै वास्तविक पहिचान दिलाउनेमा उनी विश्वस्त छन् । भन्छन्– ‘चुनावमा जितेपछि अर्को पहिचान थपिएला ।’

प्रकाशित मिति : ४ बैशाख २०७९, आईतवार १२:५९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।