काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी र नेता रामचन्द्र पौडेलबीच राजनीतिक द्धन्द्ध चर्को छ । उनीहरु दुवै तनहुँका हुन् । पौडेल सानो चित्त भएको नेता भएकाले आफूलाई यसअघि संसदीय निर्वाचन हराउनुमा जोशीकै महत्वपूर्ण भूमिका रहेको भन्दै आएका छन् । जोशीले पौडेलसँग त्यस्तो दुश्मनी नगरे पनि पौडेल भनें जोशीसँग निकै फायर छन् ।
पौडेल तत्कालीन नेकपाका साझा उम्मेदवार कृष्णकुमार (किसान) श्रेष्ठसँग तनहुँ –१ मा लज्जास्पद ढंगले पराजित भए । पौडेलले तनहुँमा २०४८ सालदेखि नै संसदीय निर्वाचन जित्दै आएका थिए । उनी पार्टीको अवस्था जता बलियो छ त्यताबाट उम्मेदवार बन्दै आएका थिए । श्रेष्ठ अहिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा छन् ।
उनी श्रममन्त्री पनि हुन् । जोशी पनि उम्मेदवार बन्ने सोचमा थिए । पार्टीले आधिकारिक उम्मेदवार नबनाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । पौडेलको नै सेटिङमा अन्तिममा जोशीको उम्मेदवारीमा प्रश्नचिन्ह उठेको थियो । तनहुँ कांग्रेसका धेरै नेताहरु भएको ठाउँ हो । पौडेल, जोशी, नेताहरु शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्दराज भट्टराई, ध्रुव वाग्ले, युवा नेताहरु दीपक भट्टराई, आनन्दराज त्रिपाठीलगायतका त्यहाँ राजनीति गर्दै आएका छन् ।
जोशीले २०७४ को संसदीय निर्वाचनमा अन्तरघात गरेको भन्दै उनलाई पार्टीले ५ वर्षका लागि कारबाही गरेको छ । जोशीको तनहुँमा बलियो पकड छ । उनी समानान्तर जिल्ला कार्य समिति चलाउँदै आएका छन् । अहिले जोशी आफ्ना छोरा दीपकराज जोशीलाई मेयर बनाउने दाउमा छन् ।
दीपक कांग्रेसले टिकट दिएमा पार्टीबाटै निर्वाचनमा जाने र नदिए नेकपा एमालेको समर्थनमा व्यास नगरपालिकामा मेयरमा उठ्ने भएका छन् । यसबारे शनिबार एमालेसँग छलफल भएको थियो । एमालेले कुराकानी हुँदै गरेको जनाएको छ । जिल्लाका अन्य क्षेत्रमा जोशी पक्षले एमालेलाई सघाउने जनाएको छ ।
व्यासमा अहिले कांग्रेसकै मेयर र उपमेयर रहेका छन् । १४ वटा वडा रहेकामा नेकपा एमालेले एउटा वडामा मात्र वडाध्यक्ष जितेको छ । जोशी र एमालेबीच तालमेल भएपछि कांग्रेस भनें अत्तालिएको छ ।




















प्रतिक्रिया