Logo

प्रमुख समाचार

फर्जी ऐनामा पाल्सी आँखा




“साहित्य समाजको ऐना हो ।” “हँ ! ऐनाले त उल्टो पो देखाउँछ त ?” “समाजका कुनकप्चेरामा सधैं सुल्टा काममात्र कहाँ हुन्छन् र बालाजी ?” यो आजको भेटघाटको निचोड हो । भेटघाट पनि के भन्नु कुरौटे गफको एउटा पयो हो ।

हामी नियमित छलफल गर्छौं । कुरा काट्छौं अरूका । आफूलाई कस्ले नराम्रो भन्छ र ? सुकुलमा बसेर ऐनादेखि मैना सम्मका कुरा गर्न कम्ता मजा आउँदैन । नियमति भेटको मीठो बाहना ।

‘खाजा मीठो नेवारी’ यो हाम्रो कीर्तिपुरे विश्वास हो । कहिले देवढोकामुनि सेल्फी झोलुङ्गे पुलनेरको जङ्गली खाजाघर । कहिले झिंगु छें । कहेले हिलटाउन नेरको आइला घर । कहिले बोसन डाँडाको आलु बखडाको लोकल पाउने लामादाइको माटेघर । समय समयमा अड्डा फेरिरहन्छौं हामी अचेल ।

कुराको कुनै मिलेको तान हुँदैन हाम्रो । मिलेको शृङ्खला पनि हुँदैन । कुरा उठ्छन् । टुट्छन् हराउँछन् । भदौको इन्द्रधनुषजस्तै । नबाँधिएको बाँधमा हाम्रा कुरा साहित्य हुने गर्छन् । आइ.पि.ओ खुलेको कुरा हामी खास गर्दैनौं ।

विश्वविद्यालका कुरा गर्छौं । विभागका कुरा गर्छौं । हिजोका कुरा गर्छौं । इतिहासका कुरा गर्छौं । वासुदेव त्रिपाठी, ताना शर्मा, माधव पोखरेल, मोहनहिमांशुको ‘खुखुरी माथि एक चोक्टा बादल’ को कुरा गर्छौं, दयाराम श्रेष्ठको गम्भीरता, मोहनराज शर्माको एक्स्प्रेसलाई भुल्दैनौं । कृष्णहरि बरालको मृदुलताको कुरा गर्छौं । “ध्रुवचन्द्रलाई के तोड परेर चट्ट जागिर छोडेहोलान् ?” भनेर लख काट्छौं र आफैंमा ध्रुवचन्द्रको भुत सवार भएको भुल्दैनौं ।

त्रिपाठी, ताना र ध्रुवचन्द्रले काम गर्ने अड्डाका तन्नेरी पो त हामी कम मान्छे हो र ? ल मेरा हात सुङ् भनेर मख्ख पर्छौं ।
खासमा सुनौलो इतिहासको कुरा गर्छौं । एउटा विरादरीको कुरा गर्छौं र धेरै गुनासा गर्छौं । पछिल्ला पुस्ताका कुरा गर्छौं । सुनिनसक्नु कुरा काट्छौं अरूका । आलोचना गर्छौं साथीहरूका । आफ्नो पो कसैले सानो टिप्पणी गरे कम्परा तातेर आउँछ ।
निकै योजना बनाउँछौं । हिजका योजना भुल्छौं र पुनः नयाँ योजना बनाउँछौं ‘भोको घर’ नाटकको राजेन्द्रले जस्तै । एक चुली योजनाका कुरा गर्छौं । गफमा नेपाली साहित्य सिद्धान्त बनाउँछौं । आगमनात्मक तरिकाले नेपाली साहित्यको पठन गरेर निचोट निकाल्छौं । आफ्नै साहित्य–शास्त्र बनाउने कुरा गर्न पनि भ्याउँछौं । खासमा गफले चिउरा भिजाउँछौं ।

हामीबाट समयले । विभागले । पछिल्लो पुस्ताले कत्रो अपेक्षा गरेको छ भनेर मनको अभिमानलाई मस्त पोख्छौं पनि । र आफू चानेचुने मान्छे नभएको कुराले जिऊ फुलाउँछौं ।

भेटेपछि घण्टौं गफिन्छौं । सजिलै छुट्दैनौं । भर्खर प्रेममा पर्न लागेका टिनेज केटाकेटी जस्तै । एउटा कुरा बिट मार्छौं र पुनः सुरु गर्छौ । घरबाट आएका एक–दुई कल काटिदिन्छौं । खासमा परिवारका अव्यवहारिक पात्र बनिदिन्छौं ।

छोरीको बर्थ डे केक खै ? भन्ने प्रश्नले रुझ्छौं । गाला रातो–पिरो बनाउँछौं । अनुहार रातिनुको रहस्य अरू केही होइन ? शङ्का गर्ने छुट सबैलाई छ । घरको खटनपटनको कुरा गर्छौं ।

फोन बजिरहेको वास्ता गर्रदैनौं । “तरकारी लिएर आऊ भनेर खोइ ?” “भयो अब उतै खाएर आऊ सक्दिन म अब पकाउन ।” “साग धुने पानी पनि छैन घरमा ?” यताबाट धम्की मात्र होइन त्यो भन्दा ठूलो मिसायल आउँछ । सहन्छौं । हाँसेर टारिदिन्छौं ।
कस्मम ! बुढी ! हामीले राम्रा गफ गरेका छौं । नराम्रो कुरा गर्दैनौं । नराम्रो कुरा खाँदैनौ? जे कसम् खा भने पनि सक्छु । “पचास चोटि झुटो कसम खानेलाई के कस्मक खुवाउनू ।” “अब फोनमा किरिया खाने होइन तुरुन्त घर आऊ ! यस्तै उर्दी आइरहन्छ घरबाट । फेरि बदामले अल्झाउँछ “पिनट साँधेको खाऊँ बालाजी ?”

कुरा चिल्लिएर ऐनाबाट चइनामा पुगिसको थाहा पाउँदैनौं ।
कुरो साहित्यकै आउँछ धेरै । आज समाजलाई झुक्याउने ऐना हो, फर्जी ऐना, झुटो ऐना हो साहित्य । त्यतिले थामिन्नौं ।
जाँचको कपीमा सुरुमा ‘साहित्य समाजको ऐना हो’ भनेर लेखेको उत्तरपुस्तिकाको कुरा गर्छौं । टक्क आँखा हड्याउँछौं । दिमाग अड्याउँछौं । ठीकै लेख्यौं हामीले । कक्षामा जे पढाएका थिए गुरुले त्यही ओकल्यौं । आज पनि कथा त उही हो । हामीले कक्षामा जे भन्यौं विद्यार्थीले त्यही उतार्छन् । एक प्रकारको सुगारटाइ । मनग्य नम्बर पाउँछन् केटाकेटीले । मख्क पर्छन् । सर्टिफिकेट पाउँछन् । जीवन जिउने कला सिक्न त मौजुदा विश्वविद्यालय भत्काउनु पर्छ । हैट ! विप्लवका कार्यकर्ता भन्लान् भनेर डराउँछौं !

कुरा म निकाल्छु अचेल “सिर्जनाले सङ्क्रमित छु ।” यो महेशको शब्द हो । तर सिर्जनामा समाजको चित्र उतारिएन किन ? फुटेको दर्पण परो कि ? एउटा क्लिसे बनिसकेको समाजको दर्पणले मलाई सुत्न दिँदैन अचेल किन ? सिर्जनामा समाजलाई दुरुस्त देखाउने प्रयास गरें देख्दिन । मरिगए देख्दिन । पात्र टिप्दा झुपडी छोडिन्छ । झुपडी लेख्दा कसौडीको कालो छोपिन्छ । त्यो पनि देखाउने प्रयास गर्छु ताप्केको बिँड फुस्किएर परेको प्वाल छोपिन्छ । “ऊ त्यो लाखेको मुकुटभित्र अर्को अनुहार छैन र ? ऐनामा त मुकुट मात्र देखियो त । मरिगए देखाउन सकिएन समाजलाई “अनि कसरी दर्पण भयो र साहित्य ?”

पात्रका निजी अङ्ग, व्यक्तिगत नितान्त लाज र भोगाइ त्यो पनि समाजको विधि र निषेधले ऐनामा देखाउन मिल्दैन । देखाउन सकिँदैन पनि । अर्को निष्कर्ष निस्कन्छ “सबै भावना ऐनामा देखिँदैनन् सायद ।”

कतैबाट नाप्दा पनि ऐनामा सहमति जुट्दैन । गफ तातिँदै जान्छ । पढ्दाका गफ । पढाउँदाका गफ । विद्वान गुरुहरूका पुस्तक पढिन्जेल हामीले साहित्यलाई समाजको दर्पण मानिरह्‍यौं । जुन दिन सिर्जनामा पाइला राखिन्छ यो प्रमाणित हुँदो रहेछ केको दर्पण हुन्थ्यो यो त वास्तविकता देखाउन नसकिने पनि कसरी दर्पण हुन्छ र ? कसरी ऐना हुन्छ ? एउटा पुरानो मान्यताले दिमाग भुटिएकोमा आत्तिन्छौं हामी । ग्लानि पनि भयो सधैं विद्यार्थीलाई त्यही भन्यौं हामीले । आफूले जे जानेको थियौं । आज आएर भन्नु छ सरी हाम्रा चेलाचेली साहित्य समाजको ऐने होइन । मान ! मरिगए होइन ।

ऐनाको काम त दुरुस्त देखाउने हो । साहित्यमा पोलिस लगाएर कुँदिएका शब्दले वास्तविक चित्र कसरी देखाओस् ? समाजका स्थापति मान्यतालाई मात्र साहित्यमा ल्याएर केको ऐना ? कल्पनाले लेपन गरेर ल्याएको कुरा उभ्याएर कसरी ऐनाको काम गर्ला र ? अहँ समाजका सपाट चित्रण साहित्यमा दुरुस्त हुन सक्दैनन् र सतप्रतिशित टिपोट हुन नसकेको कुरा उभ्याएर दर्पण भन्ने व्याख्या गर्नु एक प्रकारको वेइमानी हो । जालसाजी हो । साहित्य छिटपुट टिपिएको कल्याककुलुक कुरा मात्र हो जो आंशिक हुन्छ जसलाई कसरी दुरुस्त देखाउन सकिएला र ? कलालाई नढाटीकन देखाउन सक्ने ऐना भन्न सकिएला र ? न्यापूर्ण तरिकाले सही चित्र प्रस्तुत गर्न नसकिने भनेकाले त्यो फर्जी टिपोट, काल्पनाले सजाएको टिपोटलाई इमान्दार ऐना भन्न सकिँदैन । ऐनाले उल्टो देखाउँछ नि । अझ ऐनाले सही देखाएको हो तिमीलाई उल्टो लागेको पो हो कि । ऐना अगाडि नउभिएको बस्तुको कल्पना पनि होइन र साहित्य ? अनि कसरी भन्न सकिन्छ साहित्य समाजको ऐना हो भनेर ?

नयाँ घर, पागल बस्ती, सेतो धरती, पल्पसा क्याफे, कर्णाली ब्लुज, अपरिचित अनुहार समाजको एक सानो टुक्राको सजाएर टिपिएको टिपोट हो । समाजलाई जस्ताको तस्तै दुरुस्त देखाउने सक्ने क्षमता यी प्रसिद्ध आख्यानमा देखिएनन् त्यसैले समाजको ऐना होइन एक अंशको वा एक चिम्टी सत्य मात्र हुन् कि ? आधा सत्य देखाउने ऐनालाई सपाट दर्पण कसरी भन्नु र ? समाजको पूर्णतः छवि नउतारिएको साहित्य ऐना बन्न सक्ला र बालाजी ? उनी गम्भीर बन्छन् । दार्शनिक व्याख्यामा डुब्छन् । सापेक्षित कुराको दृष्टान्त दिन्छन् । म अपलक उनको गम्भीर चेहेरा हेरिउहन्छु ।

लेखकको उत्तरदायित्व समाजलाई छर्लङ्ग देखाउनु मात्र होइन त्यसपछि पनि एउटा मकसद बाँकी रहन्छ भने समाजलाई ऐना भनेर पन्छिनु एक प्रकारको अर्ध–बुझाइ पो हो कि । भनुँ न आंशिक बुझाइ मात्र हो कि । एक समग्रतामा ऐनामा देखाउन कहाँ सक्नू ? समाजको मूर्त चित्र मात्र देखिन सक्ला है ऐनामा । समाज मनोविज्ञानका अमूर्त कुरा देखाउन कसरी सकिएला र ? सकिँदैन ! त्यसमा पनि मसाजभित्रका परिष्कार गर्नु पर्ने असङ्गतिलाई सही मार्गमा ल्याउनु पर्ने भएकाले साहित्य समाजको ऐना होइन भन्ने बुझ्न र बुझाउन ढिलो भएन र ?

‘ओल्ड म्यान एन्ड सि’ मा समुद्रको पिंध देखिएन । ‘वेटिङ फर गोदो’मा खासमा पर्खेको कुरा प्रस्टिएन । “हाफ गर्लफ्रेन्ड’मा अङ्ग्रेजी नजानेको माधवको अव्यक्त भाषा दर्पणमा पढिएन । ‘मधु मालतिको कथा’मा अन्तिममा गौरी कहाँ गएकी हो ? ऐनाले ठ्याम्मै बताएन ।

हामी अलिक स्याल हुइँयामा बाँच्यौं कि ? हामी क्लिसे बोकेर बाँच्यौं कि ? एउटा गायत्री मन्त्र “ऊँ भूर्भुव स्व‘” मात्र रटेर बाँच्यौं कि ? खासमा साहित्य समाजको ऐना हो भन्ने लाग्दै लागेन मलाई त । बालजीले प्रश्‍न गरे किन ? ऐनाले हाम्रा सर्वाङ्ग देखाउन सक्दैन नि । मूर्त चित्र देखाए पनि मनको पिंध देखाउन सक्दैन नि साहित्यमा । खासमा समाजको सपाट चित्र देखाउन सक्दैन नि । बिल्कुल साहित्य समाजको ऐना होइन । आंशिक प्रतिबिम्ब मात्र देखाउँछ ऐनाले । हामीले पुरातन कुरा पढाइ राखेका त छैनौं ? र त्यसको प्रतिलिपि उतारेर हामी दीक्षित भइरहेका छैनौं ? एकचोटि आफ्नो मनलाई छामी हेर्नू त ।

खासमा हामीले एउटा खराब परम्परा बसाएका छैनौं । समाजका ऐना कसरी हो र साहित्य ? त्यही लेखेर डिग्री पास भएको होइन ? म एग्रेसिभ भएर भन्छु “केको डिग्रीमात्र विद्यावावरिधिमा नि त्यही लेखेको छु मैले त ।” जे लेखे पनि हामी साहित्यको डाक्टरै हो । ऐनाले सबै कुरा देखाउँदैन । उल्टो देखाउने । फल्स अनुभूति दिने वस्तुलाई समाजको ऐना खसरी भनूँ र ? सरी ‘लिटिरेचर इज नट अ मिरर अफ सोसाइटी ।’

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार १२:०४   :  बजे

582
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।