भक्तपुर । विगत एघार दिनदेखि भइरहेको छैठौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९ को समापन भव्यताको साथ सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा हजारौं भक्तपुरवासीको उपस्थिति रहेको थियो ।
“नयाँ वर्ष नया सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत” भन्ने मूल नाराका साथ नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा सुरु भएको भक्तपुरमा छैंठौ भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९ चैत २४ गते देखि वैशाख ४ गते सम्म भक्तपुरको सल्लाघारी स्थित तिनकुने चौरमा संचालन भएको थियो ।
उक्त समापन कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले यस्ता मेला महोत्सवले देशमा आर्थिक वृद्धिदर बढ्ने, मुलुक भित्रनै रोजगार सिर्जना हुने र मुलुक समृद्धको बाटो तर्फ अगाडि बढ्ने भन्दै आयोजकहरुलाई हौसला प्रदान गरेका थिए । त्यस्तै आसन्न स्थानीय निर्वाचन आफ्नो बुद्धि विवक प्रयोग गरेर मत प्रदान गर्न भक्तपुरवासिहरुलाई आव्हान गरेका थिए ।
महोत्सवमा करिब ४ लाख आगन्तुकहरू भ्रमण गरेको र ५ करोड बराबरको महोत्सव अवधिभर कारोबार भएको आयोजक औधोगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले बताए । लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्ड नेपाल सस्थाको संयुक्त आयोजनामा भक्तपुरमा छैठौ पटक “छैठौ भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९” आयोजना गरेको थियो ।
समापन समारोहमा बोल्दै महोत्सवका संयोजक दिपक थापाले प्रमुख अतिथि, अतिथिहरु आयोजक संस्थाहरु, व्यापारीहरु, सहयोगीहरु लगायत सम्पूर्ण मेला अवलोकनकर्ताहरुलाई धन्यबाद दिदैं आगामी वर्षहरुमा समेत यस्तै हौसला, साथ सहयोगको अपेक्षा राखेका छन् भने महोत्सवले भक्तपुर जिल्लालाइ चिनाउनुको साथै आर्थिक कारोबारलाई चलायमान बनाउदै कोभिडबाट थालिएको अर्थतन्त्रलाइ उकास्न मद्दत पुर्याएको बताएका छन् ।
छैठौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९ मा भएको डान्स आइडलको विजेता सन्जु तामाङ बन्न सफल भएकी थिइन् भने फर्स्ट रनरअप मोनालिशा धामी, सेकेण्ड रनरअप विपिना तामाङ, बेष्ट प्रफरमेन्स करुणा खड्का र पंक्चुअलिटीको टाईटल रुना सुनामले जित्न सफल भएका थिए । त्यसैगरी विजेताहरुलाइ ट्रफि लगायत नगद पुरस्कार प्रदान गरिएको थियो । उक्त डान्स आइडलको निर्णायकमा संचारकर्मी, गायक डान्स कोरियोग्राफर तथा निर्देशक सुमन कुमार श्रेष्ठ र डान्स कोरियोग्राफर इन्द्र बिसुन्के रहेका थिए ।
महोत्सवको केही रकम महोत्सव आयोजक संस्था मार्फत मृगौला पीडितलाइ आर्थिक सहयोग गरिएको कुरा औधोगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी गराएका छन् । उक्त महोत्सवमा दर्जनौ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहेको थियो ।





















प्रतिक्रिया