Logo

टिप्पणी

हावाबाट फैलिने ‘भियतनाम भेरियन्ट’को कोरोना भाइरस कति खतरनाक ? 



सन् २०१९ को डिसेम्बरदेखि सुरु भएको कोरोना भाइरसले विश्‍व्यापी महामारीको रुप लिएको पनि डेढ वर्ष भइसकेको छ । कोरोना महामारीबाट १७ करोड १० लाख ५६ हजारभन्दा बढी संक्रमित भएका छन् भने ३५ लाख ५७ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना संक्रमणविरुद्ध विभिन्‍न खोपहरु बनेका भए पनि यसलाई पूर्णरुपमा नियन्त्रणमा लिन सकिएको छैन । 

कोरोना भाइरसले आफ्नो स्वरुपलाई फेर्दै नयाँ-नयाँ रुपमा आक्रमण गरिरहेको छ । कोरोनाको भारतमा भेटिएको डबल म्युटेन्ट भेरियन्टले भारतको स्वास्थ्य प्रणालीलाई नै चुनौती दिने गरि संक्रमण फैलिएको हो । भारतका पछिल्लो समय कोरोना संक्रमणको दर घट्दै गए पनि संक्रमणको जोखिम भने कम हुन सकेको छैन । भारतमा फेला परेको कोरोना संक्रमणले हाल नेपालमा पनि दोस्रो लहर फैलिइरहेको छ । 

यही समयमा भियतनाममा नयाँ भेरियन्ट फेला परेको छ । भारत र बेलायतमा फेला परेको कोभिडको नयाँ भेरियन्टको मिश्रण रहेको हाइब्रिड रुप फेला परेको छ । भियतनामको स्वास्थ्य मन्त्रालयले भारत र बेलायतमा पहिलो पटक फेला परेको दुई भेरियन्टका विशेषताहरु संयोजन भएको हाइब्रिड भेरियन्ट पत्ता लगाएको हो । भियतनामका स्वास्थ्यमन्त्री नुग्वेन थानले नयाँ भेरियन्टलाई “धेरै खतरनाक”भएको र यो भाइरस हावाबाटै सर्ने भएकोले ठूलो क्षति पुर्‍याउनसक्ने बताएका छन् । 

भियतनामा कोरोनाको चौथो लहर फैलिएको र अहिलेको नयाँ भेरियन्टले आद्योगिक क्षेत्रमा तीव्ररुपमा फैलिनसक्ने बताइएको छ । विश्‍व स्वास्थ्य संगठनले पहिलो चारजनमा यसको संक्रमण देखिएपछि भियतनामका स्वास्थ्य अधिकारीहरुसँग मिलेर ‘भाइरस इभोलुसन वर्किङ ग्रुप’ले संक्रमणको अवस्थाबारे अध्ययन गरिरहेको जनाएको छ । 

 विज्ञका अनुसार अनुसन्धानले फाइजर र एस्ट्राजेनेका खोपहरुको दुई डोज यस संक्रमणविरुद्ध प्रभावकारी हुने सुझाएका छन् । कोरोना संक्रमणको दोस्रो लहरको सामना गरिरहेको नेपालमा पनि यो संक्रमण फैलिने जोखिम रहेकोले पूर्वसावधानी अपनाउनुपर्ने स्वास्थ्य विज्ञहरुले सुझाएका छन् । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका प्रमुखसमेत भाइरोलोजिस्ट शेरबहादुर पुनले ‘भियतनाम भेरियन्ट’ को संक्रमणको अवस्थाबारे अध्ययन जारी रहेकोले अहिलेसम्म यसले कति धेरै क्षति गर्छ भन्ने आँकलन गर्न नसकिएको बताए । 

उनले अनलाइपानसँग भने, “हावाबाट फैलिने भनिएको यो भाइरस नेपालमा आइपुगेमा स्थिति भयावह हुनसक्ने भएकोले नियन्त्रणका लागि सरकारले आजकै दिनदेखि तयारी थाल्नुपर्छ ।” 

उनले हावाबाट सर्छ भन्दैमा त्यति धेरै आत्तिन नहुने बताएका छन् । उनले भने, “हावाबाट फैलिन्छ भन्दैमा आत्तिनु पर्दैन ।  यदि एउटै कोठामा संक्रमित छ भने उसको नजिक भएको मान्छेलाई सर्ने सम्भावना रहन्छ ।”  हावाकै भरमा कोरोना या भियतनाम भेरियन्ट सर्छ भनेर डराउन पर्ने अवस्था नभएकोले यस्तो कुरामा डराउने नभइ सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।

दक्षिण एसियाली मुलुकहरुमात्रै हालसम्म कोरोनाका विभिन्‍न सातवटा भेरियन्टहरु फेला परेका छन् । जसमा B.1.222, B.1.619, D614G, B.1.1.7 यूके भेरियन्ट हुन् भने B.1.351, A.23.1 and B.1.617.2 इन्डियन भेरियन्ट हुन् । 

भियतनाम सरकारले संक्रमण नियन्त्रणका लागि मापदण्डहरुमा कडाइ गरेको छ भने हो चि मन्ह सहरका सबैको कोरोना परीक्षण गर्ने घोषणा गरेको छ । 

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १९:०४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।