Logo

स्वास्थ्य

‘ब्ल्याक फंगस’ का लक्षणहरु के-के हुन् ? उपचार कसरी गरिन्छ ? 



कोरोना भाइरसको चपेटामा आम मानिसहरु परिरहेका छन् । यहि विषम परीस्थितिमा विभिन्‍न भाइरसहरुको आक्रमणले रोगबाट बच्‍न मानिसहरुको आत्माबललाई झनै कमजोर पारेको छ । कोरोनाको दोस्रो लहर नसकिँदै ‘म्युकरमाइकोसिस’ले फेरि ज्यान लिने गरेको छ । ‘म्युकरमाइकोसिस’का बिरामीहरु देखिन थालेपछि छिमेकी मुलुकमा भारतको स्वास्थ्य प्रणालीमा थप चुनौतीहरु देखिएका छन् ।  नेपालमा पनि १२ जनामा ब्ल्याक फंगस देखिएको स्वास्थ्य जनसंख्या मन्त्रालयले पुष्टि भएको छ । 

यो डिसेम्बर र फेब्रुअरीमा भारतकै पाँच ठाँउ मुम्बई, बंगलो, हैदरावाद, दिल्ली र पुनेमा ब्ल्याक फंगस देखिएको थियो । भारतमा पहिलो चोटी २० जना ‘ब्ल्याक फंगस’ देखिएको थियो । उनीहरु सबै मधुमेह रोगका बिरामी थिए । भारतको महाराष्ट्र, दिल्ली, गुजरातलगायतका प्रदेशमा १२ हजारभन्दा बढीलाई ‘ब्ल्याक फंगस’को संक्रमण देखिएको छ । तीमध्ये ३०० भन्दा बढीको मृत्यु भइसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । दक्षिणी सहर बैंग्लोरका नेत्र शल्य चिकित्सक डा. रघुराजका अनुसार यो रोग धेरैजसो किशोरकिशोरीहरुलाई पनि देखिएको बताएका छन् । उक्त ‘ब्ल्याक फंगस’ रोग नेपालमा पनि भित्रिसकेको छ । 

म्युकरमाइकोसिस के हो ? 

आम भाषामा ‘ब्ल्याक फंगस’ भनिने म्युकरमाइकोसिस एक प्रकारको कालो ढुसीले निम्त्याउने समस्या हो । म्युकर नामक यो ढुसी हाम्रै वरिपरि, जहीँतहीँ हुन्छ । कुहिएको खाना, पानी बग्ने धारा, माटो, घाँस–पतिंगर, फोहोर लगायतमा यो ढुसी उब्जिन्छ । हामी स्वस्थ रहेका बेला, हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता बलियो छँदा यसले आक्रमण गर्न सक्दैन । अहिले कोभिड-१९ महामारीका बेला म्युकरमाइकोसिसको समस्या बढेको छ ।

यो अलि दुर्लभ खालकै फंगल इन्फेक्सन हो । विशेषगरी तीन/चारवटा अवस्थामा यो संक्रमण हुन्छ । एक, शरीरको रोगसँग लड्ने प्रतिरक्षा क्षमता कम भएमा । दुई, सुगर (मधुमेह) को रोगी भएमा । तीन, कोभिडको उपचारका क्रममा स्टेरोइड्स जस्ता इम्युनोमोडुलेटर औषधिको अनियन्त्रित प्रयोग गरेमा वा जसलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्‍यो अनि लामो समयसम्म अक्सिजन थेरापी दिनुपर्‍यो, उनीहरूलाई म्युकरमाइकोसिसको जोखिम हुन्छ ।

नेपालमा पनि १२ जनामा देखियो ‘ब्ल्याक फंगस’

मुम्बईका एक चिकित्सकले डा. नायरले भनेका छन्, “यसले मस्तिष्क र फोक्सोलाई असर गर्छ र मधुमेह वा गम्भीर ‘इम्युनो-कोम्पराइज्‌ड’ व्यक्तिहरु जस्तै क्यान्सर बिरामीहरू वा एचआईभी र एड्स भएका व्यक्तिहरुलाई बढी जोखिममा हुन्छन् ।”

म्युकर जिउभित्र प्रवेश गरेपछि त्यसले कुनै भागको छालामुनिको मासु बिगार्दै हड्डीसम्मै पुग्छ, कोषिकाहरूलाई खाँदै जान्छ र गहिरो घाउ बनाउँछ । त्यही घाउ कालो–कालो देखिने भएकाले यसलाई ब्ल्याक फंगस भनिएको हो । यो आफैंमा कालो हुँदैन ।  

म्युकरमाइकोसिस अर्थात् ‘ब्ल्याक फंगस’ का लक्षण  

ब्ल्याक फंगस भएका व्यक्तिहरुमा धमिलो वा डबल दृष्टि देखिनु, छाती दुख्‍ने, सास फेर्न गाह्रो हुने, वान्ता हुने, ज्वरो आउने लक्षणहरु देखिन्छन् । यस रोगको मधुमेहका बिरामीहरुलाई निकै जोखिम हुन्छ र जसले प्रतिरक्षा प्रणालीमा सम्झौता गर्दछ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका प्रमुखसमेत रहेका भाइरोलोजिस्ट शेरबहादुर पुनले भने, “‘ब्ल्याक फंगस’ यो एउटा ढुस्सी हो । यो नेपालमा पनि भित्रिसकेको छ । यो ब्ल्याक फंगसले सबैभन्दा छिटो कोरोना संक्रमितलाई आक्रमण गर्छ । कोरोनाबाट निको भएर बसेकाहरुलाई पनि दुइ हप्तापछि यसको सक्रमण देखिनसक्छ ।” 

अमेरीकी तथ्यांक अनुसार ५२ प्रतिशतमा ‘ब्ल्याक फंगस’ देखिएको छ । उनले भने, “यो रोगको लक्षण भनेको धेरै टाउको दुख्ने , ज्वरो आउने , सास फेर्ने गाह्रो हुने, नाक बन्द हुने, वान्ता हुने , नाकको वरीपरी कालो धब्बा देखिने जस्ता थुप्रै लक्षणहरु देखिन्छन् । यद्यपि ब्ल्याग फंगसको लक्षण देखिने बित्तिकै डाक्टरसँग सल्लाह सुझाव लिएर उपचार गर्दा यो रोगबाट बच्न पनि सकिन्छ ।”

ब्ल्याक फंगस मधुमेह, ब्लड प्रेसर र सुगरका रोगीहरुलाई भने अझै जोखिम रहेको उनको भनाइ छ । यसको उपचार पनि छ र सम्भव पनि छ । त्यसकारण यसको लक्षण देखिन साथ उपचार गर्न उनले आग्रह गरेका छन् ।

उनले थपे, “यो ब्ल्याक फंगस अलि घातक पनि छ । उपचार ढिला भएमा आखाँको ज्योती समेत गुम्‍नसक्ने र मस्तिष्कलाई असर गर्‍यो भने मृत्युसमेत हुनसक्ने बताएका छन् । डा. पुनका अनुसार ब्ल्याक फंगससँग बच्‍ने उपाय भनेको नै लक्षण देखिन साथ डाक्टरलाई भनेर उपचार गरीहाल्‍नु पर्छ । यो ब्ल्याक फंगसको संक्रमण नेपालमा पनि धेरै हुनसक्ने अनुमान गरिएको छ ।”

 

प्रकाशित मिति : जेष्ठ १८, २०७८ मंगलबार  ५ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।