काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गर्ने हतारोमा गरिएको गल्तीका कारण अब दुई महिना मेलम्चीबाट पानी नआउने भएको छ । सुरुङमार्गको परीक्षण कार्यविधि पूरा गर्न सुरुङमा असारदेखि पानी पठाउन बन्द गर्न लागिएको हो ।
असार १ देखि पानी भर्न बन्द गरे पनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्ने र त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर अवस्थाको अध्ययन गर्ने भएकोले करिब दुई महिना पानी नआउने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिएका छन् ।
यो काम काठमाडौंमा खानेपानी वितरण सुरु गर्नुअघि नै गर्नुपर्ने भए पनि उद्घाटनको हतारोका कारण काम पछि सारेर सुरुङ परीक्षणविनै पानी पठाइएको थियो ।
मेलम्चीको १० फागुनमा सुरुङमा पानी भर्न थालिएको थियो । साढे २६ किलोमिटर लामो सुरुङ भरिएपछि फागुन २२ गते सुन्दरीजलमा खसालिएको थियो । सुरुङबाट सफा पानी आउन थालेपछि वितरण केन्द्रबाट पानी प्रशोधन गरेर चैत १५ गतेबाट वितरण लाइनमा पठाउन थालिएको थियो ।
कार्यतालिकाअनुसार सुरुङमा भरिएको पानी ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका ४ वटा फ्लसिङ टनेलबाट बाहिर फाल्नुपर्ने थियो । त्यसपछि सुरुङ पूरै खाली गरेर समस्या भए/नभएको अध्ययन गर्नुपर्ने थियो । तर, प्रधानमन्त्री कार्यालयले उद्घाटन छिटो गर्न सुरुङ खाली नगर्ने र सुरुङमा पानी हाल्दा प्रभाव परे/नपरेको अध्ययन नगर्न आयोजनालाई दबाव दिएको थियो ।
विज्ञहरुले पनि २५ वर्ष प्रतीक्षा गरेको परियोजनामा गर्नैपर्ने २५ दिनको काम नगरी सरकारले जोखिम मोल्न लगाउँदा समस्या आएको बताएका छन् ।















प्रतिक्रिया