बैतडी । सुर्नया गाउँपालिका, बैतडीले समाजिक सञ्जालमार्फत गाउँपालिकाका बिषयमा भ्रम सिर्जना नगर्न आग्रह गरेको छ । बिगत केही दिनयता केही व्यक्तिहरुले समाजिक सञ्जालमार्फत गाउँपालिकाका विकास निर्माण र कार्यक्रमका बिषयमा सर्वसाधारणलाई भ्रम सिर्जना हुने गरि गतिविधि अगाडि बढाइरहेको पाइएकोमा गाउँपालिकाको ध्यानाकर्षण भएको जनाउदै त्यस्ता तत्वहरुले समाजिक सञ्जालमार्फत सिर्जना गर्न खोजेका भ्रममा नपर्न गाउँपालिकाले सबैमा आग्रह गरेको छ ।
सुर्नया गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले शुक्रबार प्रेश विज्ञप्ति जारी गर्दै गाउँपालिका कोरोना महामारी नियन्त्रणमा पूर्ण सक्रिय रहेको र अवस्था बिस्तारै सहज हुदै गइरहेकोले विकास निर्माणका कामले गति लिने विश्वास व्यक्ति गरेका छन् । २०७८ बैसाख १७ गतेदेखि बैतडी जिल्ला भरि नै निषेधाज्ञा जारी रहेकाले विकास निर्माणका काम, योजना तथा कार्यक्रम प्रभावित हुने र ढिलो सञ्चालन हुने अवस्था देखिएकोले यो वास्तविकतालाई सबैले बुझी दिन उनले आग्रह गरेका छन् ।
संघिय सरकारले गाउँपालिकालाई शशर्त अनुदान उपलब्ध गराएका कार्यक्रम सञ्चालनका लागि प्रकृया बढे पनि कोरोना र बन्दाबन्दीले उक्त कार्यक्रमहरु प्रभावित भएको र संक्रमण समान्य बन्दै गएपछि उक्त कार्यक्रमहरु कार्यन्वयन प्रकृयामा क्रमश समावेश गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संघिय सरकारबाट अनुदानमा प्राप्त कार्यक्रमहरु जुन कार्यक्रमका लागि तोकिएको हुन्छ त्यही कार्यक्रमका लागि खर्च गर्नु पर्ने बाध्यता भएकाले उक्त कार्यक्रमहरुको बजेट भौतिक निर्माण र अन्य पूर्वाधार तथा विकासमा खर्च गर्न नसकिने कार्यविधि रहेको जानकारी गराइएको छ ।
गाउँपालिकाका कर्मचारी नै कोरोना पोजेटिभ देखिएकाले कार्यक्रम र योजना सञ्चालनमा केही असहजता भएको जनाउदै स्थिति समान्य हुदै गएकोले विकास निर्माणका काम र अनुदानका कार्यक्रमहरुले छिट्टै गति लिने विश्वास गाउँपालिकाले लिएको छ ।
गाउँपालिकाले वडा नम्बर ४ डौडामाण्डौमा जिर्ण पुल मर्मत यसै वर्ष सम्पन्न गर्ने कार्यक्रम रहेको पनि विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।
प्रतिक्रिया