काठमाडौँ – नेपाली कांग्रेसबाट हालै निष्कासनमा परेका नेता कर्ण मल्लले प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले सफेद झुट बोलेको प्रतिक्रिया दिएका छन् । देउवाले आज डडेल्धुरामा आयोजित चुनावी सभामा आफूपछिको नेता बनाउँला भनेको मान्छे (कर्ण मल्ल) केपी ओलीको चाकडी गर्न पुगेको बताएका थिए ।
देउवाको यो भनाइप्रति आफ्नो गम्भीर आपत्ति रहेको नेता मल्लले बताए । उनले अनलाइनपानासँग भने, ‘मलाई दुई पटक पार्टीबाट निकाल्ने आदरयीण दाइले आफूपछिको नेता मलाई बनाउनु हुन्थ्यो होला ? यो सफेद झुट हो, बनावटी कुरा हो । यसमा मेरो गम्भीर आपत्ति छ ।’
मल्लले देउवाले आफूलाई नभइ माओवादी केन्द्रका नेता खगराज भट्ट र एकीकृत समाजवादीका नेता तारा जोशीलाई पनि आफूपछिको नेता बनाउने भनेर आश्वासन बाँड्दै हिँडेको आफूले थाहा पाएको बताए ।
‘उहाँले खगराज भट्ट र तारा जोशीलाई पनि आफूपछिको नेता बनाउँछु भनेर डडेल्धुरामा चुनाव जित्ने प्रपञ्च गरिरहनुभएको छ । त्यो कुरा मैले थाहा पाइसकेको छु । मलाई कसरी नेता बनाउनुहुन्थ्यो’, मल्लले आक्रोशित हुँदै भने, ‘मलाई नेता बनाउने भए पार्टीबाट किन निकाल्नुहुन्थ्यो ? उहाँले कुन प्रक्रिया पूरा गरेर मलाई निकाल्नुभयो ?’
मल्लले आफ्नो राजनीति सक्न देउवाले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाए ।
‘सयौँ नेताको क्रियाशील सदस्यता रोकियो । हामीलाई जिल्ला अधिवेशनमै सहभागी हुन दिइएन । यसरी पेलेर जाने मान्छेले मलाई आफूपछिको नेता बनाउने थिएँ भनेर अहिले कसरी भन्न सकेको’ मल्लले भने ।
देउवाले आज आफ्नो जन्मथलो डडेल्धुराको गन्यापधुरा पुगेर मल्लप्रति आक्रोश पोखेका थिए ।
चुनावी सभालाई सम्बोधन गर्न गन्यापधुरा पुगेका देउवाले आफूपछि नेता बनाउँला भनेको व्यक्ति ओलीको चाकडी गर्न पुगेकोमा आफूलाई लाज लागेको टिप्पणी गरेका थिए ।
उनले कर्ण मल्ल कतैबाट परिचालित भएको आरोपसमेत लगाए ।
‘कांग्रेसको नेता बनाएको मान्छे अहिले बीपी कांग्रेस भनेर हिँडेको छ । यिनीहरू कहाँबाट परिचालित छन्, यस्ताका बारेमा भन्न पनि लाज लागेको छ । भोलिका दिनमा आफूपछिको नेता बनाउँला भनेको मान्छे त ओलीको चाकडी गर्न थालेछ । तर जनता निराश हुनुपर्दैन यहाँको विकास मैले गरेर छाड्छु’, देउवाले भने ।
दुईपटक डडेलधुरा कांग्रेसको सभापति भएका मल्ल अहिले डडेल्धुराका सबै स्थानीय तहमा एमालेसँग तालमेल गरेर कांग्रेसविरुद्ध चुनावी मैदानमा छन् ।





















प्रतिक्रिया