Logo

बढ्दै छ आत्महत्याको दर, कसरी रोक्‍ने ? 



चालु आर्थिक वर्षको १० महिनाको अवधिमा मात्रै पाँच हजार ६७३ जनाले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ । जबकि कोरोना महामारीको पहिलो लहर सुरु भएदेखि करिब एक वर्षको अवधिमा सात हजार ९९० जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षको तथ्यांकको तुलनामा यस आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्या बढेको छ । प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षको वैशाखसम्म र चालु आर्थिक वर्षको वैशाखसम्म आत्महत्या गर्नेको संख्या तुलना गर्दा करीब डेढ प्रतिशतले बढेको देखिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा ६ हजार ८५ जनाले आत्महत्या गरेकोमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको १० महीनामा मात्रै ५ हजार ६७३ जनाले आत्महत्या गरिसकेका छन् । आत्महत्या गर्नेको संख्या बढ्न सक्ने अनुमान प्रहरीको छ । यसरी आत्महत्या गर्नेहरुको संख्यामा वृद्धि हुनुको प्रमुख कारण कोरोना भएको मनोविद् तथा प्रहरीको तर्क रहेको छ । बढ्दो गरिबी, बेरोजगारी, घरायसी तनावलगायतका समस्यासँग जुधिरहेको नेपाली समाजमा कोरोना भाइरसको संक्रमणले थप तनाव सिर्जना गरेपछि आत्महत्याको दर बढेको सरोकारवालाहरु बताउँछन् । 

मानिसको जीवनमा विभिन्‍न उतारचढावहरु भइरहन्छन् । केहि मानिस खुसीलाई महत्व दिन्छन् र रमाउछन् भने केहीले सानो समस्यालाई पनि ठूलोरुपमा बुझ्छन् र आफू कमजोर भएको महसुस गर्छन् । जसका कारण मानसिक समस्याको सिकार हुने मनोवैज्ञानिकहरुको भनाइ रहेको छ । निराशापन सँगसँगै मानिसहरु डिप्रेसन्, चिन्ता जस्ता विभिन्‍न मानसिक रोगको पासोमा मानिस फस्दा आत्महत्या गर्ने गरेको पाइने मनोविद् करुणा कुँवर बताउँछिन् । 

कोरोना महामारीको असर आत्महत्याको तथ्यांकमा देखिन थालेको प्रहरीको भनाइ छ । कोरोना महामारीको संक्रमण नियन्त्रण गर्न सरकारले २०७६ चैत ११ मा गरेको लकडाउनका कारण सबै क्षेत्र ठप्प भएको थियो । लामो समयको लकडाउनका कारण रोजीरोटी खोसिएका, आर्थिक समस्या भोग्नुपरेका, बेरोजगारी लगायत समस्याले मानसिक समस्या बढाउने र यसले आत्महत्यासम्मको परिणाम ल्याउन सक्नेतर्फ मनोविद्, मनोचिकित्सकहरूले औंल्याएका थिए ।

आत्महत्या गर्नेको संख्या बढ्नुमा कोरोना महामारीले ल्याएको आर्थिक संकट, बेरोजगारी, त्यसले निम्त्याएको घरेलु हिंसा जस्ता कारण रहेको प्रहरी प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर बताउँछन् । उनले भने, “यो अझै बढ्न सक्ने जोखिम कायमै छ । त्यो जोखिम अहिले प्रहरीको तथ्यांकले पुष्टि गरेको छ । कोरोनाका कारण रोजगारी गुमाएर, आर्थिक संकट परेका, घरेलु हिंसामा परेर मानसिक स्वास्थ्यमा समस्या परेका कारण आत्महत्या गर्नेको संख्या बढेको हो ।”

उनले थपे, “आत्महत्या गर्नेको संख्या बढ्नुमा कोरोना महामारीले ल्याएको आर्थिक संकट, बेरोजगारी, त्यसले निम्त्याएको घरेलु हिंसा जस्ता कारण देखिन्छ । यो अझै बढ्न सक्ने जोखिम छ ।” दोस्रो लहरको कोरोना महामारीको संकटले थप धेरैलाई विभिन्न नकारात्मक असर गरेकोले बढ्न सक्ने अनुमान प्रवक्ता कुँवरको छ ।

आत्महत्या गर्नुअघि कुनै संकेत दिन्छ, त्यसलाई गम्भीर भएर लिनुपर्छ : मनोविद कुँवर

आत्माहत्याको प्रयास गर्ने मानिसहरुको आफ्नै विभिन्‍‍न कारणहरु हुन्छन । कतिपय मानिसहरु मानसिक  समस्या बाट गुज्रिरहेका हुन्छन् । उदासिनता (डिप्रेसन)  एउटा प्रमुख कारण हो । अरुसँग आफूलाई तुलना गर्नु पनि एक कारण हो । आत्महत्या मानिसले परिस्थितिजन्य र मानसिक वा भावनात्मक कारणले गर्ने गर्छन् । परिस्थितिजन्य कारणमा सम्बन्ध विच्छेद, पारिवारिक समस्या, शारीरिक समस्या (कुनै जटिल रोग), लागुऔषध दुर्व्यसन, भयंकर दुःख या क्षति (प्रियजनको मृत्यु, साथी, पारिवारिक सदस्य वा सामाजिक व्यक्तित्व- जसलाई आफूले विशेष ठानेको हुन्छ) उसको आत्महत्याको खबर, रिसको आवेग, जिज्ञासाको कारण (बालबालिकामा हुन सक्ने), स्कुल वा कार्यक्षेत्रमा समस्या, बेरोजगारी, आर्थिक तथा कानुनी समस्या, समाधान नदेखिने समस्या आदि पर्दछन् । 

मानिसहरु आफ्नो जीवनमा आइपर्ने समस्यासँग लड्न नसक्ने र भविष्यलाई अंधकार देख्‍ने गर्नाले आत्माहत्याको बाटो रोज्‍ने गर्छन । हाम्रो समाजमा मानसिक रोग लागेकाप्रति नकारात्मक सोच भएको हुनाले मानिसहरु यस बारे कुरा गर्न खोज्दैनन् र यो रोग लगेपछि यसको उपचार गर्न जाँदैनन् । त्यसैले पनि आत्माहत्याको संख्या दिनानुदिन बढ्दो छ । कुनै पनि मानिसले आत्माहत्या गर्नुअघि केहि न केहि अभिव्यक्ति दिइरहेका हुन्छन्  । आत्माहत्याको बाटो रोज्न पुग्नेहरु प्राय: मर्न नचाहेको र कोही आएर उनीहरुलाई रोकीदिए हुन्थ्यो भन्‍ने महसुस गर्छन् । कोही आएर उनीहरुलाई आफू ठिक भए नभएको सोधिदिए हुन्थ्यो, आफ्नो कुराहरु सबै बताउने चाहना राख्छन् । 

मानिसहरु कतिपय समयमा आफूहरुले उनीहरुसँग कुरा गर्नुपर्छ भन्‍ने जन्दाजान्दै पनि केही गर्न चाहँदैनन । यसका केही कारणहरु मध्ये ब्याप्त भ्रम ‘आत्माहत्याबारे कुरा गर्दा यसले झन उनीहरुको मनमा आत्माहत्या गर्न प्रोत्साहन गर्छ भन्‍ने छ । तर यसबारे कुरा गर्दा उनीहरुमा भएको आत्माहत्याको सोचाइसँग सम्बन्धित तनाव  घटाउन मद्दत गर्छ, त्यो व्यक्तिलाई उसको भावनाहरु बुझिदिएको जस्तो महसुस हुन्छ र आफ्नो समस्याको बारेमा छलफल गर्नको लागि इच्छुक हुन्छ र सही ठाउँमा गएर उपचार गर्न मद्दत पुग्दछ । अर्को भ्रम ‘जसले आत्मा हत्या गर्छ उसले कुनै संकेत नै दिँदैन’ । तर यस्तो नभइ विभिन्न संकेतहरु दिएको हुन्छ । 

आत्माहत्याको विषयमा सबैले आ-आफनो अभिव्यक्ति दिन्छन् तर मेरो विचारमा आत्माहत्याको लक्षण जस्तै; सदाका लागि सुतिरहन मन लाग्छ भन्‍नु , कसैले मलाई मद्दत गर्दैन भन्‍नु, अब मेरा सबै समस्याहरु छिट्टै समाधान हुँदैछन भन्‍नु, बाँच्ने इच्छा नभएको भावना व्यक्त गर्नु, आफ्ना बहुमूल्य सरसामानहरु अरुलाई बाँड‍्‍नु, आत्महत्या सम्बन्धमा कुरा गर्ने, त्यसको बारेमा लेख्‍नेसमेत गर्छन् । अरुलाई त्यस्ता मानिसको कुरा हल्का खालको वा मजाक जस्तो लाग्‍न पनि सक्छ । उनीहरु आत्महत्या गर्नको लागि प्रयोग गरिने साधन (डोरी, चक्कु, विषादि औषधी आदि) तिर बढी आकर्षित हुन्छन् । कुन चीजद्वारा सजिलै मर्न सकिन्छ भन्ने कुराको योजना बनाइरहेका हुन्छन्।

साथीभाइ, आफन्तसँग बिदा मागिरहेको हुन्छन् । परिवारको लागि आफू गएपछि पर्न सक्ने अप्ठ्यारोको लागि पनि सकेसम्म व्यवस्था मिलाउन खोजिरहेको हुन्छन् । आफ्ना सामान अरुलाई बाँड्न थाल्छन् । दुःखी, निराश देखिन्छन् । आफ्नो बारेमा लापरबाही हुँदै जान्छन् । पहिले खुसीले गर्ने कामप्रति रुचि कम हुँदै जान्छ । धुम्रपान, मद्यपान गर्ने गरेको छ भने अझै बढी प्रयोग गर्न थाल्छन् । अरुबाट अलग्गिने, एक्लै बस्न रुचाउने हुन थाल्छन् । आफूप्रति घृणाको भाव देखाउन थाल्छन् र पछिल्लो अवस्थामा अचानक खुसी र शान्त देखिन थाल्छन् । माथिका लक्षणहरु भएका मानिस एक्कासी खुसी देखियो भने त्यो व्यक्तिले मर्नको लागि पूरै योजना बनाइसक्यो र अब उसले आफ्नो जीवन समाप्त गर्दैछ भनेर बुझ्दा हुन्छ । 

आत्माहत्या रहर होइन बाध्यता हो । जब मान्छेलाई यो संसारबाट टाढा जान मन लाग्छ, उनीहरुलाई लाग्छ यो संसारमा आफ्नो केही छैन र कोही छैन । यस्तो बेलामा उनीहरु आवेसमा आएर आत्माहत्या गर्ने गर्छन् । अझ कतिपय परिवारमा त मानसिक तनावमा आएर मर्छु भन्ने शब्द प्रयोग गरिरहँदा बाल्नेले केही गर्देनन् भनेर बेवास्ता गर्ने गरेका छन् । आत्महत्या रोकथामको लागि सबभन्दा महत्वपूर्ण र पहिलो काम भनेको आत्महत्या गर्ने व्यक्तिले देखाउने लक्षणको बारेमा स्पष्ट हुनुपर्छ । कुनै पनि व्यक्तिले एक्कासी आत्महत्याको प्रयास गर्दैन । विभिन्‍न रिसर्च अनुसार आत्महत्या गर्ने व्यक्तिमध्ये ८०-९० प्रतिशतले कुनै न कुनै लक्षण देखाएको हुन्छ । बाँकी केहीले रिसको आवेगमा आएर वा बालबालिकाको हकमा जिज्ञासाको कारणले पनि आत्महत्या भएको पाइएको छ । त्यसैले परिवारको सदस्य वा साथीभाइमा यस्ता लक्षण देखिन थालेमा उक्त व्यक्तिलाई सहयोगको आवश्यकता छ भन्ने बुझ्नुपर्छ । 

यसरी आफन्तमा या साथीभाइहरुलाई उक्त लक्षण देखिएपछि उसंग आफू नजिकै भएर आफ्नोपनको महसुस गराउनुपर्छ । आफूप्रति विश्वस्त हुने वातावरण मिलाउनुपर्छ । त्यसपछि उसले आफ्ना समस्या व्यक्त गर्न सक्छ । उसले भनेका सबै कुरा बिना पूर्वाग्रह (ननजजमेन्टल भएर) सुनिदिनुपर्छ । उप्रति सहानुभूति प्रकट गर्नुपर्छ । उसका हरेक कुराप्रति सहमति जनाउनुपर्छ । सुन्ने व्यक्तिलाई उसको कुरा सामान्य लाग्न सक्छ तर त्यही कुरा उसको लागि भयंकर पीडादायी भएको हुन सक्छ । यस्तो अवस्थामा उसलाई सल्लाह, सुझाव दिने, तर्क वितर्क गर्ने, नैतिकताको शिक्षा दिने, धर्म संस्कारका कुरा सिकाउने, जीवनदर्शनका कुरा सुनाउने, पारिवारिक माया मोहका कुरा गरेर मोड्न खोज्‍नु मूर्खतापूर्ण कार्य हो । यसले झन उत्साही बनाउँछ आत्महत्या गर्न । त्यसैले उसका प्रत्येक कुरा ध्यानपूर्वक सुनिदिने र उसको पीडा आफूले पनि महसुस गरेको विश्वास दिलाउन सक्नुपर्छ ।

वास्तवमा मान्छे यसै मर्न चाहँदैन । उसले महसुस गरेको असह्य पीडा र समस्याबाट मुक्त हुने अन्तिम विकल्पको रुपमा रोजेको एउटा बाटो हो, आत्महत्या ।  यस्ता समस्या देखिएका मानिसहरुलाई परामर्श वा उपचारको आवश्यकता पर्न सक्छ । त्यस्तो समयमा नेपालमा महाराजगन्ज टिचिङ अस्पतालको साइकोलोजी डिपार्टमेन्ट र मानसिक स्वास्थ्य अस्पताल, पाटनमा अथवा आफुले चिनेका मेन्टल हेल्थ प्रोफेशनलहरुसँग सम्पर्क गर्नु पर्छ । आत्महत्या आफैँमा एउटा जटिल समस्या भए पनि यसलाई न्युनीकरण गर्न सकिन्छ ।  यसको रोकथामको लागी हामी एक जनाको प्रयासले मात्र सम्भव छैन् हामी सबैले यसको विषयमा खुलस्त भएर बोल्नु पर्छ । अनिमात्र आत्माहत्या कम गर्न सकिन्छ ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार ११:२८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।