Logo

प्रमुख समाचार

आरजुले बिच्काएका कार्यकर्ता फकाउँदै देउवाले भने : सुदूरपश्चिमको राजधानी डडेल्धुरा ल्याउँछु



डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी डडेल्धुरा ल्याउने आश्वासन दिएका छन् । केही दिनअघि पत्नी आरजु देउवाले ‘थर्काएर’ कांग्रेसलाई जिताउन भनेपछि बिच्किएका कार्यकर्ता फकाउँदै देउवाले कांग्रसलाई जिताए सुदूरपश्चिको राजधानी नै डडेल्धुरा ल्याउने बताएका हुन् ।

सदरमुकाम अमरगढीमा आयोजित चुनावी सभालाई मंगलबार सम्बोधन गर्दै देउवाले कांग्रेसका सबै उम्मेदवारलाई जिताए संरचना बनाएर राजधानी डडेल्धुरा ल्याएरै छोड्ने बताए । ‘कांग्रेसका सबै उम्मेदवारलाई जिताउनुस्, बिजुली पनि ल्याइन्छ, पश्चिम सेती सबै ल्याइन्छ, भोलि पूर्वाधार बनाएर राजधानी पनि ल्याएर छोड्ने छु,’ उनले भने ।

डडेल्धुरामा संरचना नहुँदा राजधानी बनाउने भनेर दिएको वाचा पूरा गर्न नसकेको उनले बताए । अहिलेको प्रदेश राजधानी कैलालीमा छ । क्रियाशील सदस्यता वितरणदेखि असन्तुष्ट रहेका पूर्वसभापति कर्ण मल्ल एमालेसँग तालमेल गरेर चुनावी मैदान उत्रिएपछि देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसलाई विरासत जोगाउन चुनौती छ ।

यसअघि मल्लमाथि प्रधानमन्त्री देउवापत्नी आरजु खनिएकी थिइन् । डडेल्धुरा पुगेकी आरजुले स्थानीय तहमा कांग्रेसले नजिते केन्द्रबाट बजेट पठाउन नसकिनेसम्मको अभिव्यक्ति दिएकी थिइन् । ‘जहाँ कांग्रेसको मेयर नै हुन्न, त्यहाँ हामी किन पैसा पठाउँछौँ’, उनले भनेकी थिइन्, ‘ साे यो कुरालाई ध्यान दिएर करुवा, सरुवा हरुवा पार्टीहरूलाई भोट नहाल्नुस् ।’

उनको यो अभिव्यक्ति धम्कीपूर्ण भएको भन्दै चर्को आलोचना भएको थियो । तर देउवाले मंगलबार भने डडेल्धुराका मतदाता रिझाउन सुदूरपश्चिमको राजधानी डडेल्धुरा सार्ने आश्वासन दिएका हुन् ।

प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार  ६ : ०९ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।