Logo

हुम्ला जिल्लाको लिमीमा हटाइयो निषेधाज्ञा 



हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका–६ को लिमीमा मङ्गलबारदेखि निषेधाज्ञा हटाइएको छ । वडाध्यक्ष पालजोर तामाङको अध्यक्षतामा बसेको बैठकले असार मसान्त नजिकिएसँगै कामको चाप बढी हुने भएकाले लिमीमा कार्यरत सरकारी तथा गैरसरकारी कर्मचारीका लागि मङ्गलबारदेखि वडा नं ६ लिमी प्रवेश गर्न पाइने भएको छ ।

तील, जाङ, हल्जीगाउँका अगुवाको उपस्थितिमा कर्मचारीलाई मात्र प्रवेश गर्न दिइने भएको छ भने अन्य लिमी उपत्यकाको भ्रमणमा आउने आन्तरिक पर्यटकलाई प्रवेशमा निषेध यथावत् नै रहने भएको लिमी स्वास्थ्यचौकीका निमित्त कार्यालय प्रमुख लोकनाथ बोहराले बताए । 

वडा नं ६ मा कार्यरत कर्मचारीलाई तलब खुवाउनुपर्ने र विभिन्न योजनाको काम गर्नुपर्ने भएका कारण अन्य नागरिकलाई प्रवेश गर्न नदिइने भएको भए पनि कर्मचारीलाई प्रवेशमा मङ्गलबारदेखि खुला गरिएको उनले  जानकारी दिए । उत्तरी नाम्खा गाउँपालिकामा अहिलेसम्म कोही कसैमा कोरोना सङ्क्रमण देखिएको छैन ।

यस्तै खार्पुनाथ गाउँपालिका-५ मा रहेको बाम्टागाउँमा निषेधाज्ञा हटाइएको छ । केही दिनअघि बाम्टामा परीक्षण गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको थियो । उनीहरूको मङ्गलबार पुनः परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि निषेधाज्ञा हटाइएको बताइएको छ । अब बाम्टामा वडा नं  ५ का स्थानीयवासी आवतजावत गर्न पाउने भएका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १३:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।