Logo

अर्थ

बाढी प्रभावित अटो व्यवसायीलाई राहतका लागि नाडाले सहजीकरण गर्ने, माग्यो क्षतिको विवरण



काठमाडौं । भोटेकोसीमा आएको बाढी तथा डुबानबाट अटोमोबाइल क्षेत्रमा समेत ठूलो क्षति पुगेपछि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले प्रभावित व्यवसायी तथा सदस्य कम्पनीसँग क्षतिको यथार्थ र प्रमाणित विवरण माग गरेको छ।

बाढी तथा डुबानका कारण भन्सार नाका लगायत विभिन्न स्थानमा आयातित सवारीसाधनमा क्षति पुगेको, कतिपय सवारीसाधन हराएको तथा व्यवसायीका गोदाम, कार्यालय, उपकरण र अन्य व्यावसायिक सम्पत्तिमा क्षति पुगेको जानकारी प्राप्त भइरहेको नाडाले जनाएको छ।

प्रभावित व्यवसायी तथा सदस्यलाई आवश्यक सहजीकरण र समन्वय गर्ने उद्देश्यले नाडाले सम्बन्धित सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालय र अन्य सरोकारवाला निकायसँग आवश्यक पहल सुरु गरेको जनाएको छ।

नाडाले बाढी तथा डुबानबाट प्रभावित सदस्य कम्पनीलाई आफ्नो क्षतिको यथार्थ तथा प्रमाणित विवरण सचिवालयमा उपलब्ध गराउन अनुरोध गरेको छ। नाडाका अनुसार क्षतिको विवरणमा बाढी तथा डुबानबाट क्षति भएका सवारीसाधन, हराएका वा सम्पर्कविहीन सवारीसाधन, सवारीसाधन रहेको स्थान तथा सम्बन्धित भन्सार नाका, सवारीसाधनको संख्या, प्रकार तथा उपलब्ध पहिचान विवरण समावेश गर्नुपर्नेछ।

त्यसैगरी गोदाम, कार्यालय तथा अन्य भौतिक संरचनामा भएको क्षति, बीमा गरिएको सम्पत्ति तथा सवारीसाधन, बीमा दाबीका लागि आवश्यक कागजात तथा विवरण, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणसँग सम्बन्धित विवरण र अन्य प्रत्यक्ष व्यावसायिक क्षतिको विवरण उपलब्ध गराउन नाडाले आग्रह गरेको छ।

प्राप्त विवरणका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय तथा सहजीकरण गर्ने नाडाले जनाएको छ। नाडाले अटोमोबाइल क्षेत्रमा भएको क्षतिको समग्र विवरण संकलन तथा अभिलेखीकरण गर्ने र बीमा दाबी प्रक्रियालाई शीघ्र तथा सहज बनाउन सम्बन्धित बीमा कम्पनीसँग समन्वय गर्ने जनाएको छ।

भन्सार नाकामा रहेका हराएका वा क्षतिग्रस्त सवारीसाधनको पहिचान तथा आवश्यक प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयसँग समेत समन्वय गर्ने नाडाको योजना छ।

प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकन वा अन्य सम्भावित सहजीकरणका विषयमा सम्बन्धित निकायसँग समन्वय गर्ने नाडाले जनाएको छ।

सरकार तथा सम्बन्धित सरोकारवाला निकायसमक्ष अटोमोबाइल क्षेत्रले व्यहोरेको क्षतिको समग्र विवरण प्रस्तुत गरी आवश्यक राहत, सहजीकरण तथा नीतिगत सम्बोधनका लागि पहल गर्ने नाडाको भनाइ छ।

यस कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यकताअनुसार समन्वय तथा सहजीकरण समिति गठन गरी प्रभावित सदस्यका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने र समाधानका लागि आवश्यक पहल गर्ने नाडाले जनाएको छ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलवार १५:००   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।