सुदूरपश्चिमको पहाडी जिल्ला अछाम रहेको एक स्थानीय तह हो, तुर्माखाँद गाउँपालिका । तुर्माखाँद गाउँपालिकाका अध्यक्ष हुन्, पुष्पराज शर्मा । नेपाली कांग्रेसका तर्फबाट निर्वाचित शर्माले चुनावीताका विभिन्न आश्वासहरु दिएका थिए । विकट पहाडी जिल्ला र कोरोना महामारीको कहरका कारण जनताले अपेक्षा गरेअनुसार काम गर्न त्यति सहज भने छैन । कोरोना महामारी नियन्त्रण, विकास निर्माण र नागरिक अपेक्षालगायतका विषयमा अनलाइपानाकर्मी सुजाता अम्गाईले गाउँपाकालिका अध्यक्ष शर्मासँग गरेको कुराकानी :
कोरोना नियन्त्रणमा के-कस्ता काम गर्नुभएको छ ?
अहिले विश्व नै कोरोना भाइरसको कारण आक्रान्त बनेको छ । यो बेलामा सबैजनाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काम गरिरहेका छौं । कोरोना नियन्त्रण गर्नको लागि विभिन्न ठाउँमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी खटाएका छौं । आवश्यक स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएका छौँ । पीसीआर र एन्टीजन विधिबाट परीक्षण गराइ कोरोना सङ्क्रमितहरूलाई होमआइसोलेसन र गम्भीर संक्रमितको उपचार गराइरहेका छौं ।
कोरोनाको दोस्रो लहरपछि क्वारेन्टाइन बनाउनु भयो कि होम आइसोलेसनमा नै बस्न अनुरोध गर्नुभयो ?
हामीले यो दोस्रो लहरको कोरोना भाइरस सुरु भएपछि क्वारेन्टाइन बनाउने भन्दा पनि मानिसहरुलाई होम आइसोलेसनमा नै बस्न आग्रह गर्यौं । हाम्रो नजिकै रहेको छिमेकी मुलुक भारतबाट आएका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतबाट आउनु भएकाहरुलाई कोरोना परीक्षण गराइ होमआइसोलेसनमा राखेका छौं । गाउँपालिकामा दुई सय ५९ जना संक्रिमित छन् । अहिले सक्रिय संक्रमितको संखया ८०-८२ रहेको छ । कोरोना संक्रमितको विषयलाई हामीले संवेदनशील तरिकाले लिएका छौं । यसर्थ सामन्य अवस्थाका संक्रमितहरुलाई होम हाइसोलेसनमा बस्न आग्रह गरेका छौं भने जटिल संक्रमितलाई सुर्खेतका अस्पताल र जिल्ला अस्पतालमा राखेका छौं । अहिलेसम्म हाम्रो गाउँपालिकामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।
विकास निर्माणको कामहरू कसरी अगाडि बढाउनु भएको छ ?
कोरोना भाइरसको कारण अहिले सबै क्षेत्र अस्तव्यस्त भएको बेला केही विकास निर्माणका कामहरू पनि रोकिएका छन् । गत आर्थिक वर्ष २०७६-२०७७ र चालु आर्थिक वर्ष २०७७-२०७८ को विकास निर्माणका कामहरू कोरोनाले रोकिएको पनि छन् । सामाजिक, आर्थिक विकास भइरहेको छ । गाउँपालिकाले गर्न लागेको कामहरू बाटोघाटो, खानेपानी लगायतका कामहरू निरन्तर अघि बढाइरहेका छौं ।
स्थानीय तहलाई नागरिकसम्म कसरी पुर्याइरहनु भएको छ ? नागरिकसँगको सम्बन्ध कस्तो छ ?
कुनै पनि ठाउँको विकास हुनको लागि स्थानीय साथ अनिवार्य हुन्छ । नागरिकको सहकार्य र समझदारीको आवश्यक हुन्छ । मैले काम गरेको यहाँकै नागरिकहरूको लागि नै हो । म एउटा पदमा भएर पनि एउटा साधारण बाइक चढेर हिँड्छु । सबैसँगको समन्वय गरेर गाउँपालिकामा खानेपानी ल्याएका छौं, सडकहरूको निर्माण कार्य भइरहेको छ । विभिन्न योजना बनाएर अगाडि बढिरहेका छौं । स्वास्थ्य क्षेत्र, शिक्षा, सरसफाइ, भौतिक संरचनाहरूको निर्माण, झोलुंगे पुलहरु निर्माण गरेका छौँ । यसर्थ पनि हाम्रो नागरिकसँगको सम्बन्ध राम्रो छ र सहकार्य र सम्बन्ध राम्रो छ ।
तपाईंहरुले गर्नुभएको कामप्रति नागरिकहरूको प्रतिक्रिया कस्तो छ ? सन्तुष्ट छन् ?
मैले अघि पनि भने हामीले काम गर्ने भनेको उहाँहरूको लागि नै हो । जुन काम गरिरहेका छौं, हामीले जहाँ पानीको समस्या थियो, त्यहाँ पानी ल्यायौं, बाटोघाटोलगायत विभिन्न विकास निर्माणका कामहरू गरिरहेका छौँ । हाम्रो कामबाट उहाँहरुले गुनासो गर्नुपर्ने ठाउँ हामीले छोडेका छैनौँ ।
चालु आर्थिक वर्षमा कति बजेट खर्च भयो ?
अहिले सम्ममा हामीले ५२ प्रतिशत बजेट खर्च गरेका छौं । आगामी दिनहरूमा रोकिएका काम र गर्नुपर्ने काम गरेर ८० प्रतिशत जति बजेट खर्च हुने सम्भावना छ ।
आगामी योजनाहरू के-कस्ता छन् ?
कोरोनाले विगत वर्षदेखि नै घच्घच्याइरहेको हुनाले पनि गर्नुपर्ने काम धेरै नै छन् र भइरहेका पनि छन् । अछाम जिल्ला एक त आफैँमा भौगोलिक विकटता भएको ठाउँ हो । तर, यहाँ बिजुलीको अभाव अझै छ । खासै ठूला कामहरु त रोकिएका छैनन् । गाउँपालिकाको अफ्नो प्रशासनिक भवन बनाउन बाँकी छ । जग्गा र सडकको काम भयो । केही बाँकी छ । विगतदेखि नै थालिएका काम रोकिरहेको छ । बिजुलीको काम माथिल्लो तहदेखि हुनुपर्ने हो । तर सम्बन्धित निकायले ध्यान दिएन । हामीले गाउँपालिकाको तर्फबाट बिजुलीको समानहरू सबै खरिद गरेका छौँ, तर पनि आगमी वर्षको दसैँसम्ममा सबैको घर-घरमा बिजुली पुर्याउने कोशिस गरिरहेका छौं । यद्यपि अब भनेको मजदुर, बालबालिका, कृषि क्षेत्र, दलित महिलालाई प्राथमिकता पशुपालनमा निरन्तरता दिने भएका छौँ । गाउँपालिकाले ब्राखा पालन गर्ने योजना बनाएका छौँ ।
प्रदेश र संघ सरकारले कस्तो सहयोग गरेका छन् ?
नेपालको संविधानमा लेखिएका अनुसार संघ सरकारले गाँउपालिकासँग सहजीकरण गर्ने गरेको छ । संघबाट गरिनुपर्ने सहयोग भइरहेको छ । रह्यो प्रदेश सरकारको कुरा, प्रदेश सरकारसँगको सहयोग र सहकार्य पर्याप्त हुनुपर्ने हो । तर, हुन् सकेन । यो विडम्बनाको कुरो हो ।
किन प्रदेश सरकारसँग सम्बन्ध निकट हुन सकेन ?
प्रदेश सरकार होस् या स्थानीय सरकार या त गाउँपालिका सबैले गर्ने नागरिकको सेवा नै हो । तर प्रदेश सरकारसँग भने खासै नजिकको सम्बन्ध बन्न सकेको छैन । त्यो दुखको कुरा हो । काम गर्नेक्रममा सहकार्य र सुझाव सल्लाह जुन हुनुपर्ने हो, भइरहेको छ । यसको मुल कारण प्रदेश सरकारले संघीयताको मर्म र स्थानीय तहको समस्यालाई बुझ्न नसकेको देखिन्छ ।
अन्य राजनीतिक दलहरूबाट के-कस्ता सहयोग आएका छन् ?
मेरो गाउँपालिकाको लागि सबै राजनीतिक दलहरूले सहयोग गरिरहनु भएको छ । आजसम्म जे गरिरहेका छौं सबैजनाको समन्वयन र सहकार्यको कारण नै सफल भइरहेको छ । कुनैपनि ठाउँको विकासको लागी गरिएका कामहरू र गर्ने कामहरू सबै जनाको सहभागितामा निर्णय लिएर काम गरेका छौँ । सबैजनाले कामको विषयमा सल्लाह दिनुभएको छ । राम्रो कामको लागी प्रेरित गर्नुभएको छ ।
अस्पताल निर्माणमा घोटला भएको भन्ने समाचारहरू आएका छन् नि ! यसमा के भन्नु हुन्छ ?
मैले त्यसको खण्डन गरिसकेको छु । घोटला भयो भन्नका लागि कार्यालयको तर्फबाट आर्थिक लेनदेनको कुरा पुष्टि हुनुपर्यो नि । बोलपत्र आह्वान गरिएको छ । त्यहाँ को-को हुनुहुन्छ ? किन र कसरी आए प्रमाणबिनाका यस्ता समाचार ? सूचना कसरी प्राप्त भए प्रमाण त चाहियो नि । यो विषयमा म यति भन्छु – कुन कम्पनिले कसले आर्थिक लेनदेन गर्यो भन्नुभयो ? यो मैले लिएको पुस्टाइ गर्दिनु प्रमाण देखाउनु म मेरो पद छोडिदिन्छु । अहिले समाचारको माध्यमहरुले भए-नभएको समचार सम्प्रेषण गरिरहेका छन् ।
व्यक्तिगत तर्फबाट नागरिकको लागी आफैँले जनताप्रतिको कर्तव्य र दायित्व पूरा गरे जस्तो लागेको छ ?
संविधानमा नागरिकको मौलिक अधिकारहरू छन् । सेवा दिने नागरीप्रतिको कर्तव्य हामीले पूरा गर्नुपर्छ र जरुरी पनि छ । व्यक्तिगतरुपमा र संस्थागत रूपमा भन्नुपर्दा जुन काम गरिरहेका छौं, यो सबै नागरिकको हितका लागि गरेका हौं । स्वास्थ्य, शिक्षा, बाटो, खानेपानी, बिजुलीलगायत भौतिक पूर्वधारहरुको कामको गतिविधिहरू अगाडि बढाइरहेको छु । सबै एकैचोटी सम्भव छैन । विस्तारै भइ नै हाल्छ । यद्यपि नागरिकको लागि मैले सन्तोषजनक काम गरेको छु ।
















प्रतिक्रिया