तनहुँ : पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दीपुर जाने सडक कालोपत्र गर्ने कार्य थालिएको छ । पृथ्वी राजमार्गअन्तर्गत पिप्लेबाट बन्दीपुर बजारसम्मको करिब सात किलोमिटर सडक स्तरोन्नतिपश्चात कालोपत्र थालिएको हो ।
सडक विभागको छ करोड र गाउँपालिकाको तीन करोड ६० लाख गरी नौ करोड ६० लाख रुपैँयाको लागतमा असार महिनाभित्र सम्पन्न गर्ने कालोपत्र कार्य शुरु गरिएको बन्दीपुर गाउँपालिका कार्यालयले जनाएको छ । सडकको दायाँबायाँ एक/एक मिटर बढाएर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिएका छन् ।
रिटेनिङ पर्खाल उठाउने ठाउँका लागि ठेक्का लगाई काम शुरु भएको छ । उनले भने, “नाला निर्माण ठेक्का लागे पनि ठेकेदार भागेकाले नालाबिनाको कालोपत्र गर्न लागिएको छ ।” सडक साँघुरो भएका कारण ठूला पर्यटकीय गाडी बन्दीपुर जान कठिनाइ भएपछि अघिल्लो वर्ष सडक छ मिटरको चौडा बनाएपछि यस वर्ष कालोपत्रको काम गरिएको उनले बताए ।
पिप्लेबजार र बन्दीपुर बजार क्षेत्रका करिब दुई किलोमिटर सात मिटरको फराकिलो सडक बनाइनेछ भने पाँच किलोमिटर छ मिटरको सडक हुनेछ । दुईतर्फी सवारी साधन गुड्न मिल्ने गरी सडक बनाइएको अध्यक्ष थापाले बताएका छन् । उनका अनुसार पिप्लेबजार र बन्दीपुर बजार क्षेत्रको पुरानो कालोपत्र सडक पूरै भत्काएर पुनःनिर्माण गर्ने योजना छ ।















प्रतिक्रिया