Logo

विचार / ब्लग

कोभिड-१९ महामारीको चिन्ता प्रतिजैविक सहनशीलता



कोभिड-१९ को महामारी सुरु भएसँगै अस्पतालहरुमा एन्टिबायोटिकको प्रिस्क्रिप्सन बढेर गएको छ । साथै चिकित्सकीय सल्लाह विना नै आफूखुसी जनसमुदायले स्वास्थ्य प्रतिकुलतामा एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्ति बढेर गएको देखिन्छ । यसको ज्वलन्त उदाहरण सामाजिक सञ्‍जाल फेसबुक स्वनामधन्य विशेषज्ञले दिएको सल्लाहले पुष्टि गर्दछ । अध्ययन अनुसार अस्पतालमा भर्ना भएका आठ प्रतिशतलाई मात्र एन्टिवायोटिकको आवश्यकता देखिएको भए पनि ७० प्रतिशतभन्दा बढीले एन्टिबायोटिक लिइरहेको अनुमान गरिएको छ । धेरै मानिसले कोभिड–१९ को बढ्दो लहरसँगै चिकित्सकलाई नसोधी आफूखुसी एन्टिवायोटिक किन्दछन् । यसले एन्टिवायोटिक प्रतिरोधको विश्वव्यापी संकटलाई थप तीव्र बनाउने जोखिम बढेर गएको देखिन्छ । हामीले अन्तर्राष्ट्रिय नीति राष्ट्रिय कानुन एवं स्थानीय कदमको सहयोगमा यो चुनौतीको सामना गर्नुपर्ने हुन्छ । विश्व स्वास्थ्य संगठनले एन्टिवायोटिक प्रतिरोधलाई भविष्यमा मानवतामाथि आइपर्ने दश प्रमुख स्वास्थ्य संकटमध्ये एक मानेको छ । 

एन्टिबायोटिकले ब्याक्टेरियाले गराउने संक्रमणलाई निको पार्छ । कोभिड–१९ गराउने भाइरसलाई यसले खासै छुँदैन । यसको अनावश्यक अति प्रयोग न्यून प्रयोगले ब्याक्टेरियामा एन्टिबायोटिकविरुद्ध प्रतिरोधशक्तिको विकास हुन्छ । त्यसपछि सामान्य रोगको उपचार पनि कठीन हुन्छ एवम् निमोनिया तथा पिसाब नलीको संक्रमणजस्ता सामान्य संक्रमण पनि प्राणघातक हुनसक्छ । जुन आजको दिनमा यी रोग सामान्य एन्टिबायोटिकको प्रयोगले छिटो निको हुने गरेको छ । कमजोर स्वास्थ्य सेवा प्रवाह प्रणाली भएका एवम् एन्टिबायोटिक बिक्रिमा कुनै नियन्त्रण नभएको अफ्रिकी, दक्षिण अमेरिकी एवम् एशियाली मुलुकमा यसको विकरालरुप हुने सम्भावना देखिने जोखिम बढ्लाजस्तो छ । हाम्रो आफ्नो परिवेशमा एन्टिबायोटिकको बिक्री मानवीय प्रयोजनका लागि होस वा पशुपक्षीको उपचार प्रयोजनका लागि होस् एन्टिबायोटिकको प्रयोग पछिल्ला केही वर्षहरुमा अत्याधिक दरले बढेर गएको देखिन्छ । चिकित्सक, पशुचिकित्सकको आधिकारिक सिफारिसविना नै औषधि पसलबाट एन्टिबायोटिकको बिक्री झनै बढ्दो छ । अफ्रिकी, उत्तरअमेरिकी एवम् एसियाका विकासशील देशहरुमा सबै प्रकारका एन्टिबायोटिक औषधि चिकित्सक, पशुचिकित्सकको सिफारिस विना नै किन्न सकिन्छ । 

एन्टिबायोटिकविरुद्ध प्रतिरोध क्षमता विकास गरेका व्याक्टेरियाबाट हुने रोगहरुको उपचार निकै गाह्रो हुने गर्दछ । किनभने तिनले गैरप्रतिरोधी व्याक्टेरियाले गराउने संक्रमणभन्दा तीनगुणा बढी मानिएकोले ज्यान पनि लिन सक्छ । चीन र इजिप्टलगायत कैयौं देशका अस्पतालका सीसीयूमा हुने ५० प्रतिशत ब्याक्टेरियासम्बन्धी संक्रमण विरुद्ध धेरैखाले एन्टिबायोटिकहरु निष्प्रभावी भएको अभिलेख पाइन्छ । अमेरिकामा प्रत्येक वर्ष करिव ३० लाख मानिसलाई एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको संक्रमण हुने गरेको तथ्य बाहिर आएको स्थिति छ । एन्टिबायोटिक प्रतिरोधी व्याक्टेरियाको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्न सक्छ । 

त्यसैले यसले समय-समयमा अस्पताल, नर्सिङ् होमहरुमा प्रकोपको रुप लिने गर्दछ । कोभिड-१९ को उपचारका लागि प्रयोग हुने धेरै उपचारकक्ष अहिले यही समस्यासँग जुधिरहेका छन् । त्यसैले होला उपचाररत बिरामीहरुको मृत्यु संख्या बढेको पनि छ । आजको परिस्थितिमा चिकित्सकहरुले विषमखालको व्याक्टेरियाबाट संक्रमित विरामीहरुको उपचारमा निकै अप्ठ्यारो भोगिरहेको स्थिति छ । किनभने तिनको संक्रमणमा सबैखाले उपलब्ध एन्टिबायोटिकले केही लछारपाटो लगाउन सकिराखको छैन । यस्ता ब्याक्टेरियामा प्रतिरोधको उपचारमा प्रयोग गर्न सकिने पछिल्लो समयमा विकसित औषधि अत्यन्तै महँगा छन् एवम् ती थोरै देशमा उपलब्ध छन् । यस्ता महँगा औषधि अधिकांश बिरामीको पहुँच बाहिर हुने गर्दछ । कोभिड–१९ को उपचारका लागि ल्याइएको धेरै विरामीहरुले रोगको लक्षण अनुसार घरमै एक वा एकभन्दा बढी एन्टिवायोटिक प्रयोग गरिसकेको अवस्था छ भन्दा हुन्छ । यस्ता औषधिको प्रयोगले उनीहरुमा ठिक हुँदै छु भन्ने भावना विकास गराउने हुँदा उनीहरु अस्पताल पनि ढिलो उपचार गराउन जाने गर्दछन् । तर यसबाट उत्पन्‍न हुने एन्टिबायोटिक प्रतिरोध उपचार गर्न निकै महँगो पर्छ र ज्यानै पनि जाने सम्भावना बढेर जान्छ । 

एन्टिबायोटिक प्रतिरोधको भावी महामारीलाई रोक्न के गर्नु पर्ला ? 

विश्व स्वास्थ्य संगठन तथा अन्य विश्वव्यापी निकायहरुले सुरुमा कोभिड-१९ को सन्दर्भमा एन्टिवायोटिक प्रयोग गर्नु नपर्ने कुरा स्पष्ट रुपले बताउनुपर्ने देखिन्छ । राष्ट्रिय एवम् स्थानीय सरकारले चिकित्सकको आधिकारिक सिफारिस बिना कुनै पनि खाले एन्टिबायोटिक खरिद‍िबिक्री गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने हुन्छ साथै नियमन पनि गर्नुपर्ने हुन्छ । यस्तो बिक्री विरतण गर्ने ऐन कानुनमा व्यवस्था गरी लामो समयसम्म लागु गर्नसके यसले प्रभावकारी काम गर्ने विभिन्‍न देशको प्रयोगले सिद्ध गरेको दृष्टान्त पाइन्छ । चिकित्सकको आधिकारिक सिफारिस पत्र विना एन्टिबायोटिकको बेचबिखन गैह्रकानुनी हो भन्ने सूचना औषधि पसलमा टाँस गरेर पनि एन्टिबायोटिकको बेचबिखन निर्वाध हुने परम्परा घटाउन सकिन्छ । साथै अस्पतालमा कार्यरत अधिकारप्राप्त चिकित्सकले पनि सबैखाले जुनसुकै कारणले बिरामी परेकालाई एन्टिबायोटिक प्रयोग नगरी निको हुँदैन भन्‍ने मानसिकता त्यागेर अनावश्यक एन्टिबायोटिकको सिफारिस घटाउने रणनीति अपनाउनु पर्ने हुन्छ । तर हाम्रो जस्तो परिवेशमा भनिन्छ- नानीदेखि लागेको बानी त्यति चाँडो कसरी पो जाला, कुराको चुरो त यही छ । यस्ता कदमले एन्टिबायोटिक प्रयोग मात्र होइन, तिनको मूल्य पनि घटाउन सहयोगी हुनेछ । लामो समयावधिमा यसले अस्पतालहरुमा एन्टिबायोटिक प्रतिरोधी संक्रमणको संक्रमण न्यूनीकरण गराउनमा सहयोगी हुनेछ । 

प्रभावकारी रणनीति अन्तरर्गत सामान्य संक्रमणको उपचारमा के गर्न सकिन्छ भन्‍ने स्वास्थ्य उपचार निर्देशिका एवम् मापदण्डाको विकास गर्ने, भाइरसको संक्रमणमा एन्टिबायोटिकको प्रयोगमा रोक लगाउने, न्यूनीकरण गर्ने, आर्थिकरुपमा कमजोर मुलुकहरुमा प्रयोगशाला सेवा विस्तार क्षमता अभिवृद्धि गराउनेजस्ता कुरामा राज्यको ध्यान जानुपर्ने देखिन्छ । जसका लागि आवश्यक भौतिक पूर्वाधार एवम् दक्ष मानवीय जनशक्तिको व्यवस्थापन तथा आर्थिक श्रोतको सुनिश्चितता गर्नुपर्ने कुरा राज्यको प्राथमिकतामा पर्नुपर्ने हुन्छ, प्रभावकारी जनस्वास्थ्य सार्वजनिक सेवा सर्वसाधारणलाई प्रवाह गर्नका लागि । सुविधासम्पन्न प्रयोगशालाले कुन ब्याक्टेरियाका लागि कुन एन्टिबायोटिकले प्रभावकारी उपचार हुन्छ भन्‍ने निर्क्योल गर्ने हुँदा उचित एवम् सटिक एन्टिबायोटिक सिफारिस गर्न सम्भव बनाउँछ । 

चिकित्सकलाई पनि एन्टिबायोटिक प्रयोग सम्बन्धमा नियमित पुर्नताजगी तालिम प्रशिक्षण दिनुपर्ने हुन्छ । अहिले कोभिड-१९ को त्रास व्याप्त छ, तर यो डर त्रासका कारण अनावश्यक एन्टिबायोटिकको प्रयोग गरेर जनसमुदायको स्वास्थ्यलाई थप जोखिममा पार्न हुँदैन । यदि हामीले एन्टिबायोटिकको प्रयोग न्यूनिकरण गर्न अहिलेबाट नै काम सुरु गरेनौं भने नयाँ महामारीलाई निम्तो बाँडेजस्तो हुनेछ एवम् कोभिड–१९ जस्तो यस सम्भावित महामारीबाट कुनै खोपले पनि हामीलाई बचाउन सक्ने छैन । त्यसैले भनिएको छ कि हिजो बाँचेका थियौं र पो अहिले छौं, आज नबाँचे भोलि कसरी बाँचिरहौंला कसले पो देखेको छ र भोलिलाई त्यसैले भविष्यको यस महामारीबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं । 

(लेखक सेवा निवृत वरिष्ठ पशुचिकित्सक तथा भेटेरिनरी जनस्वास्थ्य कार्यालय प्रमुख हु्न् ।)

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १३:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।