Logo

टिप्पणी

एमालेको पनि भरतपुरको मेयरमा रेणुलाई भोट !



नेकपा एमाले उमेदवारले भरतपुर महानगरपालिकाको वडा नम्बर १०, ११ र १२ मा एमालेले राम्रो अग्रता बनाउने दाबी गरेपनि दाबी अनुसारको मत भने पाएको छैन । यी वडाबाट एमालेले राम्रो मतको अपेक्षा गरेको थियो भने रेणु दाहालको बढ्दो अग्रतामा ब्रेक लाग्ने सोचेको थियो । तर, नजिता भने रेणुकै पक्षमा देखिएपछि एमाले वृत्तमा चिन्ता बढ्दै गएको देखिन्छ ।

अहिलेसम्म ५४ हजार ४२ मतगणना हुँदा रेणुले २० हजार ४९२ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १७ हजार १८२ मत ल्याएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ७ हजार ८८२ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९५२ र राप्रपाकी हिमला गुरुङले १३ हजार ६४६ मत प्राप्त गरेका छन् । कांग्रेसका बागी पौडेलले मत काट्ने र त्यसको फाइदा आफूलाई हुने एमाले विश्लेषण थियो । तर, परिणाम एमालेका लागि सुखद देखिएको छैन । पछिल्लो २४ घण्टादेखि रेणु लगातार ३ हजार मतान्तरले अगाडि देखिएकी छन् ।

अहिले वडा नम्बर ११ र १२ को मतगणना भइरहेको छ । दुवै वडाको अध्यक्षमा एमालेले अग्रता लिइरहेको छ । तर, मेयरको मतान्तर भने घटेको छैन ।

वडा नम्बर ११ मा हालसम्म भएको गणनामा एमाले उमेदवारले २ हजार ४९७ र माओवादी केन्द्रका उमेदवारले १ हजार ९३१ मत पाएका छन् भने वडा नम्बर १२ मा एमाले उमेदवारले ९५५ मत पाउँदा नेकपा एसका उमेदवारले ७९९ मत प्राप्त गरेका छन् ।

मतगणनामा रहेको दलका प्रतिनिधीहरुका अनुसार मेयरमा दाहाललाई मत आइरहेको छ भने अरु सबै मत एमालेको प्यानलमा खसेको छ । यसले एमाले समर्थक मतदाताले रेणुलाई मत हालेको देखिन्छ । आफ्नो बलियो भनिएको वडामै एमालेले अपेक्षाकृत मत नपाएपछि मेयरको दौडमा एमालेलाई थप चुनौती थपिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार २०:३७   :  बजे

2K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।