Logo

१७ जिल्लामा निषेधाज्ञा लम्बियाे, उपत्यकामा खुकुलाे निषेधाज्ञा (थाहा पाउनुहाेस् के खुल्छ के खुल्दैन? )



काठमाडौँ उपत्यकाका तीन जिल्लासहित देशका १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि लम्बिएकाे छ।

गृह मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरका साथै बागलुङ, डडेलधुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा असार ७ सम्मका लागि निषेधाज्ञा लम्ब्याइएको हाे।

उपत्यकामा निषेधाज्ञा खुकुलो

उपत्यकामा एक साता थप गरिएको निषेधाज्ञा खुकुलाे बनाइएकाे छ । ३० जेठमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकामा एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियाे। उपत्यकामा खाद्यान्न पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ। अनलाइन डेलिभरी दिने, पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने भएका छन् भने हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइनेछ। कृषि कार्य सञ्चालन गर्न दिने, भिसा लिनका लागि सहजीकरण गर्न थालिएकाे छ।

यद्यपि, सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्वब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकुदका गतिविधि भने अझै खुल्नेछैन ।    

यसअघि सङ्क्रमण बढ्न थालेपछि वैशाख १६ गते एक साताका लागि जारी गरिएको निषेधाज्ञाको अवधि पटकपटक थप गर्दै जेठ महिनासम्म कायम गरिएको थियो ।

सरकारले कोभिड–१९ सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकालगायत तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सय सङ्क्रमित फेला परेमा निषेधाज्ञा जारी गर्न निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार ७७ जिल्लामध्ये ७५ जिल्लामा वैशाख १३ बाट क्रमशः निषेधाज्ञा जारी गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले काठमाडौँ उपत्यकाको मोडालिटीमा अन्य जिल्लामा पनि निषेधाज्ञा थप गरी विस्तारै खुकुलो पार्ने कार्य भइरहेको बताए।

 

प्रकाशित मिति : १ असार २०७८, मंगलवार ०७:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।