Logo

अर्थ

सेयर कारोबार ठप्प भएपछि धितोपत्र बोर्ड एक्सनमा, छानबिन गर्न एक साताको अल्टिमेटम



काठमाडौँ । प्राविधिक समस्याका कारण सेयर कारोबार रोकिएपछि नेपाल धितोपत्र बोर्डले घटनाबारे छानबिन थालेको छ।

बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाउँदै ७२ वटा धितोपत्र दलाल व्यवसायीका सर्भर रहेको डेटा सेन्टरमा देखिएको प्राविधिक समस्याबारे अध्ययन तथा जाँचबुझ गरी एक साताभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो।

बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार नेप्सेले उपलब्ध गराएको टीएमएस सञ्चालन गरिरहेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर रहेको डेटा सेन्टरमा समस्या देखिएको थियो।

७२ वटा ब्रोकरको सर्भर व्यवस्थापनको जिम्मेवारी लिएको डेटा हबको प्रणालीमा आइतबार बिहानदेखि प्राविधिक समस्या आएको थियो। लामो समयसम्म समस्या समाधान हुन नसकेपछि सेयर कारोबार रोक्नुपरेको नेप्सेले जनाएको छ।

बोर्डले आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधारका उपायसमेत समेटेर प्रतिवेदन पेस गर्न नेप्सेलाई निर्देशन दिएको छ। बोर्डको निर्देशनअनुसार नेप्सेले असोज १२ गतेभित्र प्रतिवेदन बुझाउनुपर्नेछ।

घटनाबारे जानकारी पाएलगत्तै बोर्डले उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत खटाएको जनाएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार १८:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।